चाडपर्व सुरक्षाका लागि ५० हजार प्रहरी
काठमाडौं : तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा प्रहरीले देशभरको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। देशैभर शान्ति सुरक्षा कायम गर्न प्रहरीले ५० हजार ३ सय प्रहरी कर्मचारी खटाएको छ। विशेष गरी चाडपर्वमा बढ्नसक्ने चोरी, ठगी, लुटपाट र अपराधका घटना न्यूनीकरण गर्न प्रहरी परिचालनमा कडाइ गरिएको हो।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार नागरिकको जनधनको सुरक्षाका लागि प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ। भिडभाडमा हुनसक्ने दुर्घटनालार्ई मध्यनजर राख्दै मापसे चेकजाँच, सवारी चेकजाँच तथा विभिन्न ठाँउमा सुरक्षा चेकजाँच बढाएको छ। कडायत भन्छन््, ‘चाडपर्वको बहानामा हुनसक्ने अपराधका घटनामा नागरिक सचेत हुनुपर्छ।’
काठमाडौंं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेसराज मैनालीले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेका छन्।
मैनाली भन्छन्,‘चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलार्ई पनि ट्राफिकमार्फत निगरानी बढाइएको छ। उपत्यकामा मात्रै चाडपर्व लक्षित सुरक्षाका लागि ७ हजार ६३३ प्रहरी परिचालन गरिएको छ।’
पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको कारोबार नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान प्रहरीको अनुरोध छ।