वर्षको सुरुमै बैंकको परिसूचक निराशाजनक

नाफा/वितरणयोग्य नाफा घट्दा लाभांश क्षमता कमजोर, बढ्दो निष्क्रिय कर्जाले बैंकिङ प्रणाली प्रभावित

वर्षको सुरुमै बैंकको परिसूचक निराशाजनक

काठमाडौं : चालू आर्थिक वर्षको सुरुवातमै बैंकको मुख्य वित्तीय परिसूचकहरू खासै उत्साहजनक देखिँदैन। आम लगानीकर्ताका लागि चासो हुने बैंकले दिने प्रतिफल अर्थात् लाभांश क्षमता आर्थिक वर्षको पहिलो त्रैमासमै उत्साहित खालको छैन। यद्यपि आव सकिँदासम्ममा समग्र अर्थतन्त्र गतिशील भई बैंकिङ प्रणाली पनि सुदृढ हुन सक्ने र लाभांश क्षमतामा पनि सुधार आउन सक्ने झिनो आशा भने गर्न सकिन्छ। सबै बैंकको स्थिति भने कमजोर छैन। तर अधिकांश बैंकको नाफा, वितरणयोग्य नाफा वृद्धि ऋणात्मक छ। जस्ले लाभांश क्षमतामा कमी आएको छ। 

मुख्यतया बैंकका ऋणीहरूले समयमा साँवा तथा ब्याज नतिर्दा बैंकको निष्क्रिय कर्जा (एनपीएल)को आकार बढ्दै गएको छ। एनपीएल बढ्नु भनेको कर्जा नोक्सानी प्रोभिजन बढ्नु, एसेस्टको गुणस्तर कम हुनु र नाफा घट्नु हो। यस्तो कर्जा बढेसँगै बैंकले यसबापत केन्द्रीय बैंकले तोकेअनुसारको रकम लोन लस प्रोभिजनमा छुट्ट्याएर राख्नुपर्छ। यसबाट नाफा घट्नु भनेको लाभांश बाँड्ने क्षमतामा ह्रास आउनु हो। 

अहिले अधिकांश बैंकको यस्तै अवस्था छ। किनभने राष्ट्र बैंकले तोकेअनुसार लोन लस प्रोभिजनमा कुल कर्जाको निश्चित प्रतिशत छुट्ट्याएर राख्नु पर्छ। जसअनुसार भाखा ननाघेको कर्जालाई १.३ प्रतिशत, ३ महिनासम्म भाका नाघेका कर्जालाई २५ प्रतिशत, ६ महिनासम्म भाका नाघेकालाई र ६ महिनाभन्दा बढी भाका नाघेकालाई  शतप्रतिशत प्रोभिजनमा छुट्ट्याउनु पर्छ। कुल कर्जामध्ये तोकिएको उक्त प्रतिशतलाई खर्च लेखेर नाफाबाटै घटाएर राख्ने गरिन्छ। यसो हुँदा वितरणयोग्य नाफाबाट लाभांशबापत बाँड्न पाइँदैन। तर एनपीएलबापत रकम जहिल्यै उठ्छ त्यसपछिमात्रै वितरणयोग्य नाफामा जोडिन्छ र लगानीकर्ताले राम्रो बोनस हात पार्ने सम्भावना हुन्छ। 

तर अहिलेको परिस्थिति अलग बनेको छ। लामोसमयदेखि अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सकेको छैन। उद्योगी तथा व्यवसायीहरूले पनि यसको गुनासो गर्दै आएका छन्। परिणामस्वरूप यसैको असर बैंकको नाफामा पनि देखिन पुग्यो। करिब दर्जन बैंकले गत वर्षभन्दा कम मात्रै नाफा गर्न सकेका छन्। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल नाफा १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँमा सीमित छ। जबकि गत आर्थिक वर्षको यही अवधिमा नाफा १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रुपैयाँ थियो। यसो हुदाँ समग्रमा बैंकको नाफा वृद्धि १८.६० प्रतिशतले घट्न गएको छ। अझ सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा ऋणात्मक छ। बैंकको घाटा ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ छ। यससँगै ११ ओटा बैंकको नाफा वृद्धि घटेको छ भने बाँकी ८ बैंकको नाफा भने बढेको छ। 

null

नाफा वृद्धि संकुचन भएको बैंकहरूमा एभरेस्ट ९.४४, राष्ट्रिय वाणिज्य बैंक ३१.०३, लक्ष्मी सन्राइज बैंक ७९.५३, सानिमा बैंक ११.९१, नेपाल बैंक ७६.४३, नबिल बैंक ६.५०, नेपाल एसबीआई २३.६१, सिटिजन्स बैंक १९.७०, एनआईसी एसिया बैंक ४२.४८, कुमारी बैंक ७३.६४ र सिद्धार्थ बैंकको नाफा ९१.३९ प्रतिशतले कमी छ। यस्तै, नाफा बढाउने बैंकमा क्रमशः माछापुच्छ्रे बैंकको २०.१८ प्रतिशत, प्राइम बैंक ३१.७२, एनएमबी बैंक ६.५३, ग्लोबल आईएमई बैंक ३.०४, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३३.४६, स्ट्यान्डर्ड चार्टर्ड बैंक २, हिमालयन बैंक ९८.३५ र प्रभु बैंकको नाफा ४६.६९ प्रतिशतले थप कमाएका छन्। 

यसै क्रममा नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनील केसी सबैभन्दा मुख्य बैंकहरूको नाफा नै घटेको गुनासो गर्छन्। उनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १३ अर्ब ४७ करोडमात्रै भएको छ। एनएमबी बैंकका सीईओसमेत रहेका अध्यक्ष केसी भन्छन्, ‘जबकि पोहोर साल यही समयमा तुलनात्मक रूपमा बढी थियो। नाफा घटेपछि वितरणयोग्य नाफा घट्नु स्वाभाविक हो। यस्तो अवस्था आउनुको कारण निष्क्रिय कर्जा बढेर नै हो। यसपटक १६ अर्ब जति निष्क्रिय कर्जा बढेको स्थिति छ।’ 

वितरणयोग्य नाफा प्रभावित हुँदा लाभांश क्षमता घट्यो

नाफामा परेको दबाब वितरण योग्य नाफामा परेको छ। आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा र लाभांश क्षमतामा कमी आएको छ। यद्यपि सबैभन्दा धेरै लाभांश क्षमता स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ। उक्त बैंकको ३ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहँदा ४७.२२ प्रतिशत लाभांश क्षमता देखिन्छ।

यसपछि एभरेस्ट बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड रुपैयाँ छ। जस्ले गर्दा सो बैंकको लाभांश क्षमता ४२.२६ प्रतिशत छ। यसैगरी क्रमशः सानिमा बैंकको २ अर्ब ११ करोड रुपैयाँ वितरणयोग्य नाफा हुँदा लाभांश क्षमता १३.८० प्रतिशत, नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रुपैयाँ हुदाँ लाभांश क्षमता १३.३४ प्रतिशत, कृषि विकास बैंकको ४३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा हुँदा १२.९३ प्रतिशत लाभांश क्षमता रहेको तथ्यांकमा देख्न सकिन्छ। 

यसपछि नेपाल बैंकको वितरणयोग्य नाफा ३६ करोड ७५ लाख रुपैयाँ हुदा लाभांश क्षमता १० प्रतिशत, ग्लोबल आईएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ रहँदा ९.९६ प्रतिशत लाभांश क्षमता, प्राइम बैंकको वितरणयोग्य नाफा ६२ करोड ८६ लाख रुपैयाँ हुँदा लाभांश क्षमता ९.७८ प्रतिशत र नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ९४ करोड ६४ लाख रुपैयाँ हुदा लाभांश क्षमता ८.०७ प्रतिशत देखिन्छ। तर यसबाहेक लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा कम देखिन्छ। यसबाहेकका ६ वटा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ। वितरणयोग्य नाफा ऋणात्मक रहेका बैंकहरूमा क्रमशः सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, कुमारी, एनआईसी एसिया र सिद्धार्थ बैंक रहेका छन्। 

यसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको २ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक देखिन्छ। यसैगरी क्रमशः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८५ करोड ३२ लाख रुपैयाँ, हिमालयन बैंकको १ अर्ब ८५ करोड रुपैयाँ, एनआईसी एसिया बैंकको ९८ करोड ८२ लाख रुपैयाँ, र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक भएको वित्तीय प्रतिवेदनमा उल्लेख छ। तर सिटिजन्स बैंकको २३ करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक देखिए पनि यसको लाभांश क्षमता भने ३.३४ प्रतिशत छ। 

७ बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० प्रतिशत माथि

प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ। ईपीएस भनेको एक कित्ता सेयर बराबर कति रुपैयाँ कमाइ भयो भनेर हेर्नै परिसूचक हो। कम्पनीको ईपीएस जति बढी भयो त्यति राम्रो हो। यसर्थ चालू आवको पहिलो त्रैमासमा सार्वजनिक भएको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा बढी ईपीएस स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ। 

यसको ईपीएस ३५.११ प्रतिशत छ। यसपछि क्रमशः एभरेस्टको २९.१९, एनआईसी एसियाको २६.२८ र प्राइम कमर्सियल बैंकको २३.७४ प्रतिशत छ।  यसपछि राष्ट्रिय वाणिज्य र नबिलको २१ प्रतिशत हाराहारी छ। साथै एनएमबीको २०.९८ प्रतिशत छ। यसबाहेकका बैंकको ईपीएस २० प्रतिशतभन्दा कम रहेका छन्। सबैभन्दा कम लक्ष्मी सन्राइज बैंकको १.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।   

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा मुख्य बैंकहरूको नाफा नै घटेको छ। यस अवधिमा मात्रै समग्र वाणिज्य बैंकको नाफा १३ अर्ब ४७ करोड छ। जबकि पोहोर साल यही समयमा तुलनात्मक रूपमा बढी थियो। नाफा घटेपछि वितरणयोग्य नाफा घट्नु स्वाभाविक हो। यस्तो अवस्था आउनुको कारण निष्क्रिय कर्जा बढेर नै हो। यसपटक १६ अर्ब जति निष्क्रिय कर्जा बढेको स्थिति छ।
सुनील केसी, अध्यक्ष नेपाल बैंकर्स संघ (एनबीए) तथा प्रमुख कार्यकारी अधिकृत एनएमबी बैंक


वाणिज्य बैंकमा चुलियो खराब कर्जा
पछिल्लो समय वाणिज्य बैंकको खराबकर्जा झन् चुलिन थालेको छ। समग्र उद्योग तथा व्यवसाय चलायमान नहुँदा बैंकको किस्ता, सावाँ, ब्याज तिर्न हम्मे परेको गुनासो आइरहेको थियो। यो कुरा अहिले बैंकको वित्तीय अवस्थाले छर्लंग देखियो। 
किनभने बैंकहरूको खराब कर्जाको आकार बढेको छ। गत आवको असोज मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेर औसत ३.३९ प्रतिशत पुगेको छ। जबकि गत आवको सोही अवधिमा औसत १.६७ प्रतिशत थियो। सञ्चालित वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको  छ। 
यसको एनपीएल ५ प्रतिशत नाघेको छ। यस्तै, ५ बैंकको एनपीएल ४ प्रतिशतभन्दा बढी छ भने ३ प्रतिशत भन्दा बढी ७ वटा बैंकको एनपीएल छ। यस्तै, ३ बैंकको २ प्रतिशतभन्दा बढी र बाँकी तीनवटा बैंकको १ प्रतिशतभन्दा बढी एनपीएल छ। यसमध्ये सबैभन्दा निष्क्रिय कर्जा एभरेस्ट बैंकको छ। यस्को एनपीएल ०.९ प्रतिशत छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.