शोकमा जाजरकोट

अस्पतालको शैय्याबाट भूकम्प सम्झँदा..

अस्पतालको शैय्याबाट भूकम्प सम्झँदा..

सुर्खेत : गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा हजारौंले ज्यान गुमाए। उत्तिकै संख्यामा घाइते भए। अर्बौंको धनजनको क्षति भयो। त्यसयता नेपालका विभिन्न भू–भागमा केन्द्रबिन्दु भई सानाठूला भूकम्पका शृंखला रोकिएका थिएनन्। यसै समयमा जाजरकोटलाई केन्द्र बनाएर भूकम्प गयो। १ सय ५४ ले ज्यान गुमाए, घाइते अस्पतालको शै्ययामा छन्। पराकम्प नरोकिएकाले क्षति थपिँदो छ।  

कर्णालीका स्थानीयले यति विनाशकारी भूकम्प आउला भनेर कल्पनासमेत गरेका थिएनन्। १७ कात्तिकको राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले कर्णालीमा ठूलो क्षति भयो। छिमेकी जिल्लाहरू दैलेख, सल्यान, सुर्खेतलगायतका जिल्लाका नागरिक पनि भूकम्पको त्रासमै छन्।

ठूलो मानवीय क्षति हुने गरी गएको भूकम्पमा परी शुक्रबारसम्म जाजरकोटका १ सय १ र रुकुमपश्चिममा ५३ गरी १ सय ५४ जनाले ज्यान गुमाइसकेका छन्। दुई सयभन्दा बढी नागरिक घाइते भए। सामान्य घाइते भएकाहरू जाजरकोट र रुकुम पश्चिमका स्थानीय अस्पतालहरूमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। गम्भीर घाइते भएकाहरूको अहिले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, नेपालगन्जस्थित भेरी अस्पताल र काठमाडौंमा उपचार चलिरहेको छ। कर्णाली प्रदेश अस्पताल स्रोतका अनुसार अस्पतालमा हाल २१ जना घाइतेको उपचार भइरहेको छ।

मध्यरातमा गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरू अस्पतालमा उपचाररत त छन्, तर उनीहरू भूकम्पले दिएको पीडामा छट्पटाइरहेका छन्। परिवारका सदस्य, आफन्त, छरछिमेकी र ओत लाग्ने घर गुमाउनु पर्दाको पीडाले उनीहरू भक्कानिरहन्छन्। भूकम्पको त्राससँगै उपचार सकेर फर्किएपछि कहाँ ओत लाग्ने भन्ने पीडा उस्तै छ। भूकम्पले घर भत्काउँदा पुरिएकाहरू छरछिमेकी र सरकारी संयन्त्रले उद्धार गरेर अस्पतालसम्म  आइपुगे। औषधि उपचारले उनीहरूको शरीरमा लागेको चोट निको हुने क्रममा छ। तर, भूकम्प गएको त्यो रात विपत्तिको पीडाले उनीहरूलाई झस्काइरहेको छ। उनीहरू अस्पतालको श्ययामा छट्पटाइरहेका छन्।

त्यो दिन सम्झँदा मुटु थरर...काँप्छ

रुकुमपश्चिम सानीभेरी गाउँपालिका–४ का कमान चन्द उमेरले ७० नाघे। यो उमेरसम्म ठूलो रोगले च्याप्न नसकेको उनको शरीरलाई कात्तिक १७ को विनाशकारी भूकम्पले अस्पतालको शै्ययामा पुर्‍यायो। गहिरो निद्रामा रहेका उनी भूकम्पले घर भत्काउँदा पुरिन पुगे। भूकम्प आउँदा चन्द दम्पतीसँगै थिए।  ‘जहान र म सुतिरहेको थिएँ, एक्कासि घर हल्लिन थाल्यो, बुढेसकालको शरीर भाग्न पनि सकेनौं, घर भत्किन पुग्यो। हामी त्यही पुरियौं। त्यसपछि के–के भयो सम्झना नै छैन,’ उनले भने। छरछिमेकीले उद्धार गरेको उनको भनाइ छ। 

यो उमेरसम्म ठूलो विपत्ति भोग्नु नपरेको बताउँदै उनी भन्छन्, ‘त्यो दिन सम्झियो भने मुटु थरर...काप्छ।’ पत्नी अम्बाकुमारी चन्दको गाउँमै उपचार भएको चन्द बताउँछन्। ‘घरभित्रै पुरिएकी जहान पनि थला परेकी छन्, आफूसँगै उपचारका लागि लिएर आउन पनि सकिएन, उता के–कसरी उपचार भयो, कहाँ बसेकी होलिन् भन्ने चिन्ताले पिरोलेको छ,’ चन्द भन्छन्। भूकम्पले घरै भत्काएर घरभित्रै पुरिँदा पनि आफूहरूलाई भगवान्ले बचाएको उनी बताउँछन्।

चन्द बसोबास रहेको नेगाहा गाउँमा २०२९ सालमा उनीहरूले घर निर्माण गरेका हुन्। ओत लाग्ने घर निर्माण गरेको ५१ वर्षपछि अहिलेको भूकम्पले त्यो तहसनहस हुन पुग्यो। ‘२०२९ सालमा बनाएको घर भूकम्पले लग्यो, बुढेसकालको जीउ आधा भयो, अस्पतालमा सुतिरहेको बेड हल्लिँदा पनि भूकम्प नै आइहाल्यो कि भन्ने डर लाग्छ,’ उनी झस्कन्छन्। 

उनी आफू र जहान बाँचेकोमा खुसी त छन्। तर, बुढेसकालको सहारा ओत लाग्ने घर, अन्नपात, लत्ताकपडा घरभित्रै पुरिँदा उनी अस्पतालको बेडमा निदाउन पनि सकेका छैनन्। ‘हामीलाई त भाग्यले बचायो, यो उमेरमा आइपुगेर यस्तो विपत्ति खेपौंला भन्ने कल्पना पनि थिएन, सबै तहसनहस भयो। बाँचेर पनि मरेँ झैं लाग्न थाल्यो। त्यो रातको विपत्ति सम्झेर आफैं बर्बराउँछु, भक्कानिन्छु, अब सरकारकै आस छ,’ उनले सुनाए।

भाग्यले बाँचेछु

चौरजहारी–७ की वेदकुमारी मल्लको परिवारले गत असारमा लगाएको धान भित्र्याउने तयारीमा थिए। उनीहरूले कात्तिक १६ गते खेतमा लगाएको धान काटेर घरको आँगनमा पुर्‍याए। धान र पराल छुट्ट्याएर भकारीमा भित्र्याउने अवस्थामा रहेको त्यसदिन धान आँगनमै राखेका थिए।

null

भोलिपल्ट स–परिवारले आँगनमा राखेको धान घरको माथिल्लो तलामा रहेको भकारीमा भण्डारण गरे। भर्खर भित्र्याएको धान हेर्दाहेर्दै माटोमै विलिन भयो। कारण बन्यो विनाशकारी भूकम्प। कर्णाली प्रदेश अस्पतालमा उपचाररत वेदकुमारी मल्ल भन्छिन्, ‘आफू त बाँचे, घर र धनसम्पत्ति सबै तहसनहस भयो। भूकम्पले हाम्रो खुुसी लुट्यो।’

भूकम्पले दिएको चोट सम्झँदै ४७ वर्षीया वेदकुमारी अस्पतालको श्ययामै भक्कानिन्छिन्। ‘यस्तो विपत्ति आउँला भनेर सोचेकै थिएनौं, भूकम्पले घर लग्यो। म भने भाग्यले बाँचेछु,’ उनी भन्छिन्। भूकम्पले उनको घर तहसनहस बनाएको छ। ‘घरको नामनिसान नै छैन, अन्नपात, लत्ताकपडा, भाँडाहरू सबै पुरिएका छन्,’ उनी भन्छिन्। त्यसदिन उनको घरमा पाँच जना थिए। भूकम्पले घर भत्काउँदा पाँचै जना घरभित्रै पुरिए। सामान्य घाइते भएकाहरूको चौरजहारीमै उपचार भयो। वेदकुमारीलाई सुर्खेत ल्याइएको छ। ‘मस्त निद्रामा थियौं, एक्कासि घर हल्लिएको जस्तो महसुुस भयो, घरको ढुंगामाटो र काठ आफ्नै शरीरमा बजारिएको याद छ। त्यसपछि के–के भयो केही थाहा छैन,’ उनले भनिन्। छरछिमेकी आएर आफ्नो उद्धार गरेको उनी बताउँछिन्। 

भूकम्पबारे समाचारमा सुन्दै आएकी मल्लले यसपालि आफैंले भोग्नु परेको छ। ‘छोराछोरी पढाइको सिलसिलामा काठमाडौं बस्थे। २०७२ सालको भूकम्पपछि काठमाडौंतिर भूकम्प आइरहन्छ भनेर समाचारमा उनले सुनेकी थिइन्। छोराछोरीलाई केही भइहाल्ने पो हो कि भन्ने चिन्ताले पिरोलिरहन्थ्यो। तर भूकम्पको विपत्ति आफैंले भोग्नु पर्‍यो। ‘घरमा पकाएर खाने भाँडा पनि छैनन्। गाउँका रहेकाहरू कहाँ बसेका होलान्, के खाएका होलान् भन्ने पिरलोले छट्पटाउँछु,’ उनी भन्छिन्। 

मुटुका टुक्रा छोरीहरू गुमाए

आठबिसकोट–१४ ज्यामिरेकोटका ३८ वर्षीय गणेश मल्ल हिजोआज अस्पतालको बेडमै छट्पटाइरहेका छन्। शरीरमा लागेको चोटसँगै भूकम्पले दिएको चोट उनको मनमा गहिरो खिल झैं बिझेको छ। शरीरमा लागेको चोट बिर्सेर उनी निदाउन त खोज्छन् तर भूकम्पले दिएको पीडाले उनलाई निदाउन दिएको छैन।

‘कात्तिक १७ गते साँझको खाना खाई दुःखसुखको कुराकानी गरेर सुत्न जहान र म कोठातर्फ गयौं। छोराको साथी पनि घरमा आएका थिए। उनीहरू पनि आफ्नो कोठातर्फ गए। छोरीहरू पनि सुत्न गए। मध्यरातको मस्त निद्रामा थियांै। एक्कासि घर हल्लियो। बीचको तलामा सुतेका हामी निद्राबाट ब्युँझिएर ढोका खोलेर भाग्न समेत पाएनौं। सबै घरभित्रै पुरियौं। छरछिमेकीले हामीलाई पुरिएको घरबाट निकालेछन्,’ मल्ल भन्छन्। 

उनलाई बेहोस अवस्थामै हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो। ‘होस खुल्दा अस्पतालको श्ययामा थिएँ। मेरा मुटुका टुक्राहरू दुई छोरीहरू बितेको होस खुलेपछि थाहा पाएँ। घर तहसनहस छ। भूकम्पले घर ढलाउँदा दुई छोरीहरू १३ वर्षीय चन्द्रकला र १५ वर्षीय प्रेमासँगै छोराको साथी पनि बिते। छोरा र जहान पनि घाइते छन्। उनीहरूको गाउँमै उपचार भयो,’ उनी भन्छन्। भूकम्पले मुटुका टुक्राहरू दुई छोरीलाई गुमाएको उनले भक्कानिँदै सुनाए। 

‘हामीलाई कहिल्यै नसोचेको बज्रपात आइलाग्यो। त्यस दिनलाई सम्झिन सक्दिनँ। छरछिमेकीले उद्धार गरेर भाग्यले बाँचेछु। छोरीहरू गुमाउनुको पीडाले मन थाम्न सकिरहेको छैन। घर तहसनहस छ। ढाडमा समस्या देखिएको छ। अब त कसरी बाँच्ने कुनै आधार पनि देख्दिनँ,’ उनले भने, ‘त्यस रातलाई सम्झन पनि सक्दिनँ। अहिले अस्पतालको श्ययामा छु। भूकम्पको त्रास छ।’

उनी भूकम्पले दिएको पीडाले बेलाबेला तर्सिने गरेका छन्। ‘छोरीहरू गुमाएको पिर एकातिर छ, उता गाउँमा जहान र छोरा कसरी बसेका होलान् भन्ने चिन्ता उस्तै छ। अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै पुरिएको छ। जहान र छोराले के खाएका होलान् ? गाउँमा खोइ कसले हो एउटा पाल दिएको छ भन्ने सुनेको छु। राहतको सही सदुपयोग भएको छैन,’ उनले भने। सरकारले दिने आर्थिक सहायता बढाएर घर बनाइदिनेमा उनी आशावादी छन्।

यस्तो विपत्ति कसैलाई नपरोस्

आठबिसकोट–१२ ठूलीबारकोटकी कमला परियारलाई ठूलो कालबाट बाँचेछु भन्ने लागेको छ। तर, भूकम्पले दिएको चोटले उनलाई निदाउन दिएको छैन। ‘घरमा ६ जना थियौं, सुतिरहेको बेला एक्कासि घर हल्लिएको जस्तो भयो। एकैछिनमा घर आफ्नै शरीरमा बजारियो। छरछिमेकीले उद्धार गरेछन्। अहिले अस्पतालमा उपचार चलिरहेको छ,’ उनी भन्छिन्। भूकम्पले घर भत्किँदा ४१ वर्षीया उनको शरीरमुनिको भाग पुरिएको थियो। ‘हामीलाई भाग्यले बचायो, तर ओत लाग्ने घरको नामनिसान छैन। उपचारपछि मलाई त निको होला तर, त्यसदिनको पीडा कहिल्यै निको हुँदैन,’ कमला भन्छिन्, ‘यस्तो विपत्ति कसैलाई पनि नपरोस्।’

भूकम्प गएको दिन कमलासहित घरमा तीन छोरा, एक बुहारी र श्रीमान् सुतिरहेका थिए। ‘हामी बूढाबूढी पहिलो तल्लामा थियौँ, अरु सबै माथिल्लो तलामा थिए। एक्कासि हल्लाएको जस्तो महसुस भएपछि भाग्न खोज्यौं तर माथिल्लो तला आफ्नै शरीरमा खस्यो,’ उनले भनिन्। उनी आफूहरू भाग्यले बाँचेको बताउँछिन्। उनका एक छोरा, बुहारी र नाति भारतमै बस्छन्। भारतमा रहेका छोराबुहारी अहिलेसम्म नफर्किएको कमला बताउँछिन्। 

भूकम्पले घर भत्काउँदा उनको कम्मरमुनि पुरिएको थियो। ‘शरीरमा लागेको चोट त बिस्तारै निको हुँदै जान्छ होला तर, त्यस दिन भूकम्पले दिएको पीडा कहिल्यै नमेटिने भयो,’ उनले भनिन्, ‘निराश छु, निद्रा पर्दैन। निद्रामा पनि डर लाग्छ।’ भूकम्पले छोडेर गएको घाउमा सरकारले मल्हम लगाउनेमा उनी आशावादी छिन्। ‘उहिले उहिले समाचारमा भूकम्पमा परेर मान्छे मरे, घर भत्कियो भन्ने रेडियोमा सुन्थ्यौं। हाम्रो ठाउँमा यस्तो होला भनेर कहिल्यै पनि सोचेनौं। नसोचेको विपत्ति आइलाग्यो,’ उनी भन्छिन्, ‘यस्तो आपत्विपत कोही कसैलाई नपरोस्।’

‘उपचारमा २४ सै घण्टा खटिएका छौं’

कर्णाली प्रदेश अस्पतालले भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि चौबिसै घण्टा चिकित्सक र स्वास्थ्यकर्मी खटिएका जनाएको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काले भूकम्पमा परी घाइते भएकाहरूको अवस्था सुधारोन्मुख रहेको बताए। प्रदेश अस्पतालमा भूकम्पबाट घाइते भएका ४५ जनाको उपचार भएको छ। अस्पतालले घाइतेहरूलाई वर्गीकरण गरी उपचार गरेको छ। उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको डा. खड्काले बताए। nullकर्णाली प्रदेश अस्पतालमा उपचाररत भूकम्पपीडित। तस्बिर : हिक्मतबहादुर नेपाली

एकजना न्युरो आईसीयू भेन्टिलेटरमा, एक जना आईसीयूमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ। अस्पतालमा जाजरकोटका भेरी, बारेकोट र नलगाड, कुशे, जुनीजाँदे, छेडागाड र रुकुम पश्चिमका चौरजहारी, सानीभेरी, आठबिसकोट र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरू उपचार गरिएको छ। तीमध्ये १७ जना पुरुष र १८ जना महिला छन्।

अस्पतालमा पाँच वर्षमुनिका ६ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ। अस्पतालका निर्देशक खड्काले घाइतेहरूको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचारमा टोली २४सै घण्टा खटिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.