छाडा चौपाया नमुना व्यवस्थापन
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले थोरै रकममा १५ सय छाडा पशु चौपायाको व्यवस्थापन गरेको छ। नगरपालिकाका भित्रका पाँच स्थानमा स्थानीय सामग्री प्रयोग गरेर गौशाला निर्माण गरिएका छन्।
गाईले दूध दिँदासम्म दुहुने र थाकेपछि सडकमा ल्याएर छोडिदिने चलनले एक पटक पूर्वपश्चिम राजमार्ग आसपासका जनता हैरान थिए। छाडिएका चौपायाका कारण दुर्घटना पनि उत्तिकै हुने, किसानले खेतीपाती जोगाउन जाग्राम बस्नुपर्ने समस्याले नगरपालिकामा भने नमुनाका रूपमा व्यवस्थापन सुरु भएको छ।
पशु चौपायाको मलसँग पराल साट्ने गरिएको छ। नगरपालिकाले वडा नम्बर १ को निगाली, २ को बनारा र गडमिल्ला, ४ को किचाई र वडा नम्बर ५ को वनदेवीमा गौशाला निर्माण गरेर पशु चौपायाको व्यवस्थापन गरेको हो। वडा नम्बर ४ मा रहेका ग्वासी समैजी गौशालाका संयोजक भक्तबहादुुर खडकाले एक वर्षमा गाईगोरुको राम्रो व्यवस्थापन भएको बताए।
वडा नम्बर ४ को किचाई भन्ने स्थानमा अहिले दुई ठाउँमा गोबर मलको थुप्रो लागेको छ। पाँच सय गाईगोरुको एक वर्षको मल अब पाकेर बिक्री गर्ने अवस्थाको भएको छ। ‘एक ट्याक्टर ट्रली मल बराबर एक ट्याक्टर ट्रली पराल लिने गरेका छौं। गाउँमा जग्गा भाडामा लिएर खेती गर्नेहरू, तरकारी खेतीमा लागेकाले मलसँग पराल साटने गरेका छन्,’ खड्काले भने।
कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्गको साढे १३ किलोमिटर क्षेत्र कृष्णपुर नगरपालिकामा पर्छ। गत वर्षको लक्ष्मीपूजाका दिनदेखि थालिएको पशु चौपायाको व्यवस्थापनको कार्य, एक वर्ष नपुग्दै नमुना बनेको छ। गौशालामा गोबर मलको चाङ लागेको छ। एक ट्र्याक्टर ट्रलीको पाँच हजार रुपैयाँका दरले गोबर मल पनि बिक्री हुन थालेको छ।
सडक दुर्घटना र बालीनाली नष्ट हुने कार्यबाट छुटकारा पाएपछि स्थानीय पनि नगरपालिकाको यस कार्यप्रति खुसी भएका छन्। ‘सडक आसपासका जनता छाडा पशु चौपायाका कारण हैरान थिए। खेती जोगाउन जाग्राम बस्नुपर्ने, सडक दुर्घटना पनि उत्तिकै हुने समस्या थियो। राजमार्ग आसपासका पसलमा पनि तरकारी खाइदिने, सडक फोहोर हुनाले स्थानीयहरू ठूलो समस्यामा थिए। गाईगोरुको व्यवस्थापनले सबैलाई आराम भएको छ।’, स्थानीय शिक्षक दीपकसिंह भण्डारीले भने।
नगर कार्यपालिकाले छाडा पशु चौपाया व्यवस्थापनको निर्णय गरेसँगै सबै वडाध्यक्ष पनि खटिएर लागे। फरक पार्टीहरूबाट निर्वाचित भएर आएका जनप्रतिनिधि पनि छाडा चौपाया व्यवस्थापनमा एकजुट भएकाले यस्तो नमुना व्यवस्थापन भएको हो। वडा नम्बर २ का अध्यक्ष अर्जुनसिंह साउद भन्छन, ‘हामी जितेपछि कार्यपालिकाले सबैभन्दा पहिला चौपाया व्यवस्थापनमा लाग्ने प्रण गर्र्यौें’ उनले भने।
वडा नम्बर ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले अहिले गौशालामा गाई छोड्न आउनेलाई ११ सय रुपैया रकम दिने गरेको बताए। समुदायलाई गौशालाको आजीवन सदस्य बनाएका छौं। एक आजीवन सदस्यले ११ सय रुपैया दिन्छन्, त्यो रकमले गाईगोरु व्यवस्थापन, घाँस परालको व्यवस्थापन गरिन्छ,’ उनले भने।
उनले वडानम्बर ४ ले केही सातामा ‘गाई कथा’ महायज्ञ लगाउने तयारी गरेको बताए। ‘गाईको महŒव, बहुगुणी गाईलाई दूध खाएर छोडे के हुन्छ ? भन्ने कुराको ज्ञान दिनका लागि महायज्ञ आयोजना गरिन लागेको हो,’ वडाध्यक्ष सिंहले भने, ‘यस यज्ञबाट गाई छोड्ने क्रम कम होस् भन्ने चाहना हो।’
नगरपालिकाले बनाएका पाँच गौशालाका लागि गत वर्षको बजेटबाट २५ लाख रुपैयाँमात्र खर्च गरेको थियो।