राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिने बताएका छन्। उनले क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गर्ने  बताए।

टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको बताए। क्रिकेटको विकासका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए।

'सबैभन्दा पहिला तपाईँहरूलाई बधाइ छ। तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी-२० मा छनोट भएको छ। विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला,' प्रधानमन्त्री दाहालले भने।

उनले आफूले क्रिकेट हेर्दै आएको र नेपाली टीम 'बेस्ट' भएको बताए। 'क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ। यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ। खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो,' उनले भने।

उनले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने बताए। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाएर आम नेपालीको भावना सम्बोधन गर्ने उनले बताए। 'क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्छौं,' उनले भने।

उनले सरकारले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलाई भएको भन्दै आफूलाई नमीठो लागेको बताए। 'हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन्। त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी-२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ,' उनले भने।

कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए। 'यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं। कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको निर्माण प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ। सरकारको पहलप्रति आभारी छौं। बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.