एस्टोनिया पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय राजेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
ठगी गरेको आरोपमा ५ जना पीडितले प्रहरीमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका श्रेष्ठले पीडित जनक बरालसमेत पाँचजनालाई वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइ दिने बहानामा प्रतिव्यक्तिबाट सात लाखका दरले ३४ लाख १३ हजार रुपैयाँ लिएर फरार भएका थिए।
काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।