कोसी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सरकारबाट एमाले बाहिरिँदै

कोसी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सरकारबाट एमाले बाहिरिँदै
शपथग्रहण गर्दै नवनियुक्त मन्त्रीहरू।

विराटनगर : कोसी प्रदेशमा नेकपा (एमाले)सँगको सहमतिविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएको छ।

 
मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। कार्कीले माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगूलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए। 

नेपाली कांग्रेसका कार्की गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। आफूसहित कांग्रेसका ८ जना प्रदेशसभा सदस्य (सांसद)को साथ लिएर विद्रोह गरेका उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले समर्थन गरेका थिए। कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थन पाएपछि कार्कीले मुख्यमन्त्री बन्न बहुमत (४७) पुर्‍याएका थिए। 

कांग्रेसभित्र संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। गठबन्धनले माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि आफू मुख्यमन्त्री बन्नलाई कार्कीले विद्रोह गर्दा उनलाई प्रदेशसभाको ठूलो दल एमालेले साथ दिएको थियो। 

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट अर्थात् असोज २८ गते उनले कांग्रेसको विद्रोही पक्षका शम्शेर राई र एमालेका रामबहादुर रानालाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। कार्कीले कात्तिक १ गते प्रदेशसभाबाट विश्वासको मत लिए। उनलाई एमालेसहित केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मात्रै उनलाई विश्वासको मत दिएन। 

विश्वासको मत पाएपछि उनले सरकारमा गठबन्धनलाई सामेल नगर्ने कि नगर्नेभन्ने निर्णय लिन सकिरहेका थिइनन्। जसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। आफू मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले प्रदेशमा सहमतीय सरकार निर्माणका लागि आह्वान गर्दै आएका थिए। तर, उनलाई मुख्यमन्त्री बनाउन भरपुर सहयोग गरेको दल एमालेले कांग्रेसबाहेकका दललाई सरकारमा सहभागी गराएमा सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो। 

सरकार विस्तारको विषयलाई लिएर उनले एमालेसँग छलफल पनि गरेका थिए। त्यतिबेला एमालेले माओवादी आएमा सरकारबाट बाहिरने चेतावनी दिएको थियो। अर्कोतर्फ कांग्रेसको संस्थापन पक्ष र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका रानालाई बर्खास्त गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेका थिए। एमालेले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका कारण कार्की भने रानालाई बर्खास्त नगर्ने मनस्थितिमा थिए। हुन त माओवादीलगायतका दललाई सरकारमा सहभागी गराउनसाथ एमाले आफैं बाहिरिने भएकाले पनि कार्कीले बर्खास्तीको निर्णय नलिएका हुन्। 

गठबन्धन र एमालेको दोहोरो दबाबमा परेका कार्कीले एमालेसँगको सहमतिविपरीत अन्नतः गठबन्धनआवद्ध दललाई सरकारमा सहभागी गराएका छन्। स्रोतका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको दबाब थेग्न नसक्दा कार्कीले गठबन्धनआवद्ध दलसहितको मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

सरकारबाट बाहिरिँदै एमाले 
मुख्यमन्त्री कार्कीले सरकारमा गठबन्धनलाई सामेल गराएपछि एमाले प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अब एमाले सरकारमा नरहने स्पष्ट पारे। ‘जुन सहमति गरेर हामीले केदार कार्कीलाई मुख्यमन्त्री बनायौं। आज त्यो सहमति तोडियो,’ उनले भने, ‘मुख्यमन्त्रीले सरकारमा गठबन्धन घुसाउनु भयो। अब एमाले सरकारमा बस्दैन।’ 

भण्डारीले मुख्यमन्त्रीले एमालेबाट मन्त्री बनेका रानाको राजीनामा स्वीकार गरेपछि पार्टी सरकारबाट बाहिरिने जानकारी दिए। ‘हाम्रो मन्त्री (राना) राजीनामा दिन तयार भएर बस्नु भएको छ,’ उनले भने, ‘मुख्यमन्त्री राजीनामा लिन तयार हुनेवित्तिकै उहाँले राजीनामा बुझाउनु हुन्छ।’ एमालेको सहमति बिना सरकारमा गठबन्धनलाई भित्र्याएका कारण अब पार्टी सरकारमा बस्न उपयुक्त नहुने उनको भनाइ छ। 

‘हिजो मुख्यमन्त्री बन्न उहाँ (केदार कार्की)ले एमालेको साथ खोज्नुभयो। गठबन्धनबाट विद्रोह गरेर आएँ भन्नु भयो। त्यतिबेला हामीले साथ दियौं,’ भण्डारीले भने, ‘तर, त्यसलाई बिर्सिएर सरकारभित्र गठबन्धन छिराउनुभयो। उहाँ पुरानै गठबन्धनमा फर्कनुभयो। औपचारिक निर्णय गरेरै एमाले सरकारबाट बाहिरिन्छ।’ सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा आगामी सोमबार बस्ने एमाले संसदीय दलको बैठकले टुंगो लगाउने भण्डारीको भनाइ छ। 

सरकारका विषयमा दलको बैठकबाटै निर्णय गरेर पूर्ण विवरणसहित पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए। प्रदेशसभाको बैठक पनि सोमबारलाई नै आह्वान गरिएको छ। प्रदेशसभा सुरु हुनुअघि बस्ने एमाले संसदीय दलको बैठकमै निर्णय गरेर पार्टी सरकारबाट बाहिरिने र पार्टीको आगामी रणनीतिका विषयमा थप निर्णय लिने भण्डारीले बताए। 

एमाले सरकारबाट बाहिरिन्छ भन्ने विश्वास छैन : कार्की 
मुख्ममन्त्री कार्कीले भने आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने र सहमतीय सरकारको एजेण्डा बोकेर हिँड्ने एमाले सरकारबाट बाहिरिने विश्वास आफूलाई नभएको बताएका छन्। एमालेकै एजेण्डा अनुसार आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको उनले बताए। भने, ‘पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की (एमाले प्रदेश संसदीय दलका नेता)कै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन मैले प्रयास गरेको हुँ।’ 

आफूले विश्वासको मतको सम्मान गर्न पनि सहमतीय सरकार बनाएको उनको भनाइ छ। ‘यसअघि विश्वासको मत नपाएर दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनुपर्‍यो,’ कार्कीले भने, ‘विश्वासको मतको सम्मान गर्दै र पूर्वमुख्यमन्त्रीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार म अघि बढेकाले एमाले सरकारबाट बाहिरिन्छभन्ने सोचेको छैन।’

उनले प्रदेश प्रमुखको कार्यालयबाट हतारहतार निम्तो आएकाले खबर नपुगेका कारण नवनियुक्त मन्त्रीको शपथग्रहणमा एमाले सहभागी नभएको हुनसक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.