सेनामा मगर महिमा
भोलि हुने भनिएको जंगबहादुरको हत्याकाण्डबारे रानी राज्यलक्ष्मीको सबैभन्दा विश्वासिलो सुसारे पुतलीले पण्डित विजयराज पाण्डेमार्फत जंगबहादुरलाई १९०३ कात्तिाक १७ गते खबर दिएकी थिइन्।
नेपाली सेनाको इतिहासबाट मगर व्यक्तित्वहरूको योगदान धेरै थाहा हुन आएको छ। यसमा पनि सबै तहका उनीहरूको बारेमा लेख्न सम्भव छैन। यहाँ भने कमान्डर तहका ज्ञात मगर व्यक्तिहरूबारे मात्र समेटिएको छ। स्वभावैले कमान्डरभन्दा लडाकुहरू धेरै हुन्छन्। तिनको भूमिका अझै महत्त्वपूर्ण भएर पनि उनीहरूको इतिहास नलेखिएको र नभेटिएको अवस्था छ। त्यसैले कमान्डरहरूको मात्र विवरण उल्लेख छ ः–
काजी गंगाराम रानामगर
लमजुङको राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्र वदी, अष्टमी तिथि, रोहिणी नक्षेत्र, बुधबारका दिन लिगलिग कोटको राजा भए। सोही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाण्डेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गंगाराम रानामगरलाई प्रधानन्यायाधीश (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए। प्रशासन हेर्ने १, सेना हेर्ने १, भूमिसम्बन्धी हेर्ने १ तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्री) को व्यवस्था भएको थियो। त्यसबेलाको सैनिक विकासमा प्रत्यक्ष–अप्रत्यक्ष रूपबाट गंगारामको पनि देन भएकाले नेपाली सेनाले उनलाई बिर्सन हँुदैन।
काजी लखन थापा
यी गोर्खाका राजा रामशाहको पालाको जल्दोबल्दो सेनापति काजी थिए। सेनापति काजी लखनको नेतृत्वमा गोर्खाले तिब्बतको कुकुरघाटसमेत विजय गरेको थियो। तर यो लामो समयसम्म टिकेन। उनको भूमिका राजा रानीको अंगरंक्षक भएको पनि बुझिन्छ भने उनको सैनिक भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण थियो। पछि उनी धर्मभीरु महात्मा बनेका र उनकै सपनाअनुसार हाल गोर्खा मनकामना देवी उत्पत्ति भएको थलो फेला परेको भन्ने पनि देखिन्छ। हाल गोर्खामा भएको मनोकामना मन्दिर उनैको पालामा स्थापना भाइ क्रमिक विकास हुँदै आएको हो। उनको बारेमा विस्तृत शोध हुनु जरुरी छ। राज्य र मगर समुदायले अन्य मगर पात्रहरूको खोज खबर र प्रकाश पार्दै गर्दा यी काजी लखन थापाबारे प्रकाशन र प्रकाशन गर्नु जरुरी छ। इतिहासमा यी काजी ओझेलमा परेका छन्।
काजी जयन्त राना
यी गोर्खाका राजा नरभूपाल शाहको प्रधानसेनापति (काजी) थिए। नरभूूपाल शाहको पालामा कान्तिपुर राज्यको नुवाकोट माथि गरिएको पहिलो हमलाको नाइके यिनै थिए। उक्त युद्ध असफल भएपछि दरबारिया अन्य भारदारको विभिन्न लाञ्छनाबाट उनलाई काजीबाट हटाइयो। त्यसपछि गोर्खाबाट भागेर उनले कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजमा काम गर्न थाले। विशेषगरी पन्त काजीहरूको साहुको कोपभाजनमा परे। पछि उनी नुवाकोट किल्लाकै प्रमुख भई बसेका थिए। गोर्खालीसँग बेलकोटको लडाइँमा उनी मारिए। यिनको छाला काडिएको भनिएको छ।
काजी विराज थापामगर
विराज थापामगरलाई विराज बखेती पनि भनिन्छ। राजा राम शाहको पालादेखि नै मनकामनाका थापामगरहरूले गोर्खा दरबारको मन जितेका थिए। ती मगर सन्तानको क्रमिकता पछिसम्म रह्यो। पृथ्वीनारायण शाहको पालासम्म थियो। काजी विराज थापामगरहरू गोर्खाका राज परिवारका ‘ददा’ भएका धेरै दृष्टान्त भेटिन्छन्। जुन पक्ष पारिवारिक वा एकै परिवारको जस्तै सम्बन्ध हो। तिनीहरूकै सन्तान विराज पृथ्वीनारायणले पहिलोपटक नुवाकोटमाथि हमला गर्दाका सेनापति थिए। कालु पाँडेलाई पहिलो सेनापति भनिएको छ।
वास्तवमा कालु पाँडे मूलकाजी थिए। उनी सेना हेर्नेमात्र नभै पूरै देश हेर्ने काजी थिए। त्यसैले उनलाई काजीको नियुक्ति गर्नु अगाडि छिमेकी राज्यहरूमा समेत बडामहाराजले सोधेका थिए। सेनापति काजीका लागि होइन। तर नेपालको इतिहासमा काजी भन्नासाथ सबैलाई सेनापति र सबैलाई प्रधानमन्त्री बनाएर जात्रा गरिएको छ। आधुनिक नेपालका अर्थात् १८०१ सालमा नुवाकोटको विजय हमला गर्दा भने काजी शिवराम सिंह बस्न्यात सेनापति थिए। शाहकै पालादेखिको नेपाली सेनामा जनजातिबाट काजी (प्रधानसेनापति) हुने पहिलो व्यक्ति विराज नै हुन्। उतिखेरको नियमअनुसार सेनामात्र होइन, राजा, राज परिवार, खर्दार, खजाञ्ची, सिकारी, जेठा बुढालगायत सबैले लडाइँ लड्नै पथ्र्यो।
शंखमनी राना
यी जयन्त रानाका छोरा थिए भने कान्तिपुर फौजमा उनी आफ्नै पिताको मातहतमा जंगिरे थिए। जयन्त राना काम विशेषले कान्तिपुर गएका बेला शंखमनी नुवाकोट किल्लाको प्रमुख भए। सोही बेलामा पृथ्वीनारायणले नुवाकोट माथि हमला गरी विजय प्राप्त गरे भने शंखमणि यसै युद्धमा १८०१ सालमा मारिए। त्यो युद्ध नेपाली सेनासँग प्रत्यक्ष सरोकार भएको र एक सैनिक नेताको हिसाबले उनलाई यहाँ सम्झिएको हो, उनले वीरगति पाएका थिए।
काजी सर्वजित राना मगर
१८३४ सालमा बालक राजा रणबहादुर शाहका नायबी राजेन्द्रलक्ष्मीले (वि.सं. १८४२ मा तीन महिना जित) सर्वजित राना मगरलाई प्रमुख काजी बनाई सेनाको कार्यभार जिम्मा दिइन्। नेपाल एकीकरणमा यिनको योगदान छ। काजी सर्वजितका मद्दतले राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई बन्दी बनाइन् तर केही महिनापछि गुरु गजराज मिश्रले अनुरोेध गरेपछि रिहा गरिदिइन्। पृथ्वीनारायणका विश्वस्त भारदार हर्ष पन्तले चारजना केटा कमरालाई पोलाहा बनाई राजेन्द्रलक्ष्मीलाई सर्वजित राना मगरसँग अनैतिक सम्बन्ध भएकोे बात लाग्यो। पृथ्वीनारायणका भाइ दलजित शाहले मुमा बडामहारानीसँग लसपस गरेको भन्ने बात लगाई सर्वजितलाई हनुमानढोका राजदरबारभित्रै काटी मारिदिए। राजेन्द्रलक्ष्मी पनि चाँदीका हत्कडी लगाई दरबारभित्र नजरबन्द भइन्।
जमदार जोहरसिंह थापामगर
कास्की चिसापानी गाउँ, देउराली भन्ज्याङको भिरचोकमा पिता सहेराम थापामगर र माता मनमायाको कोखबाट १८४४ सालमा जन्मेका जोहरसिंहले नेपाल एकीकरण र नेपाल–अंग्रेज युद्धमा ठूलो बहादुरिता देखाएका थिए। नालापानी छेउको खलंगाको युद्धमा बलभद्र कुँवरको मातहतमा रहेर ठूलो बहादुरिता देखाए। गढवाल क्षेत्रमै विवाह गरिसकेका जोहरसिंहका लागि नेपाल फर्कनुभन्दा उतै घरजाम जोड्नु फाइदाजनक थियो।
त्यसपछि उनले सन् १८१५ मै अंग्रेजको नासिरी बटालियनमा सीधै बिल्लादार कमान्डर पदमा भर्ती पाए। जागिरको अन्तिमतिर उनी सुबेदार मेजर भई घरपायक पर्ने धर्मशाला क्यान्टोनमेन्टमा (काँगडानजिक) सरुवा भई आएका थिए। सन् १८१५ बाट खडा भएको नासिरी बटालियनमा भर्ती हुनेमध्ये सुबेदार मेजरको पद पाउने पहिलो नेपाली पनि उनी नै थिए। सन् १८६३ मा उनी पेन्सनमा रिटायर्ड भई धर्मशाला भाक्सुमा बसे।
काजी देवीदत्ता थापामगर
काजी देवीदत्तको नेपाल एकीकरणका लडाइँहरूमा, पहिलो र दोस्रो नेपाल भोट युद्ध तथा नेपाल चीन युद्धमा भूमिका ठूलो छ। गज्जबको कुरो त नेपाल चीन युद्धपछि भएको बेत्रावतीको सन्धिलगत्तै नेपाली राजाको प्रतिनिधि भई चीनका सम्राट्लाई सौगात पठाएको टोलीनाइके यिनै हुन्। राजकुमार बहादुर शाहको नेतृत्वमा नेपालका लडाइँ तथा युद्धहरू सञ्चालित थिए, त्यसबखत।
बहादुर शाहका एकदम मन परेका र बहादुर काजी थिए, देवीदत्त। उनका छोरा काजी जसपाउ थापा पनि बहादुर कमान्डर थिए। उनी दैलेखको दुल्लुमा बडाहाकिम हुँदा उनले १८७६ जेठ १० गते एउटा पौवा बनाई ‘जसपाउ पौवा’ नाम राखेका थिए। लेखकले स्थान विशेष पाएको सिलालेखमा ‘काजी कर्ण सिंह थापाका पुत्र, काजी हरिहर थापा, तिनका पुत्र काजी देवीदत्त थापा र तिनका पुत्र काजी जसपाउ थापा’ भनी लेखेका छन्। यसरी उनको चार पुस्ता नै काजी थिए भन्ने प्रमाण छ। यस्ता वीर सन्ततिबारे इतिहास लेखिएको देखिँदैन।
काजी भाष्कर राना मगर
गोर्खा शाहवंशीय प्रशासनकालमा मगरहरूको ठूलो भूमिका थियो, दरबारभित्रको दादा, सुरक्षाको कामदेखि रणभूमिसम्म। भाष्कर राना गोर्खा राज्य स्थापना हुँदा लिगलिग कोटमा १६१६ सालमा कानुनमन्त्री हुने काजी गंगाराम रानामगरकै नजिकका परिवार सन्तति थिए। १८२५ सालमा गोर्खा नरेशले कान्तिपुर विजय गरेपश्चात् तिब्बतको ल्हासामाथिको आधिपत्य अब गोर्खा शाहवंशीय राजाहरूको भयो।
काठमाडौं उपत्यकाका मल्ल राजाहरूले तिब्बतमा पठाएका तामा र फलाम मिसाइएका कमसल चाँदीको मोहोर र १८२५ बाटै शाह राजाले शुद्ध चाँदीका मोहर बनाई तिब्बत पठाइएका मोहोरका मूल्य अब एकै हुन नसक्ने नेपाल सरकारको अडानलाई तिब्बतले मानेन। यो विषयमा विवाद हुँदाहुँदै बडामहाराज पृथ्वीनारायण शाह स्वर्गे भए। अब उनको नाति राजा रणबहादुर शाह बालक राजा र उनका काका राजकुमार बहादुर शाह, रणबहादुरको नायब भई शासन चल्यो। त्यही बेलामा नेपालले उही तिब्बतमा रहेका खोटा मोहोर र सक्कली चाँदीका मोहोरबारे कुरा नमिल्दा नेपालले तिब्बतमाथि हमला गरेको थियो। यसरी वर्षको ५० हजार मोहोर जरिबाना तिर्ने भो तिब्बतले। तर एक वर्ष दिएपछि अर्को वर्ष तिरेन। यही कारण फेरि नेपालले तिब्बतमाथि दोस्रो हमला गर्यो। यो लडाइँ हुँदै गर्दा चीनले तिब्बतलाई सैनिक मद्दत दियो र नेपालले चीनसँग पनि लडाइँ लड्नु पर्यो।
यही लडाइँमा काजी भाष्कर राना मारिएका थिए। काजी भाष्करका छोरा कप्तान शमशेरका छोरा तीनजना थिए– कप्तान (पछि प्रधानसेनापति) अभिमानसिंह राना, धर्म नरसिंह राना र वीरमानसिंह राना। काजी भाष्कर राना १८४९ सालको नेपाल–तिब्बत–चीन युद्धमा मारिए। कप्तान शमशेरकी श्रीमती हृदयप्रियादेवी र तीन छोरासमेत भएर नुवाकोट थानसिङमा पौवा बनाई राजा रणबहादुर शाहमार्फत ४० मुरी धान आउने खेतको गुठीसमेत राखेका थिए।
काजी जसपाउ थापा
‘सप्रेको लडाइँ सिपाहीको र बिग्रेको लडाइँ काजीको हो’ भन्ने प्रख्याति वाणी यिनै काजीको हो। उनले नेपाल–अंग्रेज युद्धको जैथकको लडाइँमा यो कुरा बोलेका थिए। काजी रणजोर थापाको नेतृत्वमा यिनले पनि काजीकै भूमिकामा अंग्रेजसँग सिर्मोर राज्यको जैथकमा लडाइँ लडे। नेपाल–अंग्रेज युद्धको सबैभन्दा लामो लडाइँ थियो, पाँच महिनाभन्दा लामो। यो लडाइँमा सयौं अंग्रेज मारिए। यो लडाइँ ब्रिटिसले हार्ने पक्का थियो।जैथकको किल्ला
तर मे १५, १८१५ मा बडाकाजी (काजी रणजोरका पिता) अमरसिंह थापाले मलाउको किल्लामा सम्झौता गरी महाकाली पश्चिम सतलजसम्मको भूमि नेपालले अंग्रेजलाई सुम्पेर अंग्रेजको लेखाइअनुसार उनले आत्मसमर्पण गरे। त्यही कारणले यो जैथक किल्लाको लडाइँ पनि बन्द गरी यो किल्ला अंग्रेजलाई सुम्पनु परेको थियो। अर्को कुरा काजी जसपाउ थापामगरका कृति र शिलालेखहरू पूर्वमा इलाम, धनकुटा, दैलेखको दुल्लुलगायतका क्षेत्रमा लेखकले देखेको हो। उनका पिता र बाजेसमेत काजी दर्जाका थिए। दुल्लु बजारमा उनले बनाएको जसपाउ पौवा अहिले पनि जीवन्त छ।
जमदार सिंहवीर घर्तीमगर
सिंहवीरको पारिवारिक विवरण प्राप्त गर्न सकिएको छैन। कप्तान अर्थात् सरदार बलभद्र कुँवरको मातहतमा रही सन् १८१४ को नोभेम्बर २७ तारेखको बिहान नालापानी किल्लामा भएको अंग्रेज फौजविरुद्धको युद्धमा जमदार सिंहवीर घर्तीमगरले बढो वीरताका साथ नेतृत्व गरेका थिए। उनले कर्णेल माविले नेतृत्व गरेका सैनिकमध्ये दर्जनभन्दा बढीलाई मारे भने दर्जनौंलाई घाइते बनाए।
कमान्डर इन् चिफ अभिमानसिंह रानामगर
१६१६ सालमा राजा द्रव्य शाह लिगलिगकोटको राजा हुँदादेखि नै रानामगरहरू काजी दर्जामा काम गर्न थालेको पाइन्छ। पछि गोर्खाका राजा नरभूपाल शाहको राज्यकालमा जयन्त रानामगरले सेनापतिको भूमिका निभाएको देखिन्छ।
विशेष गरेर चौतारिया फत्तेजंग शाहको नेतृत्वमा रहेको मन्त्रिमण्डलमा उनी सदस्य रहेको देखिन्छ। जसमा उनले सैनिक विभागको जिम्मेवारी पाएको बुझिन्छ। प्रधानमन्त्री माथवरसिंह थापाको १९०२ (सन् १८४५ मे १७ को रात) सालमा हत्या भएपछि राजपरिवारकै फत्तेजंग चौतरियालाई प्रधानमन्त्री बनाइयो। यसैबेला अभिमानसिंह रानामगर कमान्डर–इन–चिफ (पहिलो जनरल), गगनसिंह खवास दोस्रो जनरल र जंगबहादुर कुँवरलाई तेस्रो जनरल बनाइयो।
कोतपर्व भनेर चिनिने काण्डको १९०३ भदौ ३ गते मध्यराततिर हाल हनुमान ढोकाको गण रहेको स्थान कोतघरमा तेस्रो जनरल जंगबहादुर कुँवरको टोली र प्रधानमन्त्री फत्तेजंग चौतरियाको टोलीबीच हात हालाहाल हुने स्थिति बन्दै थियो। सेन्ट्री सिपाही भीमबहादुर आलेमगरले एक्कासि बन्दुकको संगीन (बियोनेट)ले कोतको ढोकाबाहिर जान लागेका जनरल अभिमानसिंह रानाको छातीमा घोची जमिनमा ढलाइदिए। अभिमानसिंहलाई आफू मर्छु भन्ने निश्चित भएपछि उनले आफ्नै रगतको पोखरीमा हात चोपी नजिकै रहेको कोतको ढोकानिरको भित्तामा रगतको पञ्जाछाप लगाए। अनि सबैले सुन्नेगरी कराएर ‘गगनसिंहको हत्यारा जंगे नै हो’ भने। केही बेरपछि उनको मृत्यु भयो।
सहिद लखन थापा
राजा श्री ५ सुरेन्द्र र प्रधानमन्त्री जंगबहादुर राणाको पालाका लखन थापाको बारेमा लेखकले सैनिक इतिहास फेला पारेको छैन। जंगबहादुरका छोरा पदमजंग राणाले उनको पिताको जीवनी लेखेको पुस्तकमा लखन थापालाई ‘सोल्जर’ अर्थात् ‘सिपाही’ लेखेका छन्। उनले गरेको जंगबहादुरविरुद्धको विद्रोहबारे छोट्टो लेखाइ छ। त्यसको मतलव उनी नेपाली सेनाका थिए। तर अफिसर थिएनन्।
२०६३ सालपछि लखन थापाबारे धेरै कुरा पढ्ने मौका मिल्यो। तर पंक्तिकारले ती कुरालाई आडभरोसा दिने इतिहास भेटेको छैन। तर लखन थापा प्रतिष्ठानको कार्यक्रममा २०६८ सालमा लिखित इतिहास प्रस्तुत गरेको थियो। उनलाई हाल दिएका राजनीतिक सम्मानहरूप्रति पंक्तिकारको कुनै विरोध छैन। तर जंगबहादुरलाई मार्न कोसिस गर्नेहरूको विवरण निम्न रहेको प्रमाण पेस गरेको छु। उनलाई मार्न रचिएको पहिलो योजना १९०३ सालको भण्डारखाल पर्ब हो। मुख्यनाइके काजी वीरध्वज बस्न्यातलाई बनाइएको थियो। राजा राजेन्द्र र रानी राज्यलक्ष्मीकै आदेशबाट प्रधानमन्त्री जंगबहादुर राणालाई मार्न हनुमानढोका दरबारमै रहेको भण्डारखालमा भोजको कार्यक्रममा राखी काजी वीरध्वजको नेतृत्वमा जंगबहादुरलाई मार्ने योजना थियो। यो काममा जंगबहादुरका आफ्नै साला कर्नेल इन्द्रसिंह टन्डनसमेत लागेका थिए।
१९०३ कात्तिक १७ गते साँझपख त्यो काण्डबारे रानी राज्यलक्ष्मीको सबैभन्दा विश्वासिलो सुसारे पुतलीले सो हत्यायोजनाबारे पण्डित विजयराज पाण्डेमार्फत जंगबहादुरलाई अघिल्लो दिन नै खबर दिएकी थिइन्। बाठा जंगबहादुरले दरबारको गोप्य कुरा बुझ्न सुसारे पुतलीलाई प्रेमी बनाइसकेका थिए। यो काण्डमा सबैलाई मारेपछि पुतलीलाई विवाह गरी ‘पुतली मारानी’ भनियो भने विजयराज पाण्डेलाई बडागुरुज्यूको दर्जा दिएर नेपाली सेनाको शार्दूलजंग कम्पनी उनको रेखदेखका लागि खटाइयो। बडागुरुज्यूको सुरक्षामा खटिएपछि त्यो कम्पनीलाई ‘गुरुजुको पल्टन’ भन्न थालियो। तर त्यसको नाम शार्दूलजंग नै हो।
जंगबहादुर प्रधानमन्त्री भइसकेपछि पनि उनलाई मार्न खोजे। सो अभियोगमा काटिने काजी वीरध्वज बस्न्यात नै सबैभन्दा पहिलो व्यक्ति हुन्। त्यसपछि अर्को ९० मिनेटभित्रै सोही भण्डारखाल पर्वमा थप २२ जना काटिए। काटिने सबैको नाम अभिलेखमा छ। १७ जना जति भागेर ज्यान जोगाउन सफल भए। तिनले काठमाडौं छाडे। जंगबहादुरलाई मार्न खोज्ने अन्यमा महाराजाधिराज राजेन्द्रविक्रम शाह र रानी राज्यलक्ष्मी, काजी वीरध्वज बस्न्यात (भण्डारखाल पर्वको यो घटनामा जंगबहादुरलाई मार्न खोज्ने ४० जना थिए। तीमध्ये २३ जना काटिए भने १७ जना देश छाडी भागे।), राजकुमार उपेन्द्रविक्रम शाह, जनरल बद्रीनरसिंह राणा, जनरल जयबहादुर राणा, कप्तान (?) करवीर खत्री, अछाम राजपरिवारका बलदेव शाही (उनको उपनाम बाकावीर थियो। १९०६ सालमा यिनलाई पक्रेर मारियो)।
यस्तै, कप्तान गोठु बस्न्यात, नेपाली सेनाका जमदार काजीमान गुरुङ (यिनलाई १९१४ सालमा कुटीकुटी मारियो), चौतरिया गुरुप्रसाद शाह, गोर्खाकै शुकदेब गुरुङ (जसले आफूलाई सरकार घोषणा गरेका थिए), नेपाली सेनाका (दर्जा अज्ञात) लखन थापा (उनलाई १९३३ सालमा मारियो। उनको घर गोर्खा बुङकोट हो। हाल उनलाई सहिद बनाइएको छ) हुन्। अब इतिहासप्रेमीहरूले मनन् गर्ने कुरो के हो भने जंगबहादुरलाई मार्ने षड्यन्त्रमा लागेकामध्ये करिब ५०औं नम्बरमा बुङकोटका लखन थापा पर्छन्। राजा राम शाहका सेनापति काजी लखन थापा र यी लखन थापाबीचको अन्तर करिब २ सय ६५ वर्ष रहेको छ।
काजी प्रतिमान राना
पहिलो नेपाल–भोट युद्ध, दोस्रो नेपाल–भोट युद्ध र नेपाल–चीन युद्धमा लडेका यी प्रतिमान रानामगर कम्तीमा सरदार पदका थिए। इतिहासमा ठाउँठाउँमा यिनको नाम छ। यी राजकुमार बहादुर शाहले नेतृत्व गरेको नेपाल एकीकरणका लडाइँहरूमा समेत सफल कमान्डर थिए। पछि १९११ सालमा भएको अन्तिम नेपाल–भोट युद्धमा पनि यिनको नाम लेखेका छन्, इतिहासकारहरूले। त्यो गल्ती हो। पछाडिका चाहिँ तत्कालीन मेजर कप्तान र पछि ब्रिगेडियर जनरल भएका प्रतिमान कुँवर राणा थिए। जसले सिन्धुपाल्चोक, चौतारा बजारनजिक तिब्बतमा लडाइँ जितेर आएपछि पार्टी बनाएका थिए। जसलाई कप्तान पाटी भनिन्छ।
अन्तमा, वि.सं. १६१६ देखि १८०१ सम्म गोर्खा दरबारमा मगर खलकको ठूलो भूमिका थियो। वास्तवमा १९०३ सालको कोतपर्व पछिमात्र नेपाल दरबारमा मगर र गुरुङहरूले मन्त्री, काजी, सेनापति पद पाउन कम भयो अर्थात् बन्द भयो। जब राणाको प्रशासनिक काल सुरु भयो। अब अन्य जातले सेनामा कर्नेलसम्म पाउन थाले। नत्र राजा द्रव्य शाहदेखि राजा सुरेन्द्रको सुरुसुरुको पालासम्म नेपालका काजी मन्त्री हुनेको संख्या मगर र गुरुङको धेरै थियो।
कमान्डर तहका मगर व्यक्तिहरूबारे यस लेखमा दिइएको तिथिमितिमा भने यकिन गर्न सकिएको छैन। सुझावका लागि लेखकले अपेक्षा राखेको छ।