मेसिन जडान भएको ६ महिनापछि नारायणी अस्पतालमा सुरु भयो एमआरआई सेवा
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा एमआरआई मेसीन जडान गरिएको करिब ६ महिनापछि एमआरआई सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपैयाँमा खरिद गरि एमआरआई मेसिन ल्याएको थियो । तर, प्राविधिक कारणवश उक्त मेसिन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो ।
गत असोज १३ गते अस्पतालको १ सय ३१ औं स्थापना दिवसमा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एमआरआई मेसीनको उद्घाटन पनि गरेका थिए । तर, प्राविधिक कारणले उक्त मेसीन अस्पतालले सञ्चालनमा भने सकेको थिएन।
मंगलबारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलोपटक एमआरआई सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए । पहिलोदिन दुईजना बिरामीको एमआरआई गरिएको जानकारी उनले दिए ।
नारायणी अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको एमआरआई मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७६ च्यानल र थ्री टेस्लाको रहेको उनले बताए । आन्तरिक परिक्षण र विशेषज्ञको टोलीले विशेष तालिम लिएपश्चात मंगलबारदेखि एमआरआई मेसिन पूर्णरुपमा सञ्चालनमा आएको उनले बताए ।
डाक्टर सिंहले भने,‘ विगतमा पावर ब्याक अपको समस्या र केहि प्राविधिक कारणले गर्दा मेसिन जडान गरेर पनि सञ्चालनमा ल्याउन सकेका थिएन । जसका कारण अनेक आलोचना पनि भएको थियो ।'
एमाआरआई मेसिन चलाउनका लागि आवश्यक विद्युतीय उर्जा अस्पतालमा नहुँदा भाडामा ५०० केभिएको जेनेरेटर ल्याएर एमआरआई सेवा सुरु गर्नु परेको उनले बताए । उनले भने,‘अस्पतालमा २०० केभिएको मात्र जेनेरेटर थियो । तर एमआरआई मेसिन चलाउन ५०० केभिएको जेनेरेटर चाहिन्छ तर त्यो अस्पतालमा उपलब्ध थिएन । त्यसैले भाडामा ५०० केभिएको जेनेरेटर ल्याएर एमआरआई मेसिन चलाएका हौं । '
अस्पतालका सूचना अधिकारी डाक्टर सिंहले अहिले भाडामा जेनेरेटर ल्याएर तत्कालका लागि काम चलाइए पनि अस्पताल आफैंले ५ सय केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसँग बजेटको माग गरिसकेको जानकारी गराए ।
सिंहका अनुसार,बजेटका लागि अस्पताल प्रशासनले संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा गत साउनमै पत्रचार गरिसकेको छ । सिंह भन्छन्,‘सधैंभरि भाडाको जेनेरेटरले चलाउने अवस्था रहन सक्दैन , त्सका कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौं ।
डाक्टर सिंहका अनुसार,नारायणी अस्पतालमा सुरु गरिएको एमआरआई सेवाको शु्ल्क बजारका नीजी अस्पतालका भन्दा निक्कै सस्तो पनि छ । उनले भने,‘निजी अस्प्तालमा एमआरआई गर्दा १२ देखि १५ हजार रुपैयाँ शुल्क लाग्छ । तर, हामीले अस्पतालमा यो सेवाको शुल्क ८ हजार रुपैयाँ मात्रै तोकेका छौं।’
यसले विशेष गरी गरिब तथा विपन्न बिरामीलाई ठूलो राहत पुग्ने उनले बताए । यसअघि अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुदाँ बिरामीलाई बाहिरका निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यो बाध्यताको अन्त्य भएको उनले बताए । दैनिक ८ देखि १० जना बिरामीको एमआरआई गर्न सकिने पनि उनले जानकारी दिए।
मधेस प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा दैनिक १ हजारबढी बिरामी उपचारका लागि आउने गरेका छन् । पर्सा, बारा, रौतहट , सर्लाही , महोतरीका साथै मकवानपुर तथा छिमेकी मुलुक भारतको बिहारबाट पनि बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डाक्टर सिंहले बताए ।
वीरगन्जको नारायणी अस्पतालमा मंगलबारदेखि सुरु भएको एमआरआई सेवा ।तस्बिर : क्रान्ति शाह