पुरानो रिसिइबिलाई लिएर दुई युवाबीच कुटाकुट, एकजनाको मृत्यु
गुलरिया : बर्दियाको गुलरिया नगरपालिका - ५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका -६ निवासी २३ वर्षीय बरुण घिमिरेको मृत्यु भएको हो।
लक्ष्मीपूजाको दिन मध्यरातमा पुरानो विवादलाई लिएर झगडा उत्पन्न भएपछि मारपिटका क्रममा घिमिरे गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । बरुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै पक्षले मादकपदार्थ सेवन गरेको पाइएको छ ।
फरार रहेका युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल मुचुल्का उठाएको छ । राती साढे १२ बजेतिर घटना भएको हो । घटनास्थलबाट प्रहरीले चप्पल तथा हेलमेट भित्रको कपडा बरामद गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए ।