छेकम्पारको बुद्ध प्राविमा खेताला शिक्षक
गोरखा : चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित वुद्ध आधारभूत विद्यालयका स्थायी शिक्षक दोर्जे छेदेन लामाले आफ्नो सट्टामा खेताला शिक्षकलाई पढाउन पठाई आफू विद्यालय नजाने गरेको पाइएको छ। आरुघाट गाउँपालिका मान्बुकी मञ्जरी गुरुङलाई खेतालाका रुपमा विद्यालय पठाएर उनी काठमाडौँतिरै व्यवसाय गरेर बस्ने गरेका हुन्।
विगत छ महिनादेखि खेताला शिक्षकलाई पढाउन पठाउने गरेका व्यवस्थापन समितिका अध्यक्ष लाक्पा नोर्बु लामाले जानकारी दिए। ‘एकजना मिसलाई पढाउन पठाउने गर्नु भएको छ। कुन नियम, कानूनअनुसार खेताला शिक्षक राख्नु भएको हो थाहा छैन,' अध्यक्ष लामाले भने, ‘हामी नियम कानुन नजानेका मान्छे धेरै बोल्न पनि मिल्दैन। उहाँहरु पढेलेखेको हुनुहुन्छ। नियम कानून धेरै जान्नु भएको होला। हामी अध्यक्षचाहिँ स्यालजस्तो हो, उहाँहरुचाहिँ बाघजस्तो हो। हामी अध्यक्षचाहिँ नोकरजस्तो हो, उहाँहरुचाहिँ मालिकजस्तो हो। यस्तो गर्न पाइँदैन भन्दाखेरि पोहोर मसित ठूलै झगडा भयो। नियम कानुन जानेको मान्छेसंग हामी कालो अक्षर भैँसी बराबर भएको मान्छे बोल्न पनि डर मान्नुपर्ने अबस्था छ।’
विगत डेढबर्षअघि काजमा सो विद्यालयमा आएका शिक्षक लामाले ६ महिना अघिदेखि खेताला शिक्षक राखेका हुन्। त्यसअघि आफू पनि विद्यालय नजाने र खेताला शिक्षक पनि राख्ने गरेका थिएनन्। स्थानीयले कि आफू आउनुपर्ने, कि सट्टामा अर्को शिक्षक खटाउनु पर्ने भनेर विरोध गरेपछि उनले खेताला खोजेर पठाउन थालेका विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
विगत २७ वर्षदेखि अस्थायी सेवामा रहेका लामा २०६१ सालमा स्थायी नियुक्त भएका हुन्। यसअघि छेकम आधारभूत विद्यालयमा रहेका उनलाई त्यहाँ विद्यार्थी न्यून भएकाले गाउँपालिकाले दरबन्दी मिलान गरी डेढबर्षदेखि गाउँ शिक्षा कार्यालयले वुद्ध आधारभूत विद्यालयमा काजमा खटाएको हो। पाँच कक्षासम्म सञ्चालन भएको वुद्ध आधारभूत विद्यालयमा हाल ३८ जना विद्यार्थी अध्ययरत छन्।
गत जेठ महिनामा वडाअध्यक्ष र प्रधानाध्यापकहरुसंगको संयुक्त बैठकमा शिक्षक स्वयं विद्यालय हाजिर भएर पढाउनु पर्ने, सट्टामा कसैले कसैलाई राख्न नपाउने लगायतका विषयमा निर्णय गरेको शिक्षा युवा तथा खेलकुद शाखा चुमनुब्रीका प्रमुख बासुदेव ओली बताउँछन्। ‘हामीले बेलाबेला संयुक्त बैठक राखेर सट्टामा कसैले कसैलाई राख्न नपाउने भनेर निर्णय पनि गरेका छौं, सचेत पनि गराइरहेका छौं,' ओली भन्छन्, 'तर अहिलेसम्म कहीँ पनि खेताला शिक्षक राखिएको भनेर उजुरी आएको छैन। बेलाबेला हामी पनि गाउँमा जाँदात्यस्तो अवस्था देखिएको थिएन। अहिले पहिलो पटक थाहा पाएँ।’ यस विषयमा के गर्ने भनेर कार्यपालिकासँग सल्लाह गरी अघि बढ्ने उनले बताए।
सो विद्यालय रहेको छेकम्पार तिब्बती सीमा क्षेत्रमा पर्ने दुर्गम गाउँ हो। गोरखा सदरमुकामबाट ५० कोश टाढा रहेको यहाँसम्म पुग्न सदरमुकामबाट तीन दिन पैदल हिँड्नुपर्छ। त्यहाँसम्म मोटरबाटो पनि पुगेको छैन। गुणस्तरीय शिक्षाको खोजीमा यहाँका अधिकांश बासिन्दाले आफ्ना सन्तानलाई काठमाडौँ तथा भारतको धर्मशाला लगायतका ठाउँमा पढ्न पठाउने गर्छन्।