विराटनगरबाट स्रोत नखुलेको २१ लाख बढी रकमसहित बालक पक्राउ

विराटनगरबाट स्रोत नखुलेको २१ लाख बढी रकमसहित बालक पक्राउ
विराटनगरमा बालकको साथबाट बरामद भएको रकम। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट स्रोत नखुलेको २१ लाख बढी रकमसहित एक जना बालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी)बाट खटिएको टोलीले विराटनगर महानगरपालिका–६ शनिमन्दिर नजिकबाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित बालकलाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार स्रोत नखुलेको ठूलो परिणामको रकमसहित विराटनगर–६ का १६ वर्षीय बालक पक्राउ परेका हुन्। 

प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका बालकले बोकेको कालो रंगको झोलाबाट रकम बरामद भएको प्रहरीले जनाएको छ। बालकको साथमा अवैध रकम रहेको विशेष सूचनाका आधारमा पक्राउका लागि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले टोली परिचालन गरेका थिए। डीआईजी बास्तोलाको निर्देशनमा खटिएको टोलीले बालकलाई पक्राउ गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो। 

बालकको साथबाट एक हजार दरका एक हजार छ सय ८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद भएको एसपी पोखरेलले बताए। उनका अनुसार बालकको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएको छ। बलराम केसरीको नाममा रहेको कुमारी बैंकको चेकबुक, रन्जितकुमार साहका नाममा रहेको र उमेशकुमार भगतको नाममा काटिएको ८६ हजार आठ सय रुपैयाँ रकम उल्लेख भएको एनआईसी एसिया बैंकको चेक तथा विभिन्न मितिमा ग्लोबल आईएमई बैंकमा १६ लाख ६९ हजार पाँच सय रुपैयाँ जम्मा गरेको रसिद बालकको साथबाट बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीले बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान गरेको छ। पक्राउ परेका बालकलाई बरामद भएको रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने एसपी पोखरेलले बताए। प्रहरीले पनि विभिन्न कोणबाट यसको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार हुण्डी कारोबारीले अवैध रकम ओसारपसारका लागि बालकलाई प्रयोग गरेको हुनसक्छ।  

पक्राउ परेका बालकले विराटनगरकै कुमारी बैंकसम्म पुर्‍याइदिन भनेर कुनै व्यक्तिले आफूलाई झोला दिएको बताएका छन्। ‘नचिनेको एक जना व्यक्तिले फोन गरेर कुमारी बैंकको गेटसम्म पुर्‍याइदिनु भन्दै झोला दिएपछि म बैंकतिर जाँदै थिएँ। ती व्यक्तिलाई म चिन्दिन,’ बालकलाई उद्रित गर्दै प्रहरी स्रोतले भन्यो, ‘झोलामा के थियोभन्ने पनि मलाई थाहा भएन। तर, बैंकतर्फ जाने क्रममा बीचबाटै प्रहरीले पक्राउ गर्‍यो।’ पक्राउ गरेर प्रहरीले खानतलासी गरेपछि मात्रै झोलाभित्र पैसा रहेको थाहा पाएको बालकले बताएका छन्। 

हुण्डी कारोबारीको रकम ओसारपसारको काम बालकले एक वर्षदेखि गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालकले पनि रकम ओसारपसार गरिदिएवापत आफूले मासिक १० हजार रुपैयाँ पाउने गरेको प्रहरीसमक्ष बताएका छन्। 

तर, रकम ओसारपसार गर्न लगाउनेलाई भने आफूले नचिन्ने उनले बताएको प्रहरीले जनाएको छ। ‘टेलिफोन सम्पर्कका आधारमा उनीहरु (अपरिचित व्यक्ति)ले लगाएको काम गर्दै आएको हुँ। त्यसवापत मासिक १० हजार रुपैयाँ पाउँथें,’ ती बालकको भनाइ उद्रित गर्दै प्रहरीका एक अधिकारीले भने, ‘झोला लिनलाई विराटनगरको जलजला चोक, शनिमन्दिर, बसपार्क, अस्पताल चोकलगायत विभिन्न स्थानसम्म बोलाउने गरेका थिए। उनीहरुले दिएको झोला सम्बन्धित बैंकसम्म पुर्‍याइदिने काम गरिदिन्थें।’ 

प्रहरीका अनुसार ती बालकले आफूलाई फोन सम्पर्कका आधारमा अपरिचित व्यक्तिले दिने गरेको झोला विराटनगरकै एनआईसी एसिया, प्रभु, कुमारीलगायत आधा दर्जन बढी बैंकको गेटसम्म पुर्‍याइदिने गरेको बताएका छन्। बैंकको गेटदेखि भने बालकको साथबाट अरू नै व्यक्तिले झोला जिम्मा लिएर लैजाने गरेको प्रहरीको भनाइ छ। 

बालकले झोला जिम्मा लिएर सम्बन्धित बैंकसम्म पुर्‍याइदिने काम मात्रै गरिरहेको र झोला आफूलाई बुझाउने तथा जिम्मा लिनेका बारेमा थाहा नभएको बताएका छन्। ‘बालकले रकम बोकेर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइदिने भरियाको काम मात्रै गर्ने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘बालकलाई प्रयोग गरेर विराटनगरमा हुण्डी कारोबार गर्ने ठुलै गिरोह सक्रिय रहेको अनुमान छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.