भूकम्पले घर भत्काएका ठाउँमा बाहेक अन्य ठाउँमा विद्युत् सुचारु
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुरु गरेको छ।
भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो। प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सेवा सुरु गरेको हो।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताए। यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे।
उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको बताए।