भूकम्प प्रभावितलाई डोल्पाबाट ३१ लाख ५५ हजार सहयोग
डोल्पा : हिमाली जिल्ला डोल्पाका सात स्थानीय तहले भूकम्प प्रभावित जिल्लाका लागि ३१ लख ५५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
गत शुक्रबार मध्यराती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित दुई जिल्लाका नागरिकको उद्धार,राहत र पुनःस्थापनाका लागि डोल्पाबाट मात्रै उक्त रकम सहयोग गरेका हुन्।
जसमध्ये सबैभन्दा पहिला ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढा आफैं प्रभावित जिल्ला जाजरकोट पुगेर पाँच लाख सहयोको घोषणा गरेका थिए।
छिमेकी जिल्लाका रुपमा रहेका रुकुम पश्चिम र जाजरकोटका लागि त्रिपुरासुन्दरी नगरपालिकाले सात लाख पचास हजार सहयोगको घोषणा गरेको छ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले पाँच लाख र जगदुल्ला गाउँपालिकाले पाँच लाख पाँच हजार एक सय एघार सहयोग घोषणा गरेका छन्।
त्यसैगरी काइके गाउँपालिकाले तीन लाख सहयोगको घोषणा गरेको छ। उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले तीन–तीन लाख सहयोगको घोषणा गरेका छन्।
जिल्लाका आठ मध्ये सातवटा स्थानीय तहले सहयोग गरिकेका छन् भने डोल्पोबुद्ध गाउँपालिकाले हालसम्म कुनै सहयोगको घोषणा गरेको छैन। सहयोग गर्ने सबै स्थानीय तहले विज्ञप्ती जारी गर्दै सहयोगको घोषणा गरेका हुन्।