वीरगन्जमा आठ लाख मूल्य बराबरको पटाका नष्ट
वीरगन्ज : वीरगन्जमा प्रहरीले बरामद गरेको पटाका र पटाकाजन्य पदार्थहरु खाल्डोमा पुरेर नष्ट गरेको छ। वीरगन्जको विभिन्न स्थानबाट बरामद गरिएका पटाका र पटाकाजन्य विस्फोटक पदार्थहरू शुक्रबार प्रहरीले नष्ट गरेको हो।
शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा पछाडि रहेको पोखरीको डिलमा खाल्डो खनेर विभिन्न मितिमा विभिन्न स्थानका प्रहरी युनिटहरूले पक्राउ गरेको पटाका, आतिशबाजी र विस्फोटक पदार्थहरू नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
थापाका अनुसार नष्ट गरिएको पटाका लगायतका सामग्रीको बजार मूल्य झन्डै आठ लाख रुपैयाँ रहेको छ। चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाई ल्याइएको तथा बेवारिसे अवस्थामा समेत बरामद गरिएको पटाका लगायतका सामग्रीहरू नष्ट गरिएको थापाले बताए।