बैंकिङ क्षेत्र ‘स्वस्थ’

बैंकिङ क्षेत्र ‘स्वस्थ’
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बैंकरहरूले पहिलो त्रैमासिक अन्त्यसम्म नाफामा गिरावट आए पनि बैंकिङ क्षेत्र स्वस्थ रहेको दाबी गरेका छन्। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा नाफा घटेको भन्दै जानकारहरूले सो विवरणलाई ‘निराशाजनक’ भनेका छन्। तर, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू भने सो मान्न तयार नभएका हुन्।

कर्जा नोक्सानी प्रोभिजनले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटे पनि भविष्यका लागि राम्रो हुने तर्क बैंकरको छ। निष्क्रिय कर्जासँगै बैंकहरूको लोन लस प्रोभिजन बढ्नुको असर नाफामा परेको छ।

बैंकहरूले जुन मात्रामा लोन लस प्रोभिजन गरेका छन् र जुन स्तरको पुँजी कोष कायम गरेका छन्, त्यसले बैंकिङ क्षेत्र स्वस्थ नै रहेको संकेत गर्ने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउँछन्। राणा भन्छन्, ‘निष्क्रिय कर्जा पनि अब थप बढ्ने छैन, उल्टै म्यानेज हुनेछ।’ उनका अनुसार नेपालको अर्थतन्त्र दबाबमा रहेका कारण नेपाल राष्ट्र बैंक र बैंकहरूले कर्जा प्रवाहमा कडाइ गरेका हुन्।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी विश्वव्यापी रूपमा आर्थिक मन्दी, द्वन्द्व, निजी क्षेत्र सुस्ताउनुलगायतको कारणले बैंकिङ प्रणाली प्रभावित बनेको र परिणामस्वरूप बैंकको निष्क्रिय कर्जाको आकार बढेको बताउँछन्। केसी बैंकहरूको निष्क्रिय कर्जा बढेर उच्च बिन्दुमा पुगेको र अब विस्तारै व्यवस्थापन हुनेमा विश्वस्त छन्। उनले बैंकले कर्जा नोक्सानी प्रोभिजन १६ अर्ब छुट्ट्याएको बताए। उनले भने, ‘बैंकले प्रोभिजन छुट्ट्याए तर कर्जा प्रवाह बढाउन सकिएको छैन।’

उनका अनुसार चालू आर्थिक वर्षको कात्तिक १७ गतेसम्म वाणिज्य बैंकमा रहेको कुल निक्षेप १ खर्ब २० अर्ब  र कर्जा प्रवाह ८४ अर्बले बढेको छ। ‘हामीले अझै धेरै कर्जा प्रवाहको अपेक्षा गरेका थियौं तर हुन सकेन,’ केसीले भने।

वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जाको हिस्सा कुल कर्जाको औसत ३.०६ प्रतिशत हाराहारीमा छ। जबकि गत असारसम्म औसत २.९ प्रतिशत थियो। केसी भन्छन्, ‘खराब कर्जा बढ्नुको पृष्ठभूमि कोभिड हो। ‘हामीले कर्जालाई पुनर्संरचना गरेर ल्याएका थियौं, अब भने सजग भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ,’ केसीले भने, ‘पोर्टफोलियो डाइभर्सिफाइड हुँदा अहिले केही कर्जा डिफल्ट भए पनि खराब कर्जा नै हुने सम्भावना कम छ। डिफल्ट कर्जामा अहिले प्रोभिजन गरेर जाँदा भोलि रिकभरीसँगै राइटब्याक हुनेछ।’

वाणिज्य बैंकहरूको अघिल्लो आर्थिक वर्षको तुलनामा पहिलो पटक नाफा घटेको विवरण सार्वजनिक गरेका थिए। यसबीचमा बैंकहरूको खुद ब्याज आम्दानी बढेको छैन भने अन्य शुल्क तथा आम्दानी करिब एक अर्बले मात्रै बढेको छ।

यसैबीच जाजरकोट भूकम्पको लागि नेपाल बैंकर्स संघको आग्रहमा पाँच करोडभन्दा बढीको सहयोग गर्ने प्रतिबद्धता आएको बैंकर्स संघले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.