प्रधानाध्यापक सर्राफको हत्यामा संलग्न रहेको आशंकामा पूर्व शिक्षिकासहित तीन जना पक्राउ
वीरगन्ज : बाराको कलैयामा सोमबार गोली प्रहार गरी शिक्षकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पूर्व शिक्षिकासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको सोमबार दिउँसो साढे १२ बजेतिर अपरिचित समूहले गोली हानी हत्या गरेको थियो।
सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सर्राफकै स्कुलमा पहिले पढाउने पूर्वशिक्षिका कलैया उपमहानगरपालिका-१ की २५ वर्षीया एक महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको हो।
हत्यामा संलग्न रहेको आशंकामा सोमबार बेलुकीसम्म एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। उनका अनुसार पक्राउ परेका मध्यकी महिला हत्याको योजना बनाउने मुख्य योजनाकार रहेको हुन सक्ने प्रहरीको आशंका छ।
उनले भने 'सिसिटिभी क्यामेरामा रेकर्ड फुटेजको आधार लगायत अन्य इभिडेन्सका आधारमा तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सम्भवतः भोलिसम्म हामी यो केसको टुंगोमा पुगि सक्छौं।'
सोमबार दिउँसो १२:३० बजेतिर स्कुल नजिकै सडकमा मोटरसाइकलमा घरतर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरूले गोली हानेर फरार भएका थिए।
३५ वर्षीय सर्राफको छाती र पेटमा गरील तीन राउन्ड गोली लागेको थियो। गोली लागेर घाइते भई ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पुर्याएका थिए।
त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो। त्यहीँ उपचारका क्रममा सर्राफको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक न्यौपानले बताए।