चिसो बढेसँगै उच्चलेंकका याकचौरी बेसी झारिँदै
जोमसोम : हिमाली जिल्ला मुस्ताङका उच्चलेंकमा पालन गरिएका याकचौरी चिसो बढेसँगै बेसी झारिएको छ। हिउँयामको मौसममा उच्चलेंकको पाटनमा अत्यधिक चिसो र हिमपात हुने भएकाले मुस्ताङको उच्चलेंकमा पालिएका याकचौरी बेसी स्थान्तरण गरिएको हो।
बर्सेनि हिउँदयामको मौसममा उच्चलेंकमा पालन गरिएका याकचौरी व्यवस्थापनमा निकै चुनौती हुने भएकाले पाटनका याकचौरी बेसीमा झाने प्रचलन रहेको हो। हिउँदयाममा हिमालको फेदमा पालन गरिएका याकचौरीलाई सम्भावित हिमपातले याकचौरीहरूलाई जोखिम हुने हिमपातले चरन क्षेत्र पुरै हिउँले ढाकिने र अत्यधिक चिसोका कारण याकचौरी गोठाला उच्चलेंकको गोठमा बस्न नसक्ने हुँदा मुस्ताङका उच्चलेंकमा पालन गरिएका याकचौरीहरू बस्ती नजिक झार्ने गरिएको पशुपालकहरू बताउँछन्।
हिउँदयाममा बस्तीमा हिउँ परेपनि चाँडै पग्लिने, गोठाला तथा पशुचौपायालाई न्यानो हुने र पशु आहार दिन समेत सजिलो हुने हुँदा याकचौरी बस्ती छेउ झार्ने गरिएको घरपझोङका पशुपालक वीरबहादुर घर्तीले बताए। सधैं झै लोमान्थाङमा पनि चिसो बढेसँगै पाटनका याकचौरी बस्ती छेउ झारिएको लोमान्थाङका याकचौरी पालक आङ्गेल गुरुङले जानकारी दिए।
उच्चलेंकमा चिसो र हिमपातले चरन क्षेत्र ढाकिँदा याक चौरीहरूलाई घाँसको अभाव हुने , पशु आहार पकाएर दिन र गोठालाहरूलाई पकाएर खान बस्न सास्ती हुने पशुपालक गुरुङको भनाइ छ।
यहाँका ५ स्थानीय तहमा व्यावसायिक रूपमै याकचौरी पालन गरिएको छ। यहाँ पालिएका याकचौरी मासु र चौरीको दूधबाट बन्ने विभिन्न परिकार बनाएर बिक्री गरिन्छ। यसका अलवा याकचौरी आलो रगत निकालेर समेत बिक्री गरिन्छ भने याकचौरीको पुच्छर पनि महंगो मूल्यमा बिक्री हुन्छ।
मुस्ताङमा झन्डै ४ हजार भन्दा बढीको संख्यामा याकचौरी रहेको हिमालयन चौरीपालन तथा संरक्षण समितिले बताएको छ। मुस्ताङको थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यावसायिक रूपमा करिब १५ सय भन्दा बढी याकचौरी पालन गरेका छन्।
घरपझोङ गाउँपालिकाको मार्फा,स्याङ र जोमसोम गरी ८ घरधुरीले करिब ५ सय भन्दा बढी याकचौरी पालन गरेका छन्। यसैगरी लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा करिब १६ घरधुरीले १८ सयभन्दा बढी याकचौरी पालन गरेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झारकोट र मुस्ताङ-डोल्पा सीमाना साङ्ता गाउँमा करिब २४० भन्दा बढी याकचौरी पालन गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समितिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए।