उद्धव थापाले दलको नेताबाट दिएको राजीनामा अस्वीकृत
विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ। राजीनामा अस्वीकृत भएसँगै उनी पुरानै जिम्मेवारीमा फर्किएका छन्।
थापाले गत असोज २८ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। सोमबार बसेको दलको बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो। दलको निर्णयपछि थापा जिम्मेवारीमा फर्किएका हुन्।
मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्किन आग्रह गरेका थिए। यसअघि कार्कीलगायत पार्टीको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधरले थापालाई राजीनामा गराउन ठूलो कसरत गरेका थिए। यसअघि दुईपटक प्रदेशको मुख्यमन्त्री बनेका थापाको सत्ता यात्रामा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदिएको थियो।
त्यसपछि गठबन्धनले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गर्यो। उक्त निर्णयविरुद्ध पार्टीका ८ जना प्रदेशसभा सदस्यसहित विद्रोह गरेका कांग्रेसको इतर पक्षका कार्की नेकपा (एमाले)समेतको समर्थनमा गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।
पार्टी र गठबन्धनको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै नैतिकताका आधारमा थापाले पदबाट राजीनामा दिएका थिए। तर, उनको राजीनामालाई दलको बैठकले स्वीकार गरेन। थापा नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन्।
उनलाई पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ थियो। थापाले पार्टीको केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि आफू जिम्मेवारीमा फर्किएको जानकारी दिए। प्रदेशको राजनीति ट्रयाकमा आइसकेको र दलको बैठकले पनि राजीनामा अस्वीकार गरेको अवस्थामा पुरानै जिम्मेवारीमा फर्किएको उनको भनाइ छ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईले पनि राजीनामा दिएका थिए। दलको बैठकले राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्किन दुवै जनालाई आग्रह गरेको छ। कार्की र राई पनि जिम्मेवारीमा फर्किएको थापाले बताए।