कास्की समूह विजेता, बागलुङ बाहिरियो
बागलुङ : बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी २० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै कास्की अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार बिहान समूह ए को अन्तिम खेलमा आयोजक बागलुङ क्रिकेट संघलाई ९ विकेटले पराजित गर्दै कास्की जिल्ला क्रिकेट संघ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । बागलुङले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ ।
४४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले ५.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । कास्कीको लागि किरण पौडेलले २८ रनको अविजित इनिङ खेले । मुस्कान थापाले ९ रन बनाए । बागलुङको लागि अस्विन थापाले १ विकेट लिए ।
त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागलुङले ११.३ ओभरमा ४४ रनमा अलआउट भयो । बागलुङको लागि सन्देश खड्काले ८ रन, विश्व कार्की र लक्की सापकोटाले ६–६ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानको सम्झना लायक प्रदर्शन रहेन ।
बागलुङका पाँचजना खेलाडीले रनको खाता समेत खोल्न सकेनन् । बागलुङलाई सस्तैमा समेटन् कास्कीका कप्तान विपिन खत्रीले ३.३ ओभार ८ रन खर्चेर ५ विकेट लिए । कृष्ण पौडेलले ३ विकेट लिए । कास्कीको जितसँगै पर्वत जिल्ला क्रिकेट संघ समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिले खेलमा बागलुङलाई हराएको पर्वतले दोस्रो खेलमा कास्कीसँग पराजित व्यहोरेको थियो । समूह चरणका दुई खेलमै पराजित भएको बागलुङले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा समूह बी को विजेता र उपविजेताको लागि आज दिउँसो स्याङ्जा र नवलपुरबीच प्रतिस्पर्धा हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए । समूह बी बाट तनहुँ दुई खेलमा हार व्यहोर्दै बाहिरिसकेको छ ।