भगवानको कृपाले मेरा सन्तान छैनन्, मैले कसका लागि भ्रष्टाचार गर्नुपर्ने? : केपी ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुठको सहारा लिएर प्रतिक्रियावादीहरूले एमालेविरुद्ध भ्रम फैलाइरहेको बताएका छन्। पोखरामा सोमबार आयोजित एक कार्यक्रममा उनले प्रतिक्रियावादीहरूले 'अनफेयर' मुकाबिला गरिरहेको बताए।
'हामी प्रतिक्रियाबादीहरूसँग मुकाबला गरिरहेका छौं। तर उनीहरूले 'अनफेयर' तरिकाले मुकाबिला गरिरहेका छन्। झुठको सहारा लिएर मुकाबिला गरिरहेका छन्। भ्रम फिजाएर जनतालाई भ्रम फैलाइरहेका छन्,' उनले भने।
उनले कम्बोडीयामा तीन हजार करोड लगानी गरेको भ्रम फैलाउनेहरूलाई प्रमाण जुटाएर देखाउन चुनौतीसमेत दिए। 'कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफाको विजिनेश बताइदिन्छु उहाँहरूलाई। त्यो पत्ता लगाउनुस्, त्यसमा एक हजार थपेर तपाइँकै नाममा गरिदिन्छु,' उनले भने।
उनले आफूले जोडेको सम्पत्ति ट्रस्टको नाममा गरिसकेको बताउँदै कसैका लागि सम्पत्ति जोडिदिनुपर्ने नरहेको बताए। 'मैले भ्रष्टाचार गरेर अपराध गर्ने। अरुका नाममा सम्पत्ति राखेर अरुलाई पोस्ने। यस्ता खालका काम गर्दैन। सन्तानका लागि भन्ने हो भने भगवानको कृपाले छोराछोरी छैनन्। सन्तानका लागि लुकाउनुपर्ने पनि छैन। मेरा छोराछोरीलाई भोलि पर्सी देउ भन्ने पनि छैन। यस्तै खालका तत्वहरू हामीसँग मुकाबला गर्न सक्दैनन् र विभिन्न प्रकारका भ्रम छर्छन्,' उनले भने।
उनले प्रतिक्रियावादीलाई तह लगाउन आफू अझै २० वर्ष राजनीति गर्ने बताए। 'पदमा बस्छु, बस्दिनँ तर २० वर्षमा राजनीति गर्छु। पछाडिबाट भए पनि साथीहरूलाई साथ दिन्छु,' उनले भने।