भूकम्प पीडितको बेदना

अब फेरि जानुपर्ने भो कालापहाड

जोगिएन घर, बाँकी रह्यो ऋण

अब फेरि जानुपर्ने भो कालापहाड

जाजरकोट/रुकुमपश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का डिल्लीबहादुर विकले नयाँ घर बनाए। भारतमा चौकीदारको काम गरेको पैसाले घर बनाउन पुगेन। चार वर्षअघि मात्र उनले आफन्त र छिमेकीसँग ऋण लिए। सडक छेउमै दुईतले घर बनाए। तर, उक्त घरमा बस्ने उनको धोको अधुरै रह्यो। शुक्रबार रातिको भूकम्पले घर भत्किएपछि विक परिवारको यतिबेला त्रिपालको बास हुन पुगेको छ। 

‘बल्लतल्ल नयाँ घर बनाएको थिएँ, चार वर्ष नपुग्दै भूकम्पले घर भत्कायो’, उनले भने, ‘परिवारलाई नयाँ घरमा बसाल्ने रहर अधुरै भयो, भारतको कोलकातामा चौकीदारी गरेर घर बनाउँदा लागेको ऋण तिर्ने योजना थियो। अब घर बनाउँदा लागेको ७ लाख ऋण कसरी तिर्ने ? सरकारले घर बनाउन सहयोग नगरे त परिवार नै लिएर कालापहाड जान्छु।’ बल्लतल्ल भागेर परिवारलाई जोगाए पनि घर बनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको उनले सुनाए। घर भत्किएर छाप्रामा बास भएको भन्दै उनले हालसम्म त्रिपालसमेत नपाएको दुखेसो पोखे।

सोही गाउँका खिमबहादुर रोकायले पनि घर निर्माण गरेको धेरै भएको छैन। साढे तीन वर्ष पहिले बनाएको उनको घर पनि भूकम्पले छियाछिया बनायो। घरमा बस्नै नमिल्ने भएपछि उनको परिवार यतिबेला बारीमा तरकारी लगाउन तयार पारिएको प्लास्टिकको टनेलभित्र बस्दै आएको छु। खिमबहादुर भन्छन्, ‘जीवनमा एउटा घर बनाउने हरेकको सपना हुन्छ, त्यही सपना पूरा गर्न मैले पनि दुःख गरेर घर बनाएको थिएँ। घर बनाउँदा बैंकबाट लिएको ८ लाख ऋण तिर्न बाँकी नै छ, अब कसरी बैंकलाई त्यो ऋण तिर्ने ?’ उनले भूकम्पका कारण घर पनि नजोगिएको र ऋण पनि तिर्न सक्ने अवस्था नरहेको सुनाए।

रुकुमपश्चिमका डिल्लीबहादुर विक र खिमबहादुर रोकायको मात्र पीडा होइन यो। जाजरकोटको नलगाड नगरपालिका–१ च्युराका दलजित विकको पनि सपना भूकम्पमा ढलेको छ। अर्थात् उनले बल्लतल्ल गत चैतमा मात्र नयाँ घर किनेका थिए। भारतमा मजदुरी गरेर कमाएको १ लाख ६० हजार रुपैयाँले गाउँमा किनेको घर गत शुक्रबार रातिको भूकम्पमा ढलेको हो। २०६६ सालमा गाउँमा फैलिएको हैजामा २ सन्तान गुमाएपछि उनी भारत हानिएका थिए। भारतमा नै अर्को छोरा जन्मिएपछि विक दम्पती १४ वर्षपछि गाउँ फिर्ता भएका थिए। दलजित भन्छन्, ‘हैजामा छोराछोरी गुमाएँ, अहिले भूकम्पमा पसिना बगाएको पैसाले बल्लतल्ल किनेको घर गुम्यो। मेरो सपना नै ढल्यो, अब नयाँ घर कसरी बनाउने ?’

जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण धेरै परिवार घरबारविहीन बनेका छन्। ऋण गरेर बल्लतल्ल घर बनाएका परिवार भूकम्पले घर भत्काएपछि अब नयाँ घर कसरी बनाउने भन्ने चिन्तामा छन्। सोही गाउँमा नरु चन्दको घर पनि भूकम्पले चिरा परेको छ। बस्नै नमिल्ले अवस्था भएपछि उनको परिवार बारीमा खुला आकाशमुनि बस्दै आएको छ। उनले भने, ‘यही घर पनि पसिना बगाएर बनाएको हो, अब उमेर ढल्किँदै गएको छ। आफ्नो तागतले अब नयाँ घर बनाउने सम्भावना छैन, भोलिका दिनमा छोरानातिले बनाए भने बेग्लै हो।’

भूकम्पका कारण पुराना मात्र नभई नयाँ र पाँच वर्ष पनि नपुगेका घरहरू भत्किएका छन्। कतिपय परिवारले हालै बनाएका र बस्न नपाउँदैका घरहरू पनि भत्किएका छन्।

घरबास गुमेपछि कालापहाडको यात्रा

भूकम्प प्रभावित अधिकांश परिवार भारतमा मजदुरी गरेर छाक टार्दै आएका छन्। भूकम्पले घरबास गुमेपछि गाउँका अधिकांश परिवार भारततर्फ (कालापहाड) लाग्ने तयारीमा छन्। घर बनाउँदा लागेको ऋण तिर्न नपाउँदै धेरैका घर भत्किएपछि गाँस र बासको जोहो गर्न आफूहरू कालापहाडतर्फ जाने योजनामा रहेको पीडितले बताएका हुन्।

अब आफूहरूले घर बनाउन सक्ने अवस्था नरहेको भन्दै सरकारले सहयोग नगरे गाउँ नै छाडेर भारततर्फ जाने मनस्थितिमा पुगेको रुकुम आठबिसकोट नगरपालिका चौरका डिल्लीबहादुर विकले सुनाए। ‘गाउँमा उत्पादन पनि धेरै हुँदैन, भएको घर पनि भूकम्पले भत्कायो’, आठबिसकोट नगरपालिकाको रिठ्ठे गाउँका ललित शाहीले भने, ‘यसरी त्रिपालमा कहिलेसम्म रात बिताउने ? परिवारलाई घरभित्र बसाल्ने क्षमता अब छैन। दुःखजिलो गरेर बनाएको घर जोगिएन, अब ज्यान पाल्न कालापहाड नै जानुपर्ला।’

स्थानीय नरु चन्दले आफूहरूको आम्दानीको स्रोत खेतीपाती भए पनि उत्पादन राम्रो नहुने बताए। यसकारण गाउँका अधिकांशले भारतका विभिन्न सहरमा मजदुरी गरेर गाउँमा परिवार पाल्दै आएका छन्। बस्नलाई ओत लाग्नकै लागि अधिकांशले ऋण सापटी गरेर घर बनाएको भन्दै उनले त्यो पनि यसपालिको भूकम्पले भत्काएपछि धेरै परिवारको बिचल्ली भएको सुनाए। भत्काएका घर बनाउन सक्ने क्षमता नभएकाले पनि सरकारले घर बनाउन र चर्किएका घर निर्माणमा सहयोग नगरे गाउँलेहरू कालापहाड नै जाने अवस्था आउने उनको भनाइ छ। 

धराप बने चर्किएका घर 

भूकम्पका कारण रुकुमपश्चिम र जाजरकोटमा हजारौंको संख्यामा घरहरू चर्किएका छन्। बाहिरबाट झट्ट हेर्दा सिंगो देखिए पनि प्रायः घरहरू चर्किएका छन्। अधिकांश घरहरू चिरा परेका छन्। भूकम्पमा ढलेका घरहरू उत्खनन हुन थालेका छन्। तर, पूरै नत्किएका, ठाउँ–ठाउँमा चिरा परेका र अधिकांश स्थानमा चर्किएका घरहरू भने धराप बनेका छन्। अर्थात् यस्ता घरमा न त स्थानीयहरू बस्न सकेका छन्, न त घरभित्र पसेर सामान निकाल्न नै। 

बारम्बार भूकम्पका परकम्पहरू आइरहेका कारण पनि सर्वसाधारणहरू चर्किएका घरमा बस्न सकेका छैनन्। रुकुमपश्चिमको आठबिस नगरपालिकाका सुवाश केसीले भने, ‘भूकम्पले पूरै घर भत्किएकाहरू त त्रिपालमा बस्न थालेका छन्, उनीहरूलाई सरकारले पनि राहत दिने लिस्टमा राखेको छ। तर, हाम्रो जस्तो घर चर्किएका र चिरा परेकाहरू हिजोआज तनावमा छौं, कुनै पनि बेलामा भत्किने त्रासका कारण हामीहरू पनि घरभित्र बसेका छैनौं।’ उनले चिरा परेका र चर्किएका घरहरू भत्किने त्रासका कारण आफूहरू पनि खुला स्थानमा नै रात कटाउन बाध्य भएको सुनाए।

स्थानीय शमशेर चन्दले आफूहरूले त्रासका कारण घरभित्रको सामान पनि बाहिर निकाल्न नसकेको बताए। घर भत्किने डरका कारणभित्र पस्न नसकेको भन्दै उनले भने, ‘हाम्रा घर त धराप भए, कतिबेला भत्किने हुन् टुंगो छैन। तर हाम्रो पीडा कसैले सुनेका छैनन्, चर्किएका र चिरा परेका घरलाई हेर्न कोही पनि आएका छैनन्।’ चर्किएका, चिरा परेका र आधा भाग भत्किएका घरहरू बस्न लायक नभएको भन्दै उनले यस्ता घरहरू पुनर्निर्माणमा सरकारले सहयोग गर्नुपर्ने बताए। सरकारले घरमात्र निर्माण गरिदिए खानाको जोहो आफूहरूले नै गर्ने पीडितहरूको भनाइ छ। यसका लागि सरकारले नै घर निर्माण गरिदिनुपर्ने उनीहरूको माग छ।

भूकम्पले कहाँ कति घर भत्किए ?

जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट २० हजारभन्दा धेरै घर भत्किएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको प्रदेश विपद् व्यवस्थापन केन्द्रका अनुसार भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी २० हजार १ सय २४ घरमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार जाजरकोटमा पूर्ण र आंशिक क्षति गरी ८ हजार ३ सय ३६ भत्किएका छन्। जाजरकोटमा मात्र १ हजार १ सय ७० वटा घर पूर्णरूपमा भत्किएका छन्।

यस्तै रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी ११ हजार ७ सय ८८ वटा घरमा क्षति पुगेको छ। केन्द्रका अनुसार रुकुमपश्चिममा भने ५ हजार २ सय ३६ वटा घर पूर्णरूपमा भत्किएका छन्। यस्तै जाजरकोटमा ७ हजार १ सय ६६ वटा र रुकुमपश्चिममा १ हजार ७ सय ९२ वटा घर आंशिक रूपमा भत्किएका छन्। सामान्य क्षतितर्फ रुकुमपश्चिम ४ हजार ७ सय ६० वटा घर छन् भने जाजरकोटको सामान्य क्षतिको तथ्यांक संकलन भएको छैन। जाजरकोटमा भत्किएका घरहरूको तथ्यांक संकलनको काम जारी भएकाले कम देखिएको हो। 

रुकुमपश्चिममा भने लगभग क्षतिको विवरण संकलन भएको छ। रुकुमपश्चिममा सबैभन्दा धेरै घर सानीभेरी गाउँपालिकामा भत्किएका छन्। जहाँ पूर्णरूपमा क्षति हुने घरको संख्या २ हजार ९ सय ८० छ। यस्तै आंशिकमा ४ सय ९३ वटा र सामान्यमा ५० वटा घरमा नोक्सान पुगेको छ। यस्तै आठबिसकोट नगरपालिकामा १ हजार ५० वटा, आंशिक क्षतिमा १ हजार ५ सय १० र सामान्य क्षतिमा १ हजार १ सय ७६ वटा घर छन्। यसैगरी जाजरकोटमा सबैभन्दा बढी घर भेरी नगरपालिकामा भत्किएका छन्। यद्यपि जिल्ला सदरमुकामसमेत भएको नगरपालिका भएकाले यहाँ घरको क्षति सुरुमा एकिन भएकाले संख्या बढी देखिएको अनुमान गरिएको छ। 

यो समाचार तयार पार्दासम्म भेरी नगरपालिकामा ३ सय ४४ घरहरू पूर्णरूपमा भत्किएको र ७ सय १२ वटा घरमा आंशिक क्षति पुगेको छ। त्यसपछि जुनीचाँदे गाउँपालिकामा पूर्णक्षति भएका घरको संख्या २ सय ७० र आंशिक क्षतिमा ४ हजार ४ सय ५६ तथा नलगाड नगरपालिकामा पूर्णक्षति भएका घरको संख्या २ सय र आंशिक क्षति भएका घरको संख्या ६ सयवटा भएको प्रदेश विपद व्यवस्थापन केन्द्रले जनाएको छ। यद्यपि जाजरकोटमा भत्किएका घरको विवरण संकलन बाँकी नै रहेकाले यो संख्या अरू बढ्ने बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.