काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाको ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ बुधबारबाट सुरु भएको छ। कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएको जनाएको छ।
गत वर्ष तीन खेलमा प्रतियोगिता भए पनि यो वर्ष भलिबल र फुटबल खेलमा मात्र प्रतियोगिता हुने आयोजकले जनाएको छ। कराँतेतर्फ पुरुष र महिला दुबै खेल दोस्रो कपमा भने हटाइएको जनाएको छ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात गर्दै पालिकाले खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए।
स्थानीय सरकारले औपचारिकरुपमा खेलकुद क्षेत्रलाई विकास गर्न र खेल मार्फत राष्ट्रको लागि योगदान दिन सक्ने युवाहरु स्थानीय, प्रदेश हुँदै देश तथा अन्तराष्ट्रि तहसम्म खेल क्षेत्रमा प्रतिभा जन्माउनको लागि सरकारले खेल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थिङले बताए।
खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कारस्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए।
भलिबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन्।
प्रतियोगितामा फुटबलतर्फ ८ टिम र भलिबलतर्फ ५ टिमले सहभागिता जनाएको छ।
खेल नकआउट चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता गर्दा खेलाडीले स्थायी बसोबास गरेको परिचय खुल्ने कागजात (नागरिकता, मतदाता परिचयपत्र तथा खेलकुद विकास समितिको परिचयपत्र) आदि संलग्न राख्नु पर्ने आयोजकले जनाएको छ।
खेलकुद विकास समितिले एक विधामा खेल खेल्ने खेलाडी अर्को विधामा खेल्न नपाउने जारी सूचनामा उल्लेख गरिएको छ। यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गरिएको हो।