पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम कायमै

पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम कायमै
अघिल्लो वर्ष दार्चुलामा भूकम्पको जोखिमबारे अध्ययन गर्दै पेरिसका भूकम्पविद् प्रोफेसर फेडरिक पेरियरसहितको टोली ।
सुन्नुहोस्

भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ। लामो समयदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको र शक्ति सञ्चित भएकाले पनि अब ठूलो धक्का आउने अनुमान विज्ञको छ।

सुर्खेत : शुक्रबार राति नेपालको पश्चिम क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भयो। भूकम्पको धक्काका कारण कर्णालीमा धेरै धनजनको क्षति भएको छ। जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। उक्त धक्कापछि शनिबार दिउँसोसम्म १ सय ८० पटकभन्दा धेरै परकम्प मापन भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 

भूकम्पको ठूलो धक्का र त्यसपछि लगातारका परकम्पका कारण नेपालको पश्चिम क्षेत्रमा सर्वसाधारण त्रसित बनेका छन्। ठूलो धक्कापछि यस्ता परकम्पहरू अझै पनि आउन सक्ने बताइएको छ। पछिल्ला वर्षहरूमा कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा पटक–पटक भूकम्पका धक्काहरू आइरहेका छन्। बारम्बार भूकम्पको धक्का महसुस हुन थालेपछि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्पको धक्का आउन सक्ने भन्दै सर्वसाधारण त्रसित छन्। विज्ञले पनि अब कुनै पनि बेला कर्णाली र सुदूरपश्चिममा भूकम्पको ठूलो धक्का आउन सक्ने जोखिम कायमै रहेको बताएका छन्।

भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ। लामो समयदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको र शक्ति सञ्चित भएकाले पनि अब ठूलो धक्का आउने अनुमान विज्ञको छ। नेपालको पश्चिम क्षेत्रमा ५ सय १८ वर्षयता ठूलो भूकम्प गएको छैन। यो बीचमा नेपालको पूर्वीक्षेत्र र भारत आसपासमा सन् १९३४ र नेपालको मध्य भागमा सन् २०१५ मा गोरखा केन्द्रबिन्दु भएर भूकम्प गइसकेको छ।

‘नेपालको पूर्वीभाग र मध्यभागमा ठूला भूकम्प गइसके’ भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङ भन्छन्, ‘वर्षौंदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन, यसकारण पनि हालसम्म सञ्चित भएको शक्तिका कारण अब नेपालको पश्चिम क्षेत्रमा कुनै पनि समयमा ठूलो भूकम्पको धक्का आउने जोखिम छ।’ 

यसअघि पश्चिम नेपालमा सन् १५०५ मा ठूलो भूकम्प गएको थियो। त्यसयता ठूला भूकम्पका धक्का पश्चिम क्षेत्रमा नआएकाले पनि जोखिम धेरै रहेको विज्ञहरूको भनाइ छ। भूकम्पको जोखिमका हिसाबले नेपाल विश्वमा ११औं स्थानमा छ। भूकम्पको जोखिम कायम भएको र त्यसमा पनि अब पश्चिम क्षेत्र बढी जोखिममा रहेको विज्ञहरू बताउँछन्। 

‘पृथ्वीको गर्भमा दुइटा प्लेटबीच टकराव जारी छ, त्यही संघर्षका कारण पृथ्वीको गर्भमा शक्ति सञ्चित भएर बसेको छ’ तामाङले भने, ‘लामो समयसम्म पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण हालसम्म सञ्चित भएको शक्ति कतिबेला विस्फोट हुन्छ भन्न सकिन्नँ, त्यही विस्फोटले अब कुनै पनि बेलामा ठूलो भूकम्प जाने सम्भावना कायमै छ।’ शुक्रबार राति जाजरकोटमा गएको भूकम्प ठूलो नभई मझौला खालको भएको उनको भनाइ छ। रातको समय भएकाले धेरै क्षति भएको भन्दै उनले भूकम्पको धक्का मझौला नै भएको जानकारी दिए। अब नेपालको गोरखादेखि पश्चिमतर्फ भारतको देहरादुनसम्म जोखिम रहेको छ। null

विज्ञका अनुसार पृथ्वीको सतहमा कडा जमिन भएको स्थानभन्दा दबदबे अर्थात् कमजोर माटो भएको स्थानमा भूकम्पको जोखिम धेरै हुन्छ। नेपालको पश्चिम क्षेत्रमा अघिल्लो वर्षको असारमा विज्ञहरूले भूकम्पको जोखिमबारे अध्ययन गरेका थिए। पेरिसका प्रोफेसर तथा भूकम्पविद् फेडरिक पेरियर र खानी तथा भूगर्भ विभागका प्राविधिकको टोली अध्यनका लागि अघिल्लो वर्षको असारमा दार्चुलाको तातोपानी क्षेत्रमा पुगेको थियो। अध्ययनको क्रममा पेरियरले नेपालको पश्चिम क्षेत्रमा लामो समयसम्म ठूलो भूकम्प नगएकाले अब कुनै पनि बेलामा ठूलो भूकम्पको धक्का आउनसक्ने बताएका थिए। 

उक्त अध्ययनको क्रममा महाकाली किनारको पानीको तापक्रम ६४ डिग्री पाइएको थियो। पानीको तापक्रम घटबढ हुनु, एकाएक बढ्नु र जमिनबाट ग्यास निस्केको खण्डमा भूकम्पको जोखिम बढी भएको अनुमान लगाउन सकिने विज्ञहरू बताउँछन्। भूकम्प मापन केन्द्रका अनुसार पछिल्ला वर्षमा सुदूरपश्चिम र कर्णालीका जिल्लामा केन्द्र भएर बारम्बार भूकम्पका ससाना धक्काहरू आउने गरेका छन्। यसकारण पनि पश्चिम क्षेत्रमा भूकम्पको जोखिम कायमै भएकाले सचेत हुनुपर्ने विज्ञहरूले सुझाव दिइरहेका हुन्। 

एक वर्षमा चारवटा ठूला भूकम्प

पश्चिम नेपालमा पछिल्लो एक वर्षमा चारवटा ठूला भूकम्प मापन गरिएको छ। एक वर्षको अवधिमा कर्णाली र सुदूरपश्चिममा चारपटक ठूलो भूकम्प गएको हो। भूकम्प मापन केन्द्र सुर्खेतले एक वर्षमा चारपटक ठूला भूकम्प जानुले पनि पश्चिम नेपाल जोखिममा रहेको जनाएको छ।

पछिल्लो एक वर्षमा जाजरकोट, बाजुरा, बझाङ र डोटी केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलभन्दा माथिका भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति मात्र जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलेको भूकम्प गएको छ। 

यस्तै २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएको ६ दशमलव ३ रेक्टरस्केल, २०७९ कात्तिक २२ गते डोटी केन्द्रबिन्दु भएको ६ दशलव ६ रेक्टरस्केल र २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएको ५ दशमलव ९ रेक्टरस्केलका भूकम्प गएका छन्।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले एक वर्षको अवधिमा पश्चिम क्षेत्रमा चारपटक भूकम्पको ठूलो धक्का आउँदा आफूहरू पनि आश्चर्यमा परेको बताए। पछिल्लो समय आएका ठूला धक्काले पनि पश्चिम क्षेत्रमा भूकम्पको जोखिम रहेको विषयलाई पुष्टि गरेको उनको भनाइ छ। पाँच रेक्टरस्केलभन्दा माथिका भूकम्प चारपटक मापन भएको र त्योभन्दा साना धक्काहरू दर्जनौंपटक मापन भएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.