भूकम्प पीडितको उद्धार र राहतका लागि एमालेले सरकारलाई सघाउँछ : केपी ओेली
वीरगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितका लागि उद्धार तथा राहत कार्यमा सरकारलाई सघाउन एमाले तयार रहेको बताएका छन्।
शनिबार वीरगन्जमा आयोजित एमाले मधेस प्रदेशका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,`भूकम्प पीडित क्षेत्रमा उद्धार तथा खोजमा सरकारलाई सघाउन एमालेपनि तयार छ।'
भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा उपचारका साथै उनीहरूलाई राहत सामग्री वितरणमा ध्यान केन्द्रित गर्न सरकारसँग उनले आग्रह पनि गरे।
सामाजिक संघसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न उनले अपिल गरे। उनले मधेसको विकासका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। उनले मधेसमा विद्यमान गरिबी र अशिक्षा हटाउने अभियानमा लाग्न मधेसका एमालेका नेताकार्यकर्तालाई निर्देशनपनि दिए।
अध्यक्ष ओेलीले देश र जनतालाई सर्वोपरी ठानेर इमानदारीताका साथ काम गर्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिए। पार्टीका सबै तहका नेताकार्यकर्ताले इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गरेमा आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी ओेलीको थियो।