हामी गाउँ नै गाउँ भएको मुलुकका बासिन्दा हौं। गाउँले हामी हाम्रा सुन्दर गाउँको गौरवलाई नामेट पार्दै छौं।
अचेलभरि सहरहरू गाउँतिर छिरेका हुन् कि गाउँहरू सहरतिर छिरेका हुन् ? पत्तो पाउनै सक्दिनँ म। गाउँ र सहरहरू एकाकार हुँदैछन् ! अन्तरघुलन हुँदैछन् !
मेरो गाउँका एकजना भाइ मोटरसाइकलको पछाडि डोरी बाँध्दै थिए। जिज्ञासावश सोधें– ‘बाइकको पछाडि डोरी बाँधेर कता हो भाइजान ?’ उनले दाउरा लिन जान लागेको भनेर जवाफ दिए। मोटरसाइकलमा दाउरा कति ल्याउने होला ? कसरी ल्याउने होला ? पहिलापहिला गहकिलो बिटो कसेर वा खाँङ्ग्रे डोकामा बोकेर दाउरा ल्याइन्थ्यो। मेरो डेढ अक्कली दिमाग एकछिन फनफनी घुम्यो।
आखिर उनी दाउरा होइन, ग्याँस लिन हिँडेका रहेछन्। भुस, खोया, गुइँठा, सिटा, कोइला, चिर्पट आदि छिर्ने भान्सामा सिलिन्डर छिर्न थालेको पनि धेरै भइसकेको छ। ग्याँसलाई दाउरा भन्ने उनको सांकेतिक लवजले म झुक्किएको मात्र रहेछु। अब गाउँहरू पनि विकासका इन्दे्रणीले रंगीन हुन थालेका छन्। गाउँघरमा पक्की बाटोघाटो, पुलपुलेसा, पाठशाला, धारापँधेरा, चौतारा, विश्रामस्थल स्तरीकृत हुँदैछन्। विकास हुनु राम्रो कुरा हो। गाउँहरूले आफ्नो रूप बदल्दैछन्। चिन्ताको विषय चाहिँ के हो भने गाउँहरूले आफ्नो मौलिक स्वरूप पनि गुमाउँदै छन्।
गाउँमा पनि अचेल माटो ढुंगा, काठ र बाँसले बनेका कच्ची घर विस्थापित हुँदैछन्। खासमा कच्चीघर भूकम्पीय दृष्टिले उच्च जोखिमयुक्त हुन्छन्। दुःखको कुरा के हो भने पक्कीघर बनाउने चक्करमा गाउँहरूले आफ्नो रैथाने सादापन गुमाउँदै छन्। गाउँको भौतिक संरचना मात्रै होइन, परम्परा र संस्कारमा पनि केही ऐंजेरु पलाउन थालेका छन्। दसैंतिहारमा पाहुना आउँदा दही र महीले स्वागत गर्ने गाउँहरू अचेल चिसो पेयमा सीमित भएका छन्।
हेर्दाहेर्दै पाहुनालाई दही, महीले स्वागत गर्दा लाज मान्नुपर्ने अवस्थाको सिर्जना भइसकेको छ। चिसो पेय खुवाउने व्यक्ति आधुनिक, सहरिया र सभ्य कहलिन्छ भने दहीमही खुवाउने गाउँले, पाखे। सबैलाई सभ्य देखिनु जो छ। मंसिरमा धान काट्ने खेतालालाई चिसो चिसो पेय खान दिएन भने अर्कोचोटि खेताला नआउने जोखिम बढ्न थालेको छ।
मेरो गाउँ सुडाल हो जुन सहरबाट त्यति टाढा छैन। भक्तपुर सहरको पाँच किलोमिटर उत्तरपूर्वी कुनामा अवस्थित छ। काभ्रेको नाला टुकुचा यसको पूर्वी सिमाना हो। सहर हेरी हेरी हुर्कियो मेरो गाउँ। यो आधुनिक बन्ने धुनमा छ तर आफ्नो निश्छल, निष्कपट र सुन्दर छवि गुमाउँदै छ। गाउँमा बुटिक र केक सप खुल्ने क्रममा छन्। रेस्टुुराँ र रिसोर्ट थपिँदा छन्।
केटाकेटीको मात्रै होइन, हजुरबा, हजुरआमा र बाआमाको पनि केक काटेर बर्थ डे मनाउने फेसन फस्टाउँदो छ। घरको शुद्ध दूध बेचेर चिसो पेय किनेको देख्दा मेरा आँखा बिझाउने गर्छन्। गाउँले पनि भात खान छोडेर लन्च र डिनर खान थालेको छ। काँठका अधिकांश गाउँको स्वभाव र नियति यही छ अचेल।
गाउँभित्र चोक, गल्ली र सहर बढ्दै छन्। सहरमा पनि धेरै गाउँहरू छन्। काठमाडौंभित्र हाँडीगाउँ, मालीगाउँ, थापागाउँजस्ता प्रसिद्ध ठाउँ छन् जसले गाउँको गुण र स्वभाव गुमाइसकेका छन्। हुनलाई यी गाउँ हुन् तर गाउँ हुने योग्यता यिनमा बाँकी रहेन। गाउँभित्र गोरेटा, चौतारी, मन्दिर, तोरीबारी र वन हुन्छ। सानोतिनो खोला हुन्छ।
अनि हुन्छ, ढुंगेधारा वा अञ्जुलीले उघाएर पानी पिउन मिल्ने पँधेरी। मकै फल्ने बारी तथा आलु, मुला र काउली फल्ने टारी हुन्छ। मेलापात र घाँसदाउरा हुन्छन्। मानिसको निस्वार्थ मन हुन्छ। निस्वार्थ मनलाई निर्वाह गर्ने आफ्नैपन हुन्छ। स्वच्छ हावा, स्वच्छ पानी र सुन्दर जवानी हुन्छ। तर अब गाउँहरूले पनि यस्ता कुरामा गर्व गर्न छोडिसकेका छन्।
गाउँको गोरेटोमा पाइला चाल्दै गर्दा कसैको गोठबाट गाई कराएको आवाज सुनियोस्। कसैको बारीमा फलफूल र तरकारीका बोट लहलहाइरहेका भेटियून्। केटाकेटीहरू डन्डीबियो, कबड्डी र लुकामारी खेल्दै गरेका भेटियून्। कोही भने झुम्राको बल खेल्दै सुन्दर भविष्यको गोल गर्ने सपना बुन्दै गरेका भेटियून्।
रुखमाथि बसेर चराहरू मुलायम मौसमी गीत गाइरहेका भेटियून्। तडक–भडक केही नहोस्। कसैको घरको भान्छामा के पाक्दै छ भनेर बतासले बताओस्। कसको घरमा गाई ब्याएर कति माना दूध दिन्छ भन्ने कुरा साझा चासो र समाचार बनोस्। तब न गाउँ। तब न सुन्दरता। तब न स्वच्छता अनि तब न मौलिकताको महक।
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म।
राजनराज शिवाकोटीको शब्द र संगीत अनि मदनकृष्ण श्रेष्ठको स्वरमा सुवासित यस गीतले गाईको बिगौतीको सन्दर्भ उठाएको छ। अचेल सहरका मात्रै होइन, गाउँका युवायुवती पनि बिगौती चिन्दैनन् र त्यसलाई खान मान्दैनन् पनि। सागसब्जी नखाने, मकैभटमासलाई हेलाँ गर्ने तर पत्रु खानालाई अधिक रुचाउने जंकी नेपाली उत्पादन गर्न सहर मात्रै होइन, अचेल गाउँहरू पनि अग्रसर देखिन्छन्।
विकासे प्रतिवेदन र विद्यालय विश्वविद्यालयका दस्ताबेजहरूमा समेत नेपाललाई गाउँ नै गाउँले भरिएको सुन्दर मुलुक भनेर प्रतिविम्बित गर्ने गरिएको पाइन्छ। साँच्चै हामी गाउँ नै गाउँ भएको मुलुकका बासिन्दा हौं। हामी गाउँले हौं। तर हामी हाम्रा सुन्दर गाउँको गौरवलाई नामेट पार्दै छौं। अझ अवशादको कुरो के हो भने गाउँका खेतीयोग्य ठाउँमा समेत जग्गा प्लटिङ भएका छन्। मानिसका हातमा पैसाको मुठो त परेको छ तर काम गर्ने जाँगर मरेको छ। गर्नेलाई पनि गर्ने वातावरण र हौसलाको अभाव छ।
बिहान माथ्लाघरे काकाले भनेको सुन्छु, यसपालि आलुको भाउ धार्नीको ७५ भन्दा आएन। अनि पाँच किलोमिटर तल पुगेर बजारमा सोध्छु, किनेर खाने उपभोक्ताले त्यही आलुलाई धार्नीको १ सय ८० तिर्नु पर्ने रहेछ। तल्लाघरे बुहारीले भनेका सुन्छु– काउली किलोको २५ मा लान्छु भन्छ। यसपालि
धेरै घाटा पर्ने भयो।
नजिकैको दूरीमा पुगेर सोध्छु– काउली १ सय २५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ। उत्पादन गर्नेले सस्तोमा बेचिरहेको छ, किनेर खानेले महँगोमा किनेर खाइरहेको छ। बीचको हिसाब गोलमाल भइरहेको छ। यस्तोे गोलमाल कस्ले गरिरहेको छ ? अनि गाई पाल्नेले पनि गाई पाल्दैन, आलु रोप्नेले पनि आलु रोप्दैन। गाउँमा जन्मेको बच्चाले बिगौती चिन्दैन। गाउँमा पनि बहुराष्ट्रिय कम्पनीका ठेकेदार छिर्छन्। तिनको मनोमानी र एकाधिकार चल्छ। गाउँहरू पिजा, बर्गर र केकमय हुन्छन्। यसो हुँदा कसैलाई नराम्रो हुने होइन तर तर मलाई के लाग्छ भने गाउँबाट गाउँ हराउँछन्, सहरबाट सहर हराउँछन्। अनि मलाई भन्न कर लाग्छ –
गाउँ छैन गाउँ जस्तो सहर छैन सहर जस्तो
के मिसाइस् समय तैंले अमृतमा जहर जस्तो ?