फूलैफूलको दीपकको संसार

फूलैफूलको दीपकको संसार
चितवन भरतपुर महानगरपालिका–२६ का ६३ वर्षीय दीपक पाख्रिन आफ्नै फूलबारीमा। उनले ४० वर्षदेखि सयपत्रीको व्यवसायिक खेती गर्दै आएका छन्।

काठमाडौं : ढकमक्क फूलबारी। लोभलाग्दा सयपत्रीका थुंगा। त्यहाँ पुग्ने जो कोहीलाई यो दृश्यले लठ्ठ पार्छ। तर, त्यहीँ पूmलबारीका माली दीपक पाख्रिनलाई भने भ्याइनभ्याइ छ। तिहारका लागि जताततैबाट फूलको माग छ। त्यसैकारण फूल टिप्ने, माला उन्ने र बजार पठाउने हतारोमा छन्, उनी। ‘काठमाडौं, ललितपुर, चितवन, सुर्खेत, धादिङलगायतका ठाउँबाट छिटो फूल पठाइदिन माग आइरहेको छ,’ दीपक भन्छन्। 

६३ वर्षीय पाख्रिनको जीवन नै फूलसँग गाँसिएको छ। ४ दशकदेखि फूलको खेतीमा रमाउँदै, कमाउदै र जिउँदै आएका छन्। ‘दसैंयता तिहार नजिकिएसँगै मस्तले फूल बगैंचा सुटिङ स्पट जस्तो देखिएको छ,’ पाख्रिन भन्छन्, ‘रमणीय दृश्यले मन प्रफूल्लित हुन्छ।’ त्यसैकारण, पाख्रिनको मन पनि चंगा, व्यवसायबाट पनि दंग।’ पाख्रिनले चितवनको भरतपुर–२६ मा फूलखेती गरेका छन्। ६ बिघा (५२ रोपनी) सयपत्रिमय बनाएका छन्। यतिबेला तिहारका लागि फूल टिप्न र माला उन्न १० जना कर्मचारी पनि अपुग भइरहेका छन्। 

फूलसँग यसरी गाँसिए पाख्रिन 

१२ कक्षा उत्तीर्ण गरेपछि पाख्रिनलाई भारतमा बस्न मन लागेन। काठमाडौं आए। गोदावरीमा बस्न थाले। त्यसबेला लगनखेलको एक विद्यालयमा पढाउन थाले। तर, शिक्षण पेसाबाट सन्तुष्टि मिलेन। अनि, कमलपोखरीमा फोटोग्राफी सिके। ६ वर्ष त्यसमै काम पनि गरे। तर, मन रमेन। त्यसपछि गोदाबरीमा कट्फ्लावर(नर्सरी) व्यवसाय सुरु गरे। त्यसले पनि चित्त बुझेन। अनि, रङ्गीन फूलकै व्यवसाय गर्ने निधो गरे।

गोदाबरीमा १ रोपनी जग्गा भाडामा लिएर फूलखेती सुरु गरे। तर, त्यतिबेला काठमाडौंमा फूल बेच्ने एउटा पनि पसल थिएन। अनि, आफैं फूल बोकेर डिपार्टमेन्ट स्टोरहरूमा पुग्न थाले। विस्तारै बिक्री बढ्न थाल्यो। होटलहरूले पनि फूलको प्रयोग गर्न थाले। त्यसबीच सप्लायर्स पनि आउन थाले। भारतको कलकत्ताबाट आएर बंगाली व्यापारीले फूल पसल नै खोल्न थाले। अनि, बजारमा फूलको माग बढ्न थाल्यो। पाख्रिनले पनि फूलखेती बढाउँदै लगे। त्यसबेला गोदावरीमा आफूले २६ रोपनीसम्म फूलखेती गरेको पाख्रिन सम्झन्छन्। 

गोदावरी चिसो ठाउँ भएको र फूल फूल्न धेरै समय लाग्थ्यो। यसैकारण उनले खेतीको ठाउँ स्थानान्तरण गर्ने सोच बनाए। १० वर्ष खेती गरेको गोदावरीलाई छाडेर उनले गर्मी क्षेत्र धादिङको नौबिसेलाई रोजे। धादिङ उनको जन्मभूमि पनि हो। जन्मथलो धादिङमा ७० रोपनी जग्गामा फूलखेती गरे। जहाँ उनले ग्लेडियससँगै सयपत्री फूलको व्यावसायिक खेती गरे। खेती ठूलो भएकाले १२ जना स्थायी कामदार राखे। तर, भाडा र ज्याला महँगो हुँदै गएपछि त्यहाँ टिक्न सकेनन्। सस्तो मूल्यमा जग्गा भाडामा पाउने र आधुनिक तरिकाले खेती गर्न सकिने ठाउँको खोजी गर्न थाले।

‘फूलबारी सबै गोरुले जोत्नुपर्ने भए पनि लागत धेरै बढ्यो, पाख्रिनले भने, ‘त्यसैकारण त्यहाँ खेती गर्न नसकिने निष्कर्षमा पुगेँ।’ ९ वर्ष नौबिसेमा बिताएपछि उनको रोजाइमा पर्‍यो चितवन। त्यसपछि चितवनको भरतपुर–२७ मेघौलीमा २ बिघा र भरतपुर–२६ मा ४ बिघा गरी ६ बिघा (५२ रोपनी) जमिनमा सयपत्री खेती सुरु गरे। उनको जीवन नै फूलसँग गाँसियो। ‘फूल व्यवसायबाहेक अरू काम पनि नगर्ने भनेको छु,’ उनले भने। 

सयपत्री देशभर फैलाए 

पाख्रिनले व्यावसायिक फूल खेती आफूमा मात्रै सीमित राखेका छैनन्। फूल खेतीबाट पनि जीवन निर्वाह हुन्छ भन्ने उदाहरण बनेका छन्। उनको उदाहरणीय कामले धेरै किसान लाभान्वित र उत्प्रेरित भएका छन्। किसानहरूले चितवनमा मात्रै ५० औं बिघा जमिनमा फूल लगाइएको उनले जानकारी दिए। नेपालमा सयपत्री फूलको खेती विस्तार गर्ने आफू पहिलो भएको उनको दाबी छ। ‘नेपालभर सयपत्री खेती विस्तार गर्ने मै हुँ। मैले बीउ, बिरुवा दिन्छु। सबैलाई खेती गर्न निःशुल्क सिकाउँछु। अनलाइनबाट पनि सिकाउँछु। सयपत्री खेती मात्रै धेरै विस्तार गर्न सफल भएको जस्तो लाग्छ। यसपटक सबै किसानको गरेर ५०औं बिघा पुग्यो। उनी भन्छन्, ‘धेरै किसान खेतीबारे अनविज्ञ छन्। यसैले कति बेला कसरी लगाउने, फूलमा किरा लाग्दा, रोग लाग्दा कसरी गर्ने ? तिहार ढिला भयो तर फूलचाँडो फूल्यो के गर्ने भनेर दिनभरि फोन आएर भ्याइनभ्याइ हुन्छ।’ 

फूलखेतीबाट व्यवसायीकता सम्भव छ भन्ने उदाहरण उनी आफैं हुन्। मिहिनेत र लगन गरे सबै फूल खेतीलाई व्यावसायिक रूपमा गर्न सकिने भए पनि सबै फूलमध्ये सयपत्री बाह्रैमास फुल्ने र लगानी पनि सस्तो पर्ने भएकाले उनको रुची यसमा भएको बताउँछन्। उनकाअनुसार नेपालमा सयपत्रीको बाह्रै महिना बजार छ। नेपालमा आन्तरिक उत्पादन नभएर अधिकांश भारतबाटै आयात हुने गरेको छ। यसैले नेपालमै फूलको उत्पादन बढाउन उनी जोड दिन्छन्। यो खेतीप्रति उनको गहिरो प्रेम छ। यसैले अबको बाँकी जीवन पनि फूलमै रमाउन चाहन्छन्।

तिहारमा मात्रै १५ लाख बढीको बिक्री

पाख्रिनले हरेक वर्ष लाखौंको फूल बिक्री गर्छन। वार्षिक ३०–३५ लाख हाराहारीमा आम्दानी हुने गरेको सुनाउँछन्। कठ्ठामा एक क्विन्टलसम्म उत्पादन हुने तर बजार भाउअनुसार सामान्य समयमा प्रतिमाला ४०–६० रुपैयाँ तर तिहारमा अलि महँगोमा बेच्छन्। खुद्रा मूल्य १०० सम्म बिक्री हुन्छ। तिहारमा माग बढी हुने भएकाले पनि गत वर्ष मात्रै १५ लाख बढी आम्दानी गरेका थिए। अहिले भने उत्पादन तुलनात्मक राम्रो भएकाले बढी आम्दानी गर्न सकिने अपेक्षा छ। किनभने फूलको माग तिहारपछि छठ र एकादशीसम्म राम्रो हुन्छ। 

तिहारमा व्यापारीको माग उच्च हुन्छ। धेरै काठमाडौं, ललितपुर र यसपछि  चितवन, सुर्खेत, धादिङबाट माग आउने गरेको छ। प्रायः थुंगाभन्दा पनि यतिबेला फूलको मालाको माग अधिक छ। यसअघि प्रतिकेजी ५ सय रुपैयाँ हाराहारीमा बिक्री गरेका थिए। एक केजी फूलबाट करिब पाँचवटा माला बनाउन सकिने उनको भनाइ छ। एकपल्ट फुलेपछि दुईमहिनासम्म टिपेरर बेच्न पुग्छ। यतिबेला फूल बेच्न भ्याइनभ्याइ भएको छ। यसैले सदा १० जना कामदार भएकोमा अहिले फूल टिप्न मात्रै २० जना र माला गाँस्ने गरेर ३० जना जति खटिएका छन्। सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ बचाउँछन्।

नेपालको मौसमले गर्दा सयपत्रीको बीउ उत्पादन सम्भव नहुने भएकादे भारतबाटै ल्याउनु परेको उनले सुनाए। बर्सेनि बीउ मात्रै ७–८ लाख रुपैयाँबराबरको ल्याउने गरेका छन्। आफ्ना लागि मात्रै नभएर अरुलाई पनि बीउ, बिरुवा बिक्री गर्ने गर्छन्।

चार सन्तानको खर्च फूलकै आम्दानीबाट 

आफूमात्रै होइन अहिले फूल खेती गर्ने सबैको कमाइ राम्रो भएको उनी बताउँछन्। उनकाअनुसार फूलखेती, व्यवसायबाट मात्रै देशभर नै ३५–४० हजार जनाले रोजगारी पाइरहेका छन्। फूलको माझ रम्ने बानी परेको छ। उनको आम्दानीको स्रोत अरू छैन। ४ जना सन्तान र दम्पती गरेर परिवारको सबै खर्च पुर्‍याउन सफल भएका छन्। यसैले जिन्दगी नै यसैमा बिताइदिने उनको सोच छ। अझै उनीमा थप जोश र जाँगर चलेको छ। किनभने अझै पाख्रिन फूल खेतीका लागि १० बिघा जमिन पुर्‍याउने योजनामा छन्। 

फूलको स्याहार

फूल राप्नदेखि उर्काउन माहिर पाख्रिन अरूलाई समेत सिकाउने प्रशिक्षक सरह बनिसकेका छन्। ‘फूल उत्पादनका क्रममा राग लाग्नेलगायतका समस्या हुन्छन्। फूलका लागि सिँचाइ हुनुपर्छ। समय समयमा औषधि हाल्नुपर्छ। रोग के लागेको थाहा हुनुपर्छ,’ उले अन्नपूर्णसँग भने, ‘मैले भने काम गर्दा गर्दै सिकेर पोख्त भएँ। सिक्नका लागि कलकत्ता पनि गएँ। अरू त आफैंले गर्दा गर्दै अनुभव भयो।’ उनकाअनुसार सयपत्री फूलमा लाग्ने सबैभन्दा खतरा रोग ब्लाइड अर्थात् कालो हुनु हो। यसको उपचार समयमै गरे लगायको खेती नास नहुने भएकाले यसमा लगानी गरेअनुसार आम्लानी र जीविकोपार्जन हुने भएकाले सम्भावना राम्रो भएको उनको तर्क छ। 

तरकारी, खाद्यबाली जस्ता खेतीबाहेक पछिल्लो समय फूल खेतीले पनि व्यावसायिकताको रूप लिँदै छ। पाख्रिनकै प्रेरणाअनुसार पनि धेरै ठाउँका व्यक्तिहरूले बाह्रमासे सयपत्री फूलको खेती गरिरहेको उनले जानकारी दिए। उनको व्यवसायप्रति अहिले देशव्यापी चर्चा हुन्छ। धेरै सञ्चारमाध्यमले पनि उनको कामलाई सम्मान गर्दै स्थान दिएका छन्। जसले गर्दा उनको प्रचारले धेरैले फोन गर्ने र उठाउन भ्याइनभ्याइ हुने गरेको सुनाउँछन्। यसक्रममा अधिकांशले उनीसँग यो खेत ीगर्न चासो राख्ने गरेका छन्।

बजारीकरण भएन

अहिले फूलबाट बिचौलीयाले फाइदा उठाए भनेर दोष दिन नसुहाउने उनको तर्क छ। उनकाअनुसार प्रतिमाला ५०–६० रुपैयाँमा किनेर १ सय रुपैयाँमा बेच्नु अनुपयुक्त होइन। समग्रमा यो खेतीमा खर्च कम र आम्दानी राम्रो भएकाले सम्भावना अधिक भएको सुझाव दिन्छन्। तर, उत्पादित खेतीको बजारीकरणमा सरकारले ध्यान दिए यस्को व्यावसायिक खेतीको सम्भावना छ। 

अहिले नेपालमा उत्पादित हुँदा पनि भारतबाट थुप्रै माला ल्याइएका छन्। यहीं उत्पादन भएकालाई राम्रो बजारसम्म पुग्ने संयन्त्र बनाउन उनले सरकारको ध्यानाकर्षण गराए। तर विडम्बना नेपालमै खेतीबाट भविष्य बनाउन युवालाई सरकारले बीउसमेत उपलब्ध गराइदिन नसक्ने उनको गुनासो छ। ‘नेपालकै बीउले फूल राम्रो फुल्दैन। भारतबाट बीउ ल्याएर किसानले कहाँ लगेर फूल बेच्ने। उत्पादनको सुनिश्चितता हुनुपर्‍यो। कमसेकम भारतमा त मन्डीमा लगेर बेच्ने। जसोतसो बिक्री हुन्छ। तर नेपालमा त्यस्तो स्थिति छैन,’ उनले सरकारको ध्यानाकर्षण गर्दै भने, ‘त्यसैले नेपालमा सधैभरि यो खेती गर्नेभन्दा पनि तिहारमा मात्रै गर्नेहरू छन्। बजारीकरणको व्यवस्था भैदिए धेरै युवाहरू फूल खेतीमै आकर्षित हुने थिएँ।’ 

सरकारले बजारीकरण मात्रै गरी दिए बर्सेनि सयपत्री फूलमा बाहिरिने करोडों रुपैयाँ नेपालमा बच्ने उनको ठहर छ। यसैले पनि अरूलाई यो पेसामा प्रोत्साहित गर्न अब सरकारले पनि भूमिका खेल्न जरुरी भएको उनले औंल्याए। यद्यपि, नेपालमा फूलको उत्पादन बाह्रै महिना सम्भव छ भन्ने प्रमाणीकरण फूलका मालिक पाख्रिनले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.