नारायणी रंगशालालाई राष्ट्रिय गौरवको योजनामा नराखे आन्दोलनमा उत्रने चेतावनी
वीरगन्ज : वीरगन्जमा रहेको देशकै दोश्रो ठूलो नारायणी रंगशालााई संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा नपारेकोमा पूर्व वनमन्त्री तथा प्रतिनिधी सभा सदस्य(सांसद) प्रदीप यादवले आपत्ती जनाएका छन्।
बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय गरेको थियो।
उक्त निर्णय सार्वजनिक भएपछि शुक्रबार पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले संघीय सरकारले नारायणी रंगशालालाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई पत्र नै लेखेर सांसद यादवले काठमाडौंको दशरथ रंगशालासँगै निर्माण गरिएको नारायणी रंगशालालाई पनि राष्ट्रिय गौरबको योजनामा समावेश गरेर जीर्णोद्वार गर्न संघीय सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा सांसद यादवले लेखेका छन्, 'मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा धन्यवाद दिन चाहन्छु तर वीरगन्जको ऐतिहासिक नारायणी रंगशालासँग विभेद किन ? काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको नारायणी रंगशाला अझै पुनः निर्माणको लागि सरकारको पर्खाइमा छ। नारायणी रंगशालाले एउटा आधुनिक एंव व्यवस्थित रंगशाला बन्न सक्ने सामर्थ्य राखेको छ। मधेस प्रदेशको पुरानो एंव व्यवस्थित रंगशाला किन संघीय सरकारको नजरमा पर्न सकेन ?'
विभिन्न कालखण्डमा फुटबल, क्रिकेट लगायत खेलकुदसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर कैयँन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको नारायणी रंगशाला मर्मतसम्भार र संरक्षणको अभावमा वर्षौदेखि जीर्ण अवस्थामा पुग्दापनि सरकारको नजरमा पर्न नसकेको भन्दै सांसद यादवले दुःख व्यक्त गरेका छन्।
प्रतिनिधी सभा बैठकमा यस विषयमा आँफूले पटक पटक आवाज उठाँउदासमेत सरकारको ध्यान किन पुगेन ? भन्दै उनले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न पनि गरेका छन्।
२०४२ सालमा वीरगन्जवासीकै अग्रसरता र लगानीमा निर्माण गरिएको नारायणी रंगशाला अहिले जीर्णद्वारको पर्खाइमा रहेको बेलामा बिहीबार संघीय सरकारको निर्णयले सम्पूर्ण वीरगन्जबासीलाई दुःखित तुल्याएको सांसद यादवको कथन छ। सरकारको यस व्यवहारबाट वीरगन्जबासी रुष्ट बनेको भन्दै उनले नाारायणी रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा सरकारले फेरि वीरगन्जसँग विभेद गरेको वीरगन्जबासीले महसुस गरिरहेको सांसद यादवले प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
तसर्थ संघीय सरकारलाई आफ्नो निर्णय सच्याउँदै नारायणी रंगशालाको जीर्णोद्धार गर्न यसलाई पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सांसद यादवले प्रधानमन्त्रीसँग माग गरेका छन्। अन्यथा नारायणी रंगशालाका लागि वीरगन्जबासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।
यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि वीरगन्ज फेरि संघीय सरकारको विभेदमा परेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै मेयर सिंहले लेखेका छन्, 'संघीय सरकारको कोप भाजनमा परेको वीरगन्ज फेरि पनि विभेदमा परेको छ।' सरकारले नारायणी रंगशालालाई राष्ट्रिय गौरवको योजनामा नसमेट्नु दुखद् मात्रै नभइ भर्त्सनायोग्य कार्य रहेकोले त्यसलाई तुरुन्त सच्याउन माग पनि गरेका छन्।
शुक्रबार प्रतिनिधी सभा सदस्य प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डलाई इमेलमार्फत पठाएको ध्यानाकर्षण पत्र।