घर नं. एक र एक एघार!
पश्चिमतर्फ नवदुलहीको टीका झैं आकाशको निधारमा झुन्डिएको छ, सिम्रिक घाम। फत्ताबहादुरलाई त्यो घाम टिपेर गोमाको निधारमा लगाइदिन मन लाग्छ।
सहरका घरहरू कस्ता नमिल्दा ढंगले बसोबास गर्छन्। सहर घरहरूको जंगल हो। जंगलमा कुनै रुख अग्ला छन्, कुनै पुड्का, कुनै मोटा र कुनै सुकेनास लागेजस्ता। कतै वनमाराले बाटै छेकेर बस्छन्। कतै चोकमै सिस्नो झैं उम्रेका हुन्छन्। कुनै रुख बूढो भएर कुप्रो परेर बसेको हुन्छ। कुनै घर माटो र ढुंगाले बान्ता ओकल्ने पोजिसनमा बसिरहेका हुन्छन््। फेरि कुनै कुनै त सुकेको हाँगा जस्तै हावाको वेगको ठक्करबाट भाँचिने दिन कुर्दै बसेका हुन्छन्। सहरमा झांगिएको जंगलभन्दा ठ्याक्कै फरक छ, पुस्ता कोलोनी। जुन सहरको कोलाहलमय वातावरणबाट चोखो छ। सहरको धुवाँ र धूलो खासै भ्रमणमा आउँदैनन्, यस कोलोनीमा। सहरको दुईतीन माइलमा अवस्थित छ यो।
कोलोनी पनि घरहरूको जंगल नै हो तर कोलोनीका रुखमय घर एकनासका छन्। सिक्काजस्ता बराबर, चुरोटका खिल्ली जस्ता एकै किसिमका, ए–फोर साइजका पेपरजस्ता एकतमासका। ड्रोनको आँखाबाट पुस्ता कोलोनीका घरहरू स्कुलको एसेम्बली एरियामा प्रार्थना गर्न सतर्क पोजिसनमा उभिएका विद्यार्थीको समूह जस्तो देखिन्छ। पुस्ता कोलोनीलाई चारैतिरबाट पर्खालले घेरिएको छ। जसमा मुख्यद्वारबाट मात्र प्रवेश गर्न सकिन्छ। मुख्यद्वारको गेटको माथि ठूला अक्षरमा ‘पुस्ता कोलोनी’ आकर्षण ढंगले लेखिएको छ।
पुस्ता कोलोनी लेखेको तलपट्टी सानो इटालिक शैलीमा ‘यहाँ अटाउँछन् हरेक पुस्ता’ भनेर लेखिएको छ। यसलाई पुस्ता कोलोनीको ट्याग लाइनको रूपमा राखिएको हुनुपर्छ। यसले ‘यो पारिवारिक कोलोनी हो’ भनेर बुझाउँछ। पुस्ता कोलोनीमा जम्माजम्मी हजारवटा घरहरू छन्। जसको शैली एकै छ। एउटा लाइनमा दसवटा घर छन्। प्रत्येक घर दुई तलाका छन्। एउटा कौसी छ, फूलवाटिका छ। एक लाइनमा दसवटा घर त्यसपछि एउटा कलात्मक ढुंगाको गलैंचा बिछ्याइएको जस्तो बाटो, अनि फेरि अर्को लाइन सुरु हुन्छ, दसवटा घरको। यसरी यस्तो लाइन सयवटा छ। उस्तै दुरुस्तै शैलीमा।
प्रत्येक घरलाई नम्बरको नामले न्वारान गरिएको छ, घर नं. १, २, ३... गरेर। जब दसवटा घरको लाइन सकिन्छ, सुरु हुन्छ अर्को लाइन घर नं. ११, १२, १३ गरेर। यहाँका हजारवटा घरमा कतै एक पुस्ता, कतै दुई पुस्ता र कतै तीन पुस्ता बसोबास गर्छन्। यहाँका हजारवटा घरको कथा भन्न उपन्यास नै लेख्नुपर्ने हुन्छ। त्यसैले आज दुईवटा घरको मात्र कथा भन्छु। एउटा ‘घर नं. एक’ र अर्को सामुन्नेको ‘घर नं. एघार’को कथा।
घर नं. एक जसमा चारजनाको सानो परिवार बस्छ। परिवारको ज्येष्ठ सदस्य फत्तबहादुर परियार उमेरले पैसठ्ठी नाघे। उनका छोरा–बुहारी र एकजना नाति बाँकी सदस्य हुन्। फत्तबहादुर विदुर हुन्, दस वर्षपहिले सहयात्रीलाई गुमाइसके। छोराबुहारी फत्तबहादुरलाई भन्दा उनको नाममा रहेको सम्पत्तिलाई बेस्सरी माया गर्छन्। फत्तबहादुर गुलियोको खानी हुन्। चिनी कारखाना हुन्। महको चाको हुन्। गुलियो भएरै होला, उनलाई चिनी रोगले पनि माया गर्छ। चिनी मिसिएको उनको रगत बाक्लिएर बिपिले पनि सहयात्रा गर्छ। उनका छोराबुहारी चिनी र प्रेसरले बुवालाई माया गरेर मायावी दुनियाँको संसारबाट अलग्गिने दिन कुरेर बसेका छन्।
बुहारी फत्तबहादुरलाई देख्नेबित्तिकै हत्तपत्त मुख बंग्याएर प्यारालाइसिस भएको बिरामीको जस्तो अवतार लिन्छिन्। छोरा बुवाले योगअभ्यास गरेको देख्यो कि बूढोको आयु बढ्ने चिन्ताले तनावग्रस्त हुन्छन्। नाति हजुरबुबासँग भन्दा ल्यापटपसँग बढी समय व्यतित गर्छन्। तीन पुस्ताको बसोबास रहेको यो पुस्ता कलोनीमा अग्रज पुस्ताको मूल्य शून्य अंकको जस्तै छ। जिन्दगीभर ईश्वरलाई वास्ता नगरेका फत्तबहादुर आजको दिनमा हार्मोनियममा भजन गाएर आफ्नो समयलाई भक्तिमार्गमा व्यतित गर्छन्। पत्रपत्रिकामा छोराबुहारीले आफ्नै आमालाई वृद्धाश्रममा पुर्याएको समाचार पढेर उनी झस्किन्छन्। श्रीमतीलाई सम्झिन्छन्, आँसुका थोपाले पत्रिकाको पानालाई मुख धोइदिन्छन्।
घर नं. एघारमा बस्छिन्, साठी वर्षीया गोमा अर्याल। उनको छोराबुहारी र नातिनातिना गरेर परिवार संख्या पाँच छ। उनी पनि परिवारबाट घृणित व्यवहार गरिने पात्र हुन्। उनी विधवा हुन्। एक वर्षमात्र भयो उनको बाहुनले छोडेर गएको। एक वर्षपहिला उनका बाहुनले सबै सम्पत्ति छोराको नाममा पास गरेर गए। त्यसपछि गोमा प्रत्येक दिन अपहेलित हुनु परेको छ। छोराबुहारी आमाको उपस्थिति पटक्कै मन पराउँदैनन्। उनी बिहानै सूर्यभन्दा पहिले उदाउँछिन्। एक घण्टा पूजाकोठामा आराधना र ध्यानमा व्यतित गर्छिन्। भजन गाउँदा उनको स्वरमा तारादेवी बसेजस्तो लाग्छ। उनी छोराबुहारीको खस्याकखुसुक कुराकानीबाट आफूलाई वृद्धाश्रममा पठाइने कुरासँग अवगत छिन्।
पुस्ता कोलोनीको बार्दलीमा सन्ध्याको मधुरो किरण आएर फुल्छ। गोमाले कातेको कपासको बाती चुँडेर दुईटा टुक्रा हुन्छ। उनी मनमनै सोच्छिन्, ‘जति नै लामो तन्काएर काते पनि बाती आखिर जल्नु न छ तर जल्नु नै परेपछि सही समयमा हो भने कति आनन्द हुन्छ। कपासको बाती जले पनि कति सुन्दर देखिन्छ। प्रकाशको निशब्दतामा कति धेरै गुञ्जन हुन्छ। जल्नु त आखिर दियो जस्तै भएर जल्नु राम्रो। हुन त दियोले आफ्नो वरिपरि उज्यालो छरे पनि आफूमुनि निष्पट अँध्यारो नै हुन्छ।’ छोराबुहारीलाई सम्झिन्छिन्। अनि एक्लै बरबराउन थाल्छिन्, ‘मैले र मेरो बाहुनले मिलेर छोरालाई संसारभरिको दियो किनेर उज्यालोको लेप लगाइदियौं तर आज ऊ उज्यालो छ र म ठ्याक्कै त्यहीँ दियो मुनिको अँध्यारो भएको छु।’
पुस्ता कोलोनीको ठ्याक्कै त्यस्तै सन्ध्याको घामको मधुरो किरण फत्तबहादुरको झ्यालबाट बिनाअनुमति पस्छ, हरेक उज्यालो दिनमा। फत्तबहादुर मधुरो घाम र आफ्नो जीवनलाई तुलना गर्छन्, ‘घाम मधुरो भएपछि त नाथे मान्छेका दृष्टिले पनि हेप्छ। जुन घामलाई मध्याह्नमा आँखा जुधाउन सकिन्न, त्यहीँ घामसँग आँखा लडाउन तयार हुन्छन् मानिसका आँखा। मधुरो हुँदै गएपछि घामलाई अँध्यारोले पनि हस्तक्षेप गर्न थाल्छ। दिउँसभरि लुकेर बसेको चन्द्रमा पनि मधुरो घामलाई जितेरै प्रकट हुन्छ। घाम मधुरो भएपछि न हो विलीन हुँदै जाने क्षितिजको रेखामुनिबाट। घाम मधुरो भएपछि घरमा परिवारको उदय हुँदै जान्छ तर मेरो जीवनमा न घाम उदाउँदा छोराबुहारी उदाउँछन् न त घाम अस्ताउँदा नाति उदाउँछ। हरेकको जीवनमा दुईवटा घाम हुने रहेछ ! एउटा घाम जो आकाशमा फुल्छ अर्को घरमा तर मेरो घरको घामको फ्युज उडिसकेको छ। मलाई किन लाग्छ कि घाम डुब्नु भनेको अँध्यारो हुनु होइन बरु सितारालाई स्वागत गर्नु हो। जूनको किरण पिउनु हो। थकानले गलेका ब्याट्रीजस्तै देहलाई रिचार्ज गर्नु हो। निराशा उम्रेका मस्तिष्कलाई सपनाको जूनकीरी बाल्नु हो। मलाई मधुरो घामले दिएको यो जीवनपाठ, मैले अनुसरण गर्नै पर्छ।’
साउने सोमबारको बिहानी छ। फत्तबहादुरका छोराबुहारी बोलबम यात्रामा छन्। नाति, बाउआमा नभएकाले प्रायः घर आउँदैन। साथीको घरतिरै बस्छ। फत्तबहादुरले कौसीमा हार्मोनियम लिएर बजाउँदै भजन गाउन थाल्छ, ‘कति सुहायो, कति सुहायो, पार्वतीलाई शिवजी कति सुहायो।’
भजन गोमाको कानमा गएर ठोकिन्छ। गोमाको परिवार पनि घरमा छैनन्। एक महिने विदेश भ्रमणमा छन्। एक्ली गोमाले फत्तबहादुरको भजन खुब चाख दिएर सुन्छिन्। मनमनै फत्तबदादुरको भजनसँगै गुनगुनाउँछिन्। फत्तबहादुरको भजनले उनलाई चुम्बकले झैं तान्छ। अचानक गोमाको मनमनैको भजन ठूलो स्वरमा गुञ्जिन्छ, ‘कति सुहायो, कति सुहायो, पार्वतीलाई शिवजी कति सुहायो।’ सुरिलो अवाज श्रवण भएपछि फत्तबहादुर घर नं. १ बाट घर नं. ११ को कौसीतिर नजर फाल्छन्। गोमाको भजनको सुर समात्न औंलालाई आदेश दिन्छन्। यसरी उनीहरूको एक्लोपनलाई मेटाउन सत्संगको माहोल सिर्जना हुन्छ। यो क्रम एक घण्टासम्म चलिरहन्छ। एक घण्टाको भजन दोहोरीले उनीहरूमा खुसीको हिमपात गराउँछ।
गोमा आफ्नो कोठामा प्रवेश गर्छिन्। आज उनको मन आनन्दित छ। फूलको मालाभित्र भित्ताको सोफामा आँखा उघारेर उनको श्रीमान् एउटै भावमा मुस्कुराइरहेको दृश्य हेर्छिन्। उनी सोच्छिन्, ‘पक्कै पनि उहाँ मेरो खुसी देखेर मुस्कुराउनु भएको हुनुपर्छ।’ गोमा बाहिर बगैंचामा गएर फूललाई पानी पिलाउँछिन्। आज बगैंचामा फुलेका फूलमा बेग्लै सुगन्धको परागपान गर्छिन्। फूलको रसपान गर्न आएका भवरालाई हेरेर उनी मक्ख पर्छिन्। अरू दिन भएको भए उनले फूलको चास्नीमा डुबेका भवरालाई धपाउने गर्थिन्। आज उनलाई धपाउन मन लागेन।
आज उनले फूल र भमरामा राधाकृष्ण देखिनन्। फत्तबहादुरको हार्मिनियमको नाद उनको कानमा मात्र होइन, मनमै गुञ्जियो। ‘यो खुसी, यो उमंग, यो तरङ अचानक कहाँबाट आयो ? फत्तबहादुर जो मेरो छिमेकी हो। आजसम्म उसमा मैले त्यो प्रेमिल भाव देखिनँ। उसको बारेमा जानकारी पनि थिएन। म लज्जावती झार झैं लजाएर मुर्झाउनुमा फत्तबहादुरको अमूर्त स्पर्श छ।’ मनमनै आफैंसँग गफ लगाइन।
घर नं. ११ मा फत्तबहादुर स्नानगृहमा छन्। आज उनलाई रुझाइरहेको पानीले अर्कै काउकुती लगाउँदै छ। यति मीठो काउकुती उनले श्रीमतीसँगको पहिलो चोटिको स्पर्शमा अनुभव गरेका थिए। उनले साबुनको गाँजलाई शरीरको उनानब्बे प्रतिशत भागमा लगाए। उनी कल्पिन थाले, ‘यो साबुनको गाँजले मेरो जीवनका दुःखका मैलोलाई सफाचट गर्दै छ। म दुःखको फोहोरबाट निक्लिएर स्वप्नील स्वर्गीय आनन्दबस्तीमा पुग्दैछु। यो कस्तो चमत्कारी साबुन, यो साबुन गोमा हुन्।’
आज मंगलबारको बिहानी। फत्तबहादुर हिजोजस्तै कौसीमा बसेर हार्मिनियमको कान निमोठ्दै छन्। घर नं. एघारको कौसीमा गोमाअघि नै आँखा ओछ्याएर बसेकी छन्। फत्तबहादुरले सुर लगाउँदै अहँ अहँ गर्छन्। हार्मोनियमको सुरमा फत्तको आवाज गुञ्जिन्छ, ‘राधे राधे...।’ उताबाट गोमाले युगल भजनमा साथ दिन्छिन्, ‘कृष्ण कृष्ण...।’
यो क्रम निरन्तर करिब एक घण्टासम्म चल्छ। एक घण्टामा गोमा राधा बन्छिन्, फत्तबहादुर कृष्ण। प्रेमको रङले निश्चित उमेरको भित्तामा मात्र रङ पोत्दैन। प्रेमको रङको बुरुस गोमा र फत्तबहादुरको मनमुटुमा पनि गएर पोतिन्छ। गोमाको चाउरी परेको गालामा प्रेमको लाली चढ्छ। फत्तबहादुरको जीर्ण परेको शरीरमा प्रेमले मृग बनाउँछ।
मध्याह्नको समय छ। गोमा घर नं. एघारबाट घर नं. एकमा नजरको पुल बनाएर फत्तको मनको बार्दलीमा पुग्छिन्। पार्कतर्फ जाने सांकेतिक चिठी प्रेषित गर्छिन्। फत्तबहादुर तुरुन्तै इसारापत्रको जवाफ फर्काउँछन्, जुँगा मुसार्दै ‘हुन्छ’ भन्ने भावमा।
गोमा र फत्तबहादुर पुस्ता कोलोनीको पार्कमा भेट्छन्। पार्कमा रंगीबिरंगी फूल छन्। ‘युनिक’ वनस्पति छन्। मझौला पीपलको चौतारी छ र त्यो चौतारीको हाँगा पोखरीको पानीमा छाया बनेर पौडिरहेको छ। चौतारीको डिलमा दुवैजना एकर्कालाई बस्न आग्रह गर्छन्। दुवैजनाको बैठक सुरु हुन्छ।
गोमा – कति शीतल यो पीपल बोटको छहारी।
फत्तबहादुर – सन्तानले पनि शीतल छहारी दिने भए कस्तो मीठो हुन्थ्यो है।
गोमाले भिज्न लागेका आँखा पुछ्दै– छहारी बन्ने जिम्मा त अभिभावकको मात्र रहेछ। सन्तानले त छहारी हुँदासम्म शीतल ताप्छन्। जुन दिन छहारीको पात सुक्न थाल्छ, त्यस दिनदेखि बोटै काट्ने योजना बनाउँछन्।
फत्तबहादुर – गोमा ! हेर्नाेस् न यो पोखरीका माछाहरू कति आनन्दित छन्, पोखरीमा। जुन दिन पोखरीबाट पानी विलय हुन्छ, त्यो दिन माछाको जीवन नष्ट हुन्छ। हामीहरूको जिन्दगी पनि यो पानीको पोखरी जस्तै हो। जहिलेसम्म हाम्रो जीवनमा पानी छ, तबसम्म हामी सुरक्षित छौं। हाम्रो जिन्दगीबाट पानी सुकाइँदै छ। हामी यो पानी सुक्नुपूर्व पोखरीबाट नदीको बाटो लाग्नुपर्छ। नदीलाई सुकाउन जो कसैको हिम्मत हुन्न। हामी एकअर्काको छहारी बन्नपर्छ।
गोमा आशाको दीपक बोले झैं मुहार बताउँछिन्, ‘बगैंचामा फुलेका फूल फुल्छन् अनि झर्छन्। फूल झरेपछि त्यसका बीज माटोमै मिल्छन्। त्यही माटोमा अंकुरित हुन्छ नयाँ फूल। फत्त ! हजुरको हृदयको माटोमा म अंकुरण हुन चाहन्छु। यो पाकेर झर्न लागेको फूलका बीजलाई हजुरको बगैंचामा अटाइदिनुहोस्।’
फत्तबहादुर– म सानो जातको मान्छे। तपाईं ब्राह्मणी मसँग फुल्न सक्नुहुन्छ ?
गोमा – मेरै जातका छोराबुहारीले त मलाई संरक्षण दिएनन्। मानिसको जात मानवता, करुणा र प्रेमको आधारमा मापन हुनुपर्छ फत्तजी। मेरा लागि यो समय हजुरको ममतामयी प्रेमभन्दा अर्को कुनै ठूलो जात छैन। जातलाई यसका आधारमा नाप्ने हो भने हजुरभन्दा ठूलो जात अर्को कोही छैन।
दुवैजना यसरी गफिएछन् कि घाम डुब्न लागेको समेत पत्तै भएन। पश्चिमतर्फ नवदुलहीको टीका झैं आकाशको निधारमा झुन्डिएको छ, सिम्रिक घाम। फत्तबहादुरलाई त्यो घाम टिपेर गोमाको खाली निधारमा लगाइदिन मन लाग्छ।
निकै अनुशासित भएर उभिएका पुस्ता कोलोनीलाई एक–एक नजरपान गर्छन् दुवैले।
गोमा– यो पुस्ता कोलिनीका घर कति सुन्दर छन्, है ! कुनै परेड खेल्न उभिएका सिपाहीको झुन्डजस्तै तर बाहिरबाट जति सुन्दर छ, पुस्ता कोलोनी, भित्रबाटै त्यति नै कुरूप छ। नाम चाहिँ पुस्ता कोलोनी रे ! कहाँ अटाउन सकेका छन् र हामीजस्ता पुराना पुस्ता ?
फत्तबहादुर– बरु सहरका झोपडबस्ती सुन्दर छन्। गोमा ! जहाँ घर सानो होला, फोहोर होला तर मन कति ठूलो र सफा छ। सबै पुस्ता कति मायाले बस्छन्। यो ठूलो सहरमा ठूलो कोलोनीमा, ठूलाठूला मान्छे बस्छन् तर यी ठूला छवि भएका मानिसको मन कति सानो है ! सन्ध्या आरतीको समय भयो भनेर एकर्कालाई फेरि भेटौंला हात हल्लाउँदै घर नं. एक र एघारतर्फ मोडिन्छन् उनीहरूका पाइताला।
एक वर्षपछि...।
गोमा र फत्तबहादुर हिमालको काखमा नदीको किनारमा अवस्थित एउटा आलयमा छन्। उनीहरूसँगै अरू थुप्रै वृद्धावस्थाका मान्छे पनि छन्। सबैजना खुसी देखिन्छन् कोही समूह बनाएर चुट्किला सुनाउँदै बेस्सरी हाँस्दैछन् त कोही फुटबल खेल्दैछन्। कोही कुर्सीमा बसेर दृश्य पिउँदै छन्।
एक वर्ष पहिले...।
पार्कबाट फर्किएर घर पुग्पछि गोमाको मनमा कुरा खेल्न थाल्यो, ‘जुन घरमा उनको उपस्थितिलाई मन पराइन्न। त्यो घरमा बस्नुको के अर्थ ? यो घरमा म बसें भने एकदिन मलाई वृद्धाश्रम पुर्याउने पक्का छ।’ उनको दिवंगत बाहुनको तस्बिर अगाडि उभिएर उनले भनिन्, ‘हजुरले अन्तिम श्वास लिनुअगाडि मलाई खुसी भएर बाँच्न कसम खुवाउनु भएको थियो। त्यहीँ कसमको लाज राख्न गइरहेकी छु। म अब खुसी भएर बाँकी जीवन हजुरको नाममा समर्पण गर्न चाहन्छु।
उता घर नं. एकमा फत्तबहादुरको मनमा पनि हलचल चलिरह्यो।
फत्तबहादुरले गोमालाई फोन गरे, ‘गोमा हामी अब यस्तो ठाउँमा जानुपर्छ। त्यहाँ गएर एउटा वृद्धाश्रम खोल्नुपर्छ। हामी जस्तै सन्तानबाट अपहेलित आमाबुवालाई जम्मा गरेर राख्नुपर्छ। अब हामी हाम्रो मात्र होइन, हामीजस्तै धेरैको खुसी बन्न सक्नुपर्छ। पैसाको चिन्ता नगर्नू। मेरो नाममा अथाह सम्पत्ति छ। त्यो सम्पत्तिको एक टुक्रा पनि म छोराबुहारीलाई दिन्नँ। सबै सम्पत्ति बेचेर हामीले आश्रममा लगानी गर्नुपर्छ। एउटा सुनौलो संसारको निर्माण गर्न हामी भागेर कतै टाढा जानुपर्छ।’
गोमाले खुसी हुँदै भनिन्– हुन्छ।
यसरी गोमा र फत्तबहादुर भागेर हिमालको काखमा आएर ‘एक र एक एघार’ नामक वृद्धाश्रम खोले। आजभोलि उनीहरू सन्तानको मायाबाट वञ्चित आमाबुवालाई खोजेर आश्रममा ल्याउँछन् अनि स्याहारसुसार गर्छन्। खुसीको ताल्चा लागेका ओठलाई प्रेमको चाबीले खोलेर मुस्कुराउन सिकाउँछन्।
०००
गोमा मनमनै सोच्छिन्, ‘जति नै लामो तन्काएर काते पनि बाती आखिर जल्नु न छ तर जल्नु नै परेपछि सही समयमा हो भने कति आनन्द हुन्छ। कपासको बाती जले पनि कति सुन्दर देखिन्छ। प्रकाशको निःशब्दतामा कति धेरै गुञ्जन हुन्छ। जल्नु त आखिर दियो जस्तै भएर जल्नु राम्रो। हुन त दियोले आफ्नो वरिपरि उज्यालो छरे पनि आफूमुनि निष्पट अँध्यारो नै हुन्छ।’
०
फत्तबहादुर – गोमा ! हेर्नाेस् न यो पोखरीका माछाहरू कति आनन्दित छन्, पोखरीमा। जुन दिन पोखरीबाट पानी विलय हुन्छ, त्यो दिन माछाको जीवन नष्ट हुन्छ। हामीहरूको जिन्दगी पनि यो पानीको पोखरी जस्तै हो। पानी सुक्नुपूर्व पोखरीबाट नदीको बाटो लाग्नु पर्छ। नदीलाई सुकाउन जो कसैको हिम्मत हुन्न। हामी एक अर्काको छहारी बन्नपर्छ।
०००