पन्ध्रौं शताब्दीको सामाजिक चेत

समीक्षा

पन्ध्रौं शताब्दीको सामाजिक चेत

हेर्नुहोस् त, पन्ध्रौं शताब्दीका मानिसको चेतनास्तर कति बृहत् छ ? साँच्चै भन्नुपर्दा कथा सबै सुस्वादका छन्।

यो शरीर नास भएर जान्छ। श्री पनि एक दिन जान्छ जान्छ। सबै बन्धुबान्धव जान्छन्, तर संसारमा मानिसको चर्चा भने बाँकी रहन्छ। त्यसैले कीर्तिमात्र यहाँ स्थिर रहने गर्छ। साँच्चै, मनुष्य चोला यो जगत्मा सदैव कहाँ रहिरन्छ र ! मृत्यु त अवश्यंभावी छ। आजसम्म कोही अजम्बरी भएको हामीले सुनेका छैनौं ! तर अक्षर कहिल्यै नमर्ने रहेछ। मानव स्मृति बोकेर जुगौंजुग बाँचिरहने भनेको त यिनै अक्षर मात्र पो रहेछन्।

यसरी कृतिमार्फत बाँचिरहेका सबैका पूजनीय व्यक्तित्वको नाम हो, पन्ध्रौं शताब्दीका महाकवि ‘विद्यापति’। पुरुष–परीक्षाका ग्रन्थकार महाकवि विद्यापतिद्वारा पन्ध्रौंं शताब्दीमा लिखित संस्कृत कथा संग्रहलाई नेपाली भाषामा अनुवाद गर्ने धीरेन्द्र प्रेमर्षि राष्ट्रभाषा नेपाली र मातृभाषा मैथिलीको कला–साहित्यका विविध फाँटमा सक्रिय सुपरिचित नाम हो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यको भूमिका निर्वाह गरिसकेका प्रेमर्षि स्वयम् साहित्य, संगीत र कलाका त्रिवेणी व्यक्तित्व हुन्।

मैथिली साहित्यका जनकका रूपमा प्रतिष्ठित महाकवि विद्यापति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जत्तिकै बन्दनीय छन्। मैथिली सँगसँगै संस्कृत भाषामा पनि उत्तिकै पकड भएका विद्यापति आफैंमा ज्ञानको भण्डार हुन् भन्ने कुरा यिनै नीतिकथा पढेपछि अझै प्रष्ट हुन्छ। अम्बर पब्लिकेसन हाउसद्वारा २०८० जेठमा छापिएको उक्त पुस्तक पहिलोपटक नेपालीमा अनुवाद गरिएको हो। जसमा ४४ कथा छन्। यस कथा ग्रन्थको रचना मिथिलाका महाराजा शिव सिंहको निर्देशनमा गरिएको कुरा विद्यापतिले मन्तव्यमा लेखेका छन्।

पारावरनामक राजाले राजकुमारीको विवाह कोसँग गरौं भनेर ऋषिसँग सोधेपछि उनको जवाफसँगै कथाको सुरुआत हुन्छ। योग ध्यानले खारिएका ऋषि महाज्ञानी हुन्छन्। पारावार राजाले प्रश्न गर्छन्– ‘हे ऋषि ! मेरी पद्मावती नामकी एक्ली छोरीको विवाह कोसँग गराउँदा उपयुक्त हुन्छ ? मुनिवर कृपया मार्गदर्शन गर्नुहोस्।’

सुबुद्धि नामक ऋषिले ‘पुरुष’सँग गराउन सुझावसहितको उत्तर दिन्छन्। उनको कुरा सुनेर अचम्म मानेका राजालाई ऋषिले प्रष्ट्याउँछन् यसरीः ‘राजन ! यस संसारमा पुरुष रूपधारी थुप्रै मानिस छन्। तिनलाई छोडेर सच्चा पुरुषलाई कन्या दिए हुन्छ। म जुन लक्षणहरू भन्छु, ती लक्षणबाट युक्त मानिस नै यथार्थमा पुरुष हो। तसर्थ पुरुषार्थले सम्पन्न व्यक्ति त्यसलाई मात्र मान्न सकिन्छ, जो वीर होस्, जसमा बुद्धि होस्, जोसँग विद्या होस्। यी गुणभन्दा फरक मानिस भनेका पुरुषाभाष मात्र हुन्, पुच्छरबिनाका पशु हुन्।’
 

मैथिली सँगसँगै संस्कृत भाषामा पनि उत्तिाकै पकड भएका विद्यापति आफैंमा ज्ञानको भण्डार हुन् भन्ने कुरा यिनै नीतिकथा पढेपछि अझै प्रष्ट हुन्छ।

हेर्नुहोस् त, पन्ध्रौंं शताब्दीका मानिसको चेतनास्तर कति बृहत् छ ? साँच्चै भन्नुपर्दा कथा सबै सुस्वादका छन्, कुनै कुनै कथा चैं होइन होला यस्तो त भन्ने लाग्नु स्वाभाविकै हो। किनकि यी कथा आज लेखिएका पनि त होइनन्। हो नि, पुरुष मात्र भनेर पुरुषको परिचय पुग्दैन। राजा र ऋषिको प्रश्नोत्तर चलिरहेको छ कथामा। वीर, बुद्धिमान्, विद्यावान् पुरुष कसरी चिन्ने भन्ने प्रश्नको जवाफमा कथा बगिरहेको छ। उक्त नीतिकथाको उद्देश्य मूलतः मान्छेको चरित्रनिर्माण र आत्मसुख हो।

मान्छेलाई नैतिकवान् बनाई आदर्श समाजको सिर्जना गरेर जीवनलाई सफल र सार्थक बनाउन सिकाउँछन् यस्ता कथाले। अनुवादक प्रेमर्षिले पुरुषार्थ पर्गेल्ने कथाहरू नामक पृष्ठमा लेखेका छन् : भारतमा अंग्रेज शासनका बखत इन्डियन सिभिल सर्भिसेजको पाठ्यक्रममा पुरुष–परीक्षालाई पाठ्यपुस्तकको रूपमा समावेश गरिएको रहेछ। त्यसबाट पनि यसको महŒवबारे हामीले सहजै अनुमान लगाउन सकिन्छ। हाम्रो पनि नेपाली पाठ्यपुस्तकमा यस्ता शिक्षाप्रद नीतिकथालाई स्थान दिन पाए कति राम्रो हुन्थ्यो।

दानवीरको कथाको यो सन्दर्भ– राजा बलाहले तपस्याबाट भगवतीलाई रिझाएर दिनैपिच्छे सुनको घर प्राप्त गर्छन्। जसका लागि राजा बलाहले दिनहुँ शरीर उम्लिरहेको तेलमा डुबाउँछन्। उम्लिरहेको तेलमा पाकेको राजाको मासु खाएर भगवती तृप्त भएपछि खुसी भएर उनलाई जीवनदान दिँदै प्रत्येक दिन राजाको आँगनमा सुनको घर रहने बरदान दिन्छिन्। राजाले त्यो सुनको घरबाट सुनका टुक्रा काटीकाटी याचक तथा प्रजाहरूमा बाँडिदिन्छन्। भोलिपल्ट पुनः त्यस्तै कष्टपूर्ण बलिदान दिन देवीसामु उपस्थित हुन्छन्। यो कथाले प्यारा नागरिकका लागि राजाको समर्पण देखाएर दानवीरको कथा शीर्षकलाई सार्थक पारेझंै लाग्छ। यो कथामा भएका पात्र र चरित्र आजका मान्छेमा पाइँदैन र यो सम्भव पनि छैन। त्यसैले, त्यो समयमा लेखिएको कथालाई लिएर तर्क गर्नुभन्दा त्यतिबेलाको समय कस्तो रहेछ भनेर बुझ्नुमा सबैको कल्याण हुन्छ।

पहिलो खण्डमा आठवटा वीरताका कथा छन्। जसमा पात्रहरूले अनौठा र उदेकलाग्दा कार्य गर्छन्। दोस्रो खण्डमा सातवटा बुद्धिमत्ताका कथा छन्। तेस्रो खण्डमा भने विद्वताका चौधवटा कथा छन्। चौथो खण्डमा पुरुषार्थका पन्ध्रवटा कथा छन्। धेरै कथामध्ये अल्छीको कथा पनि मनपर्दो छ। उत्साह नै उद्योगको जननी हो। उद्योगी र उत्साही हुनु प्राणी मात्रको धर्म मानिन्छ। जीवनमा यति दुई कुरा नहुने मानिस अल्छी कहलाउँछ। यो कथामा मिथिलाका वीरेश्वर नाम गरेका एकजना दानशील र परम करुणाशील मन्त्री हुन्छन्। उनले अभाव र अप्ठ्यारामा परेका अनाथहरूलाई प्रतिदिन इच्छा भोजन खुवाउने गर्छन्। यीमध्ये अल्छीहरूलाई पनि भोजन–वस्त्र दिने गर्छन्। किनभने कामै नलाग्ने मानिसमध्ये सबैभन्दा उपल्लो स्थानमा अल्छी हुन्छन्।

जो पेटको आगोले पोलिराख्दा पनि कुनै उद्यम गर्न अगाडि सर्दैनन् अथवा भनौं यस्ता व्यक्तिका लागि आलस्य बडो सुखको विषय हुन्छ। किनकि जुन व्यक्ति आलस्यको वशमा हुन्छ, त्यसको निद्रा सुखलाई पेटको आगोले पोलिराख्दा पनि कुनै उद्यम गर्न अगाडि सर्दैन। यस्ता व्यक्तिका लागि आलस्य बडो सुखको विषय हुन्छ र त्यस्ता अल्छीको आत्मामा भएको काम गर्ने इच्छाको रस पनि निस्तेज हुन्छ। अल्छीहरूलाई वीरेश्वरकहाँ इष्टलाभ गराइन्छ भन्ने थाहा पाएर विस्तारै थुप्रै अल्छी त्यहाँ भेला हुन थाले। धेरै परपरदेखि मान्छेको भीड जम्मा हुन थालेपछि मन्त्री वीरेश्वरले कस्तो कदम चाल्छन् र बाँकी कथा कसरी टुंगिन्छ भनेर थाहा पाउन त किताब पढ्नुहोस् ल ! पढेर मज्जा लिनुहोस् र कौतुहल मेट्नुहोस्।

अर्को मन परेको कथा हो, बर्बरको कथा। कथाको अन्त्यमा राजाले भनेः ‘जहाँसम्म शास्त्रअनुसार गणना गरेर भन्यो त्यो मिलेको छ तर आफ्नो विवेक प्रयोग गरेर भनेको कुरा फिटिक्कै मिलेन। त्यसैले जिन्दगीभर गुरुको सान्निध्यमा रहे पनि, समुद्रको किनारसम्म पृथ्वीमा भ्रमण गरिरहे पनि, सबै शास्त्र पढे पनि, निरन्तर चिन्तन गरिरहे पनि, बुद्धिविहीन मानिसमा कहिल्यै धीरता आउन सक्दैन।’ त्यसैले भनिन्छ– ‘पिताले सन्तुष्ट भएर पुत्रलाई सर्वस्व दिन सक्छ र दिन्छ पनि तर उसले पनि भाग्य र बुद्धि भने दिन सक्तैन।’

यसरी सात सय वर्षअगाडि अथवा पन्ध्रौंं शताब्दीको पनि सुरुआतमा लेखिएका लगभग ३० भाषामा अनुवाद गरिसकिएका यी कथामध्ये दुईचारलाई छोडेर धेरै कथा समय सान्दर्भिक लाग्छन्। यी कथामध्ये कतिपय विषयवस्तु आज पनि हाम्रो समाजमा जीवितै छन् र कथा बनेर आइरहन्छन्। त्यसो भए के त सात सय वर्ष अगाडिको हाम्रो समाज र सोचाइमा परिवर्तन आएको छैन त ? यस्ता कथा पढ्दा अनेकौं प्रश्न उब्जन सक्छ। 

अनुवादक धीरेन्द्र प्रेमर्षिको भनाइमा अनुवाद भनेको एउटा सिसीको अत्तर अर्को सिसीमा खन्याउने उद्यम हो रे। जति जतन गरे पनि केही न केही सुगन्ध त उडेर र चुहिएर जान्छ रे। साँच्चै उडेको र चुहिएको हो कि होइन रहेछ भन्नेबारे खुल्दुली मेटाउन मैले त पढें, अब हजुरको पालो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.