पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने स्पष्ट पारेका छन्।
बिहीबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रूपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताए।
हिंसा सुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ति जनाए। उनले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिए।
एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई ध्वस्त पारेको आरोप लगाए। बहुमतका आधारमा संसदलाई पङ्गु बनाउने काम भएको र मिटरव्याजी कानुनबाहेक अरु केही काम हुन नसकेको उनको भनाइ छ। उनले वर्तमान सरकार संविधान विपरीत चल्ने स्वेच्छारी भएको र राजनीतिक तथा संवैधानिक हिसाबले भ्रष्ट भएको बताए।