भूकम्पमा परी जाजरकोट र रुकुममा ८० जनाको मृत्यु
बीरेन्द्रनगर : जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ८० जनाको ज्यान गएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेहरुमा जाजरकोटको भेरी नगरपालिकामा ३०, नलगाड नगरपालिकामा ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जनाको मृत्यु भएको पुष्टि भएको छ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए।
नेपाल प्रहरी, नेपाली सेना र सशष्त्र प्रहरी बलको सयुक्त टोली दुवै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए। उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ। यसकारण पनि उद्धारमा समस्या भईरहेको छ। जाजरकोट र रुकुम पश्चिमका ग्रामिण क्षेत्रबाट घाइृतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ। त्यसबा लागि सम्बन्धित निकायमा पहल भइरहेको छ। दुवै जिल्लाका अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेका छ।