जाजरकोट : पातलो प्लास्टिक (टर्नेल) को छाना। त्यही छानामुनि परालमा बसेर टोलाइरहेका दुई आमाहरू। सन्तान बियोगमा छटपटाउनेबाहेक उपाय छैन उनीहरूको। भेरी नगरपालिका–१ रावतगाउँकी दुई बहिनीले भूकम्पमा दुई÷दुई गरी चार सन्तान गुमाए। १७ कात्तिक मध्यरातको त्यो कहालीलाग्दो कालो रात सम्झेर अहिले पनि उनीहरू भक्कानिरहेका छन्। उनीहरूका आँखा ओभाएका छैनन्।
रुँदारुँदा थकित उनीहरूका अनुहार मलिन छन्। बारम्बार त्यही घटना सम्झेर झस्कन्छन्। भेरी नगरपालिका–१ रावतगाउँकी ३५ वर्षीया उर्मिला रावत र उनकी बहिनी चन्द्रकला परियारका चार सन्तान गुमे। उर्मिला त्यही घटना सम्झेर बेला–बेला झस्किन्छिन्, भक्कानिन्छिन्। दुई छोरा गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कोतिर उनी अहिले घरवारविहीन बनेकी छन्।
साहाराविहीन भएकी छन्। सडकमै रात बिताउने गरेकी छन्। उनका दुई छोरा ९ वर्षीय सुजन र २ वर्षको सुदानको घरभित्रै च्यापिएर ज्यान गयो। उर्मिला आफू पनि च्यापिइन्। छोरा बचाउन सकिनन्। ‘गहिरो निन्द्रामा थियौं एक्कासि के पड्केको जस्तो आवाज आयो’, उनले भनिन्, ‘त्यसपछि घर गरल्यामगुर्लुम ढल्यो। हामी सबै पुरियौं। त्यसपछि के भयो केही थाह पाइन्। एकैपटक अस्पतालको बेडमा भएको थाह पाएँ। छोराहरू खोजेँ, बेहोस होला कि भनेर होला सायद।
सुरुमा उपचार हँुदैछ भनेर मलाई झुक्याए। तर, आखिर घरमै पुरिएर मृत्यु भइसकेको रहेछ म अभागी के हेरेर बाँचांै।’ दुःखजिलो गरेर हुर्काएका छोराहरू लिने पापी दैवले मलाई किन बचाइस् भनेर गहभरी आँसु झार्दै उनले भनिन्, ‘न बस्ने बास छ, न खाने गाँस छ। साहूऋण गरेर विदेश गएका श्रीमान् फर्कन सकेका छैनन्। कम्पनीले आउन दिएको छैन।’ शोकको बेला श्रीमान्समेत घरमा नहुँदा उनलाई थप सास्ती भइरहेको छ। दुघर्टनामा बाँचेकी १३ वर्षीया छोरी समीक्षा मात्र साथमा छन्। उनलाई पीडामा साथ दिन बहिनी चन्द्रकला पनि सँगै आएकी छन्।
बहिनी चन्द्रकला पनि सन्तान वियोगकै पीडामा छन्। उनका ७ वर्षको छोरा विनय र ५ वर्षकी छोरी सम्झानाको मृत्यु भयो। त्यो दिन चन्द्रकला र उनका श्रीमान् ललित छोराछोरी ठूली आमाको घर सुत्न पठाएर आफूहरू रातिमा घट्ट पिस्न गए। भूकम्प आयो उनीहरूलाई केही भएन तर दुवै जना छोराछोरी घटनामा परे।
घर ढल्दा रुकुमपश्चिम ज्यामिरकोटबाट पाहुना आएका उर्मिलाका मामा शंकर मल्ल र काकी पदमी मल्लले पनि घटनामा परी ज्यान गुमाउन पुगे। एकै घरमा ६ जनाको मृत्यु भयो। उर्मिला र उनकी छोरी मात्र बाँच्न सफल भए। उनी अहिले पनि छोराहरूकै यादमा तड्पिरहेकी छन्। उनलाई त्यही घटनाले बारम्बार पछ्याइरहन्छ। उनले भनिन्, ‘श्रीमान् विदेश जाँदा लिएको ऋण तिर्न सकेका छैनौं। कम्पनीलाई यता आउनलाई २ हजार रिन्गेट माग्छ रे। म साहाराविहीन छु। घर पूरै भत्किसक्यो कहाँ बसुँ, कसरी बाँचु ?’, उनले भक्कानिँदै भनिन्।
उर्मिलाकी एक छोरी बाँचे पनि बहिनी चन्द्रकलाका भएका सबै सन्तान गुमे। चन्द्रकला र ललित दम्पती सन्तानविहीन हुन पुगेका छन्। केही बोल्नै सकिरहेका छैनन्। चन्द्रकला गला अवरुद्ध पार्दै भन्छिन्, ‘हे पापी दैव मेरा मुटुका टुक्रा किन खोसिस्। मैले तेरो के बिगारिदिएको थिएँ र ? तिहार मनाउने, रमाइलो गर्ने, देउसी खेल्ने भन्थे।
पढेर आमा बुवाको सेवा गर्ने अधुरो सपना बीचमै छोडेर गए। म के हेरेर बाँचु ?’ भविश्यका साहारा गुमाएर यसरी तड्पी तड्पी बाँच्नुभन्दा मै अभागीलाई लिएको भए हुन्थ्यो भन्दै उनी भावविह्ल भइन्। उनले भनिन्, ‘बाँचेर पनि मरेतुल्य भएकी छु। मेरो चित्त बुझाउने ठाउँ केही छैन। काख खोसिएकी यी दुई आमा आफैंलाई सम्हाल्न सकिरहेका छैनन्।’
उनीहरू मात्र होइन भेरी नगरपालिका ३ निवासी शोभा शाह सिंहले हुर्किएका दुई जना छोरी भूकम्पमा गुमाउनु पर्दाको पीडाले उनका आँखा अहिले पनि ओभाएका छैनन्। छोरी सम्झदै बलिन्द्र धारा आँसु बगाउनु उनको दिन चर्या जस्तै भएको छ। कसैले छोरीका कुरा गर्न थाले उनका आँखामा आँसुका धारा खस्न थालिहाल्छन्।
उनका २२ वर्षकी उपासना र २१ वर्षका ऊर्जा दुई छोरीले भूकम्पमा ज्यान गुमाएपछि सन्तान वियोगको पीडाले सताइरहेको छ। भेरी नगरपालिका–३ स्थित अन्टीको घरमा पाहुना गएका दिदी बहिनी भूकम्पले घर भत्काएर पुरेपछि उनीहरूको देहलिला त्यही समाप्त भयो। दुई छोरी गुमेपछि शोभाका जेठी छोरी र श्रीमान् यतिबेला निकै पीडामा छन्। उपासना बीबीएस सकेर रोजगारीको खोजीमा थिइन् भने कान्छी छोरी ऊर्जा १२ कक्षा सकेर विदेश जाने तयारीमा अंग्रेजी भाषा परीक्षा आईईएलटीएस समेत पास गरिसकेकी थिइन्।
लक्का जवान छोरीहरू गुमाउनु पर्दाको पीडाले सताइरहेकी शोभा भन्छिन्, ‘मेरो बाँच्ने आधार सबै खोसियो, हे दैव म अब कसरी बाँचु ?’ शोभाको बहिनी सुष्मा आरसीकी छोरी २२ वर्षीया मेरिना आरसीको पनि घटनामा परी मृत्यु भयो।
भर्खरै इन्जिनियर सकेर जागिर खाएर देशको सेवा गर्ने अठोट बोकेकी मेरिना भूकम्पमा परी सदाका लागि बिदा भएपछि आमा सुष्मा पनि विक्षिप्त अवस्थामा छन्। उनी आपंmै पनि घाइते भएर नेपालगञ्जमा उपचाररत छन्। घरले पुरेपछि घाइते भएकी सुष्मा आफंै अस्पतालको बेडमा छन्। उनलाई आफ्नो पीडाबोध एकातिर छ भने छोरी गुमेको पीडाले झन् पीडा थपेको छ।