चीनले दियो उपल्लो मुस्ताङीलाई खाद्यान्न र लत्ताकपडा
जोमसोम : नाका खुलेको पहिलो दिननै उपल्लो मुस्ताङीले ठुलै परिमाणमा राहत सामग्री पाएका छन्। उपल्लो मुस्ताङका लागि उत्तरी छिमेकी देश चीनले १ लाख केजी खाद्यान्न र लत्ताकपडा राहत स्वरुप वितरण गरेको हो।
नेपाल-चीन (नेचुङ-लिजी)कोरलानाका उद्घाटन अघि आइतबार उपल्लो मुस्ताङी जनप्रतिनिधि तथा सरोकारवालाहरूको रोहबरमा चीनले नाकाकै आफ्नो भूक्षेत्र लिजीमा भाग लगाएर छुट्याएको थियो। तर घर लैजान दिएको थिएन।
नाका शुभारम्भ भएसंगै चीनले उपल्लो मुस्ताङीलाई दिएको ठूलो परिमाणको राहत सामग्री घर लैजान अनुमति दिएको थियो। चीनले कम्बल, सिरक, डसना,चिया (भाक्टु),घीउ र नुन आदी राहत स्वरुपमा प्रदान गरेको लोमान्थाङ-५ का वडासदस्य छेवाङ रिन्जिङ गुरुङले जानकारी दिए।
यसैगरी मुस्ताङको (नेचुङ-लिजी)नाका खुला भएसँगै सोही स्थानबाट चीनले उपल्लो डोल्पाका नागरिकलाई पनि खाद्यान्न तथा लत्ता कपडा राहत स्वरुप उपलब्ध गराएको जनाइएको छ।
सोमबार नाका विधिवत उद्घाटनसहित खुल्ला हुने दिनमा राहत सामग्री ढुवानी गर्न दर्जनौं ट्रक तथा ट्याक्टरहरू कोरलानाका पुर्याइएको थियो।नाका खुलेको दिन उपल्लो मुस्ताङीहरूले व्यक्तिगत रुपमा पनि चिनिया सामान किनमेल गरी र्फिर्कएका थिए।
उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दालाई बेलाबेलामा चीन सरकारले खाद्यान्न तथा लत्ता कपडाहरू राहत दिने गरेको थियो। कोरोना कहरका कारण चीनले नाका बन्द गरे तापनि सो समयमा ठूलो परिमाणमा उपल्लो मुस्ताङीलाई राहत दिने गर्थ्यो।