तिहारको शुभकामना दिँदै सभामुख घिमिरेले भने : संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्
काठमाडौं : सभामुख देवराज घिमिरेले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति भएको बताएका छन्। बुधबार तिहारको शुभकामना दिँदै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको दाबी गरेका हुन्।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो। ’ उनले भने,‘ संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौं। संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्। विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्।’
तिहारले दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गरी आपसी सम्बन्धलाई अझ बलियो हुने उनको भनाई छ।vउनले आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वास समेत व्यक्त गरे।
तिहार हिन्दू धर्मावलम्बीहरूको दसैं पछिको सबैभन्दा ठूलो पर्व हो। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। महान् साँस्कृतिक पर्व तिहारमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ। तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ।