विपद्मा विनाशकाले बुद्धि
२०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ। भूकम्प गएको पाँच दिन बितिसक्दा पनि सबै भूकम्प पीडितले त्रिपाल र राहत सामग्री पाउन सकेका छैनन्।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले १ सय ५३ जनाको ज्यानमात्र लगेन, १३ जिल्लाका ३५ हजार परिवारलाई घरबारविहीन बनायो। तर, आफ्ना प्रदेशका समेत नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विदेश भ्रमणमा व्यस्त छन्। प्रदेश राजधानी भएको जिल्ला दाङसहित रुकुमपूर्व, रोल्पा र प्यूठानमा भूकम्पले घर भत्किएका छन्। सरकारले भत्किएका घर पुनर्निर्माण तथा नागरिकको राहतमा कुनै योजना बनाएको छैन।
लुम्बिनी प्रदेशका भूकम्पले घरबारविहीन भएका नागरिक मात्र होइन, सिंगो देश नै रोइरहेको छ। तर, यो रुवाइ र पीडाले चौधरीलाई छोएन। उनी भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।
मुख्यमन्त्री चौधरी छिमेकी प्रदेशका परेको विपत्तिमा राहत, उद्धार पुनस्र्थापनको लागि सहयोग लिएर पीडितको घर आँगनमा पुग्नुपर्ने समय हो। देशमा यस्तो विपत्तिले आक्रान्त पारिरहेका बेला एउटा प्रदेशका जिम्मेवार नेतृत्व कसरी विदेश घुमफिरमा निस्कन सक्छन् ? यस्तै प्रवृत्तिले आम नागरिकको सरकार र राजनीतिक दलहरूप्रति वितृष्णा बढेको हो।
भूकम्पले देश रोइरहेको समयमा राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण गर्न लागेपछि चौतर्फी आलोचना भयो। आम नागरिकको मनोभावना बुझेर राष्ट्रपति पौडेल युरोप भ्रमण स्थगित गरेको भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडा पुगेर नागरिकलाई सान्त्वना दिन भ्याए। राज्यका प्रमुखहरू यस्तो विपद्को समयमा नागरिकको माझमा पुग्दामात्रै पनि उनीहरूमा मनोभावना बढ्छ।
यस्तो बेलामा देशै एक भएर विपद्को सामना गर्नुपर्ने हो। तर, कोशी प्रदेशलाई हेर्दा राजनीतिक दलहरू सत्ता केन्द्रित राजनीतिबाट माथि उठेर राष्ट्रिय विपद्मा समेत एक हुन सक्दैन भन्ने सन्देश बाहिरिएको छ। कोशीमा अझै पनि सत्ता राजनीतिमै राजनीतिक दलहरूको दौडधुप जारी छ। नेकपा एमालेले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री केदार कार्की एमाले सत्ताबाट बाहिरिएपछि पुनः विश्वासको मत लिने र संख्या पुर्याउने दौडधुपमा छन्। यो अवस्थामा सत्ता खिचातानीबाट माथि उठेर देशकै अर्को भागमा परेको पीडामा साथ दिन सक्नुपर्ने हो।
त्यसैले आम नागरिकको माझमा राजनीतिक नेतृत्वलाई सत्ताबाहेक अरू केही कुरामा चासो छैन भन्ने सन्देश गइरहेको छ। विपद्को समयमा आन्तरिक राजनीति र कलहबाट माथि उठेर विपद्को सामना गर्न सबै नेपाली एक हुनुपर्छ।