घरजस्तै मन पनि सफा राखौं

घरजस्तै मन पनि सफा राखौं
सांकेतिक तस्बिर।

रमाइलो र उत्साह। अनि, खुसी साटासाट गर्ने पर्व तिहार नेपालीहरूको घरआँगनमा आइसकेको छ। सुख रात्रि भनिने विशेष औंसी लक्ष्मीको पूजा गर्दै दीपमालिका गर्ने हिन्दु परम्परा सायदै अन्यत्र होला। बत्ती बाल्ने हाम्रो संस्कार हो। फूलैफूलले घर आँगनी, कोठा चोटा, भकारी, पसल, उद्योग, वाहनमात्रै नभएर उद्योगस्थलहरू सजिसजाउ गर्दै धनलक्ष्मी, यशलक्ष्मी, कीर्ति लक्ष्मी, भाग्यलक्ष्मी, वैभवलक्ष्मी भिœयाउने चाड पनि हो यो। वर्षभरिको दोस्रो ठूलो चाड यमपञ्चकका रूपमा यमका प्रतीक काग, कुकुर, गाई, गोवद्र्धन भनौं गोरु र दाजुभाइको पूजा गरिन्छ। द्यौसी भैलोको परम्परा, कार्तिक शुक्लप्रतिपदा नेवारी समुदायमा म्हःपूजा र नेपाल सम्बत् भनौं नयाँ क्यालेन्डरको सुरुवात अनेकानेक पर्वहरू तिहारमै पर्छन्। 

तिहारमा निकै प्रयोग हुने चिनीको हाहाकार छ। चिनी बिना सेल, रोटी अनरसा कसरी गुलियो होलान् ? तिहार भनेको फूलको चाड पनि हो। फूलको महŒव शब्दले वर्णन गर्नै सकिन्न। कुनै पनि हर्षको काममा फूल नभई हुन्न। पूजाआजा, विवाह, उत्सव, गाडी, घर सजाउनेदेखि मरणोपरान्त पनि फूलैफूलले सजाउने गरिन्छ। कालका प्रतीक यमपूजा भनौं यमपञ्चकभरि नै अत्यधिक फूलको प्रयोग हुन्छ। फूलमा हामी आत्मनिर्भर हुन सक्छौं। त्यसो त हामी जीउको जनै पनि आयात नै गर्छौं, तिहारको भाइ मसला होस् वा माघको तरुल, तीजका सरसामग्री पनि हामीले ल्याउने विदेशबाटै हो। अर्थतन्त्रमा पराधीन हामी आयातीत सरसामानबाट बाँच्न र रमाउन पनि अभ्यस्त भइसकेका छौं र त देशलाई खर्बौं खर्बको व्यापारघाटा छ, विदेशी ऋण पनि। केही समययतादेखि हाम्रा किसानहरूले फूलको व्यावसायिक खेती पनि गरिरहेका छन्। पुष्प प्रदर्शनीमा विगतझैं यतिबेला पनि एक करोडको व्यापार भएको छ। देशैभरि फूल उत्पादनमा साढे ६ अर्बको लगानी रहेको फ्लोरिकल्चर एसोसियसनले जनाएको छ। फूल, रङ, भाइमसला, कपडाहरूमा अत्यधिक भाउ वृद्धिले भने उपभोक्ताहरू बढी चिन्तित छन्। धानिसक्नु छैन बजार, नियन्त्रण गर्ने निकाय मौनजस्तै छ।

तिहारमा कुबेरको पूजा हुन्छ, कुबेर धनका प्रतीक हुन्। तेलको चाड पनि हो तिहार। तर, यसको भाउ पनि अधिक छ। तेलमा लक्ष्मीको बास हुने मान्यताअनुसार बत्ती बालेर दीपावली गर्ने गरिन्छ। प्लास्टिकका फूलहरू अनि बिजुलीको उज्यालोभन्दा यो बढी राम्रो हुन्छ। तिहारमा द्यौसी, भैलो पनि बढी व्यावसायिक बन्न थालेका छन्। त्यसैले लक्ष्मीको दुरुपयोग हुने गरी अनावश्यक खर्च र भड्किलो बनाउन थाल्यौ भने तिहारको मौलिकता गुम्न सक्छ। 

गाईको गोबरमा लक्ष्मी बस्ने मान्यताअनुसार तिहारमा रातोमाटोसहित गोबरले घर लिप्ने, चोख्याउने परम्परा छ। दिदीबहिनीहरूले आफू देवी यमुना समान भई दाजुभाइलाई यमको प्रतीक मान्दै पूजा गर्नाले दाजुभाइको रक्षा हुने शास्त्रीय मान्यता छ। गोवद्र्धन पूजाले गोरक्षा र कृषि कर्ममा लाग्न प्रेरित गर्छ। गाईको पूजा आमाकै पूजा हो, पृथ्वीको पूजा हो जहाँ हामी जन्म लिन्छौं, हुर्कन्छौं र बिदा पनि यसै माटोमा हुने हो। काग, कुकुरको पूजाले सबै प्राणीप्रति सहृदयी बन्न सिकाइएको हो। यमराजको वाहन दुई कुकुरका नाम श्याम र सबल हुन्। शास्त्रको भनाइमा, उनीहरूकै प्रतीक मानेर यम वाहनको पूजा गर्नाले मरेपछि मानिस यमलोक जानु पर्दैन भन्ने हो। तिहार सफाइ अभियानको पर्व पनि हो। फोहोर, दुर्गन्धित क्षेत्रमा लक्ष्मी बस्दिनन्। बाह्यमात्रै होइन भित्री मन पनि निर्मल हुनुपर्छ मानिसको। कलुषित मनले गरेको पूजा वा कुनै समाज सेवाको अर्थ रहन्न। स्वच्छ र हराभरा वातावरणमै एक अर्कामा खुसी साटासाट गर्दा पर्वको महत्त्व पनि बढ्छ र  व्यक्ति, समूह, समुदाय र देशैभरि लक्ष्मीको बास पनि हुन्छ। 

दाजुभाइहरू बढी बौद्धिक भई संसारमा स्थापित हुन् र ज्ञान, विज्ञानको विवेकी प्रयोगले बुद्धत्व प्राप्तिसम्ममा सफल हुन् भनी कामना गरिन्छ  तिहारमा। रंगीन फूलहरूको माला सजाएर समाज उपयोगी, कलात्मक, रंगीन जीवननिर्वाह गर्न प्रेरित गरिन्छ र ओखर फुटाएर घटना, दुर्घटना, यमको भय दूर गर्ने प्रयास गरिन्छ। दिदीबहिनीहरूको आशीर्वाद र दाजुभाइहरूको मनोरम पूर्तिको असल नमुना चाड तिहार विशेषले आपसी कटुतालाई बिर्साएर आत्मउन्नति र स्वाभिमान, एवं सर्वकल्याणका लागि प्रेरित गर्छ।  तिहारमा देवीलक्ष्मीको उपासना गरिन्छ। सक्रिय जीवनमै लक्ष्मीको बास हुन्छ। मनको सफाइ भनेको सत्संग, सत्य वाणी  र अध्ययनशीलता नै हो।  लक्ष्मीको चर्चा गर्दा यिनका मुख्य दुुई रूप छन्। एउटा हो भौतिक रूप, अर्को हो आध्यात्मिक वा दैवीस्वरूप। भौतिक रूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन्। दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन्। उपभोगले मात्र हेर्दा लक्ष्मीको सदुपयोग हुन्न। धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन्।  यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्नदेऊ  भनी नीतिकारहरूले भनेका छन्।

लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ। उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मीखुसी हुन्छिन्। केवलपूजाले मात्रभन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा असहाय, दीनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ। आनन्द प्राप्तिको लागि लक्ष्मीको आध्यात्मिक एवं दैवीस्वरूपलाई बुझ्नुपर्ने हुन्छ। घर सजाएजस्तै हामीले मन पनि सजाउन जरुरी छ, खुसी र आनन्दित अनि उपकारी मनले गरेको प्रण, पूजा, प्रतिज्ञाले सार्थकता पाउँछ। झुट बोल्नु हुन्न, यसमा लक्ष्मी खुसी हुन्नन्। 

छल र झुटमा लक्ष्मी बस्नै सक्दिनन्। धन, आयु, कीर्ति, यश चाहनेले देवी लक्ष्मीको उपासना सधैं गर्नुपर्छ। कहिले पनि मांस, मदिरा, जुवा, चोरी, हिंसा राम्रो होइन। पटाका पनि राम्रो होइन। यसले ध्वनि प्रदूषण र यसमा भएको केमिकलले स्वास्थ्यमा नराम्रो हानि गर्दछ। हिजोआज सारा संसार बिरामी छ हाम्रो रहनसहन, खानपिन बसउठ राम्रो नभएर, प्रकृतिप्रेमी हुन बिर्सेर धर्तीप्रति अन्याय गरेर यस्तो भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.