भूकम्प पीडितलाई राहत वितरणमा सरकार गम्भीर हुनपर्यो : झलनाथ खनाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
समाजवादी प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भविष्यमा हुने विपद्बाट हुनसक्ने क्षतिको न्युनीकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने धारणा राखे। त्यस्तै खनालले राजतन्त्रको मुद्दा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे। जनताले फ्याकेका एजेण्डाहरू ताजा बन्न नसक्ने भन्दै उनले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताए। उनले अहिले देशलाई हाक्नले शक्तिहरूले मुलुकको ज्वलन्त समस्याहरू समाधानका लागि गम्भीर हुनुपर्ने बताए।