राउटे महामुखियाको निधन
दैलेख : लोपोन्मुख जाती राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ। ६६ वर्षीय शाहीको आज बिहान निधन भएको हो।
गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उनको जन्ममिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ। राउटे समुदायले आफ्नो परम्परा अनुसार मृतक शाहीको अन्तिम दाहसंस्कार गरिसकेको सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनामार्फत बस्तीमा खटिएका शिक्षक लालबहादुर खत्रीले बताए।
महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरु सुरमान र सुन्दरी शाही रहेका छन्। महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो।
नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो। त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो।
१४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ पुगेको छ। फिरन्ते जीवनयापन गर्दै आएका उनीहरुको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ। सोही वडाको कोइराल गाउँ आसपास बसोबास रहेका उनीहरु पाँच दिन अघिमात्रै बस्ती सरेका थिए।