सप्तरंगी तिहारको महत्व के छ ?
नेपालमा बडादसैं जस्तै तिहारको पनि त्यत्तिकै महत्व छ । कतिपयले त दसैंलाई भन्दा तिहारलाई बढी महत्व दिने गर्छन् । हिन्दुहरुको दोस्रो प्रमुख चाड तिहार दीपहरुको झिलीमिलीको चाड भएकाले यसलाई दीपावली पनि भन्ने गरिन्छ । तिहार कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म कागतिहार, कुकुरतिहार, लक्ष्मीपुजा (दिपावली), गाईतिहार, र भाइतिहार (टीका) गरेर पाँच दिन लगातार मनाइने गरिन्छ । यसरी पाँच दिनसम्म मनाइने हुनाले तिहारलाई यमपंचक पनि भनिन्छ ।
हिन्दुहरूको यो महान् चाड तिहारको आफ्नै व्यवहारिक, सांस्कृतिक, तथा मनोवैज्ञानिक महत्व छ । कसैले यो चाड माने पनि नमाने पनि, लक्ष्मीपूजा गरे पनि नगरे पनि, भाइटीका लगाए पनि नलगाए पनि, यो चाड पूर्णरूपमा वैज्ञानिक तथा मनोवैज्ञानिक जगमा खडा भएको कुरा चाहीँ सत्य हो ।
तिहारको पहिलो दिन कागपूजाका दिनमा घरआँगनको फोहोरमैला सफा गर्ने र किम्वदन्तीका अनुसार हुलाकीको काम गर्ने कागको पूजा गरिन्छ । कुकुर तिहारका दिन घरको रखवाली गर्ने कुकुरको पूजा गरेर कुकुर तिहार मनाइन्छ । लक्ष्मीपुजाका दिन धनकीदेवि लक्ष्मीको पुजा र दिपावली गरेर मनाइन्छ । गाईतिहारका दिन गाईको पूजा गरेर गाईतिहार मनाइन्छ ।
गाई हिन्दुहरूका लागि आमा जस्तै हुन् । त्यसैले गाईलाई गौमाता भन्ने गरिन्छ । लक्ष्मी पनि भन्ने गरिन्छ । गाईको दुःध जति पोशिलो हुन्छ, त्यत्ति नै गाईको पिसाब र गोबर गुनिलो हुन्छ । वास्तवमा गाई एक औषधालय हो । हिन्दुहरूको जीवनमा गोरुको पनि कम महत्व छैन । त्यसैले गोरुतिहार र गाईगोरुको संरक्षण तथा संवृद्धिका लागि गोवद्र्धनपूजा गर्ने चलन चलेको हो ।
तिहारको अन्तिम दिन भाइटीका पर्छ । यस भाइतिहारमा दिदी-बहिनी-दाजु-भाइ जम्मा भएर अष्ट चिरञ्जीवी (अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, परशुराम, प्रल्हाद) र यम-यमुनाको पूजा गरी दाजुभाइलाई दिदीबहिनीले निधारमा मंगलटीका र कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिएर मनाउने गरिन्छ ।
दसैंतिहार होस् वा कुनै पनि बेलमा होस्, निधारमा टीका लगाउने प्रचलन हाम्रा ऋषिमुनी (प्राचिन वैज्ञानिक) हरुको महान् आविस्कार हो । निधारमा टीका लगाउनुका वैज्ञानिक महत्व छ ।
दुई आँखीभौंको विचको भाग अर्थात् भृकुटी, जहाँ टीका लगाइन्छ, त्यो पिनियल ग्लैण्डको केन्द्र (योग विज्ञानका अनुसार आज्ञा चक्रको केन्द्र वा त्रिनेत्र) हो । त्यसैले यस केन्द्रमा टीका लगाउनाले आज्ञा चक्र वा पिनियल ग्लैण्ड सक्रिय हुन्छ, जसले गर्दा मस्तिष्क शक्ति तथा चेतना शक्ति बढ्छ ।
झिलिमिलीको चाड, तिहारमा घरलाई झिलिमिली बनाइ पुजाआजा गर्ने तथा टीका लगाउनुको साथै भैलो र देउसी खेल्ने परंपरा छ । देउसीभैलोको पनि आफ्नै समाजिक तथा मनोवैज्ञानिक महत्व छ । यो परंपरा मनोरञ्जनका साथसाथै समाजिक सद्भाव विकासका लागि सुरु गरिएको अनुमान गर्न सकिन्छ ।
शब्दकोशका अनुसार कार्तिक कृष्ण औँसी र गाईतिहारका दिन लक्ष्मीपूजाको उपलक्ष्यमा गाइने विशेष किसिमको गाथा वा गीत र त्यस्तो गीत घरघरमा गाउँदै हिँड्दा श्रद्धाले दिइएको चिज लिँदै हिँड्ने-सांस्कृतिक उत्सव मनाउने काम भैलो हो । भैलो लक्ष्मीपूजा गरेपछि मनाउने चलन हो ।
लक्ष्मीपूजाको वा गाईतिहारको भोलिपल्ट र पर्सिपल्ट (भाइटीकाको दिन) घरघर घुम्दै एउटा (नायक)ले भटयाउँदै सहयोगीहरूले सम्याउने आसिकसूचक गाथा र सोही गाथाले गाउँदै माग्दै आसिक दिन काम देउसी हो ।
अतः देउसी र भैलो अलग-अलग किसिमको सांस्कृतिक उत्सव हुन् । देउसी र भैलो खेल्ने दिनमात्र होइन तरिका पनि फरक छ । तर हिजोआज यस उत्सवलाई दालभातझैँ एकठाउँमा पुछेर ३ दिन होइन कि हरिबोधनी एकादशीसम्म डाँकालेझैँ घरघरको ढोका ठटाएर जबरजस्ती पैसा असुलेर मनाउने कुप्रवृत्ति बढेको छ ।
हाम्रा हरेक परंपरा तथा सांस्कृतिक पर्वहरूमा यसरी नै दिनप्रति दिन विकृतिहरू हावी हुँदै गएको छ । यहाँ नियमकानुनहरू केवल हात्तीको देखाउने दाँत जस्तै भएका छन् । एउटा सानो उदाहरण लिऊ । हरेक वर्ष स्थानिय निकायहरूले एउटा औपचारिकता निभाउँछन्, देउसीभैलोलाई ५१ रूपैयाँ भन्दा बढी चन्दा तथा दानदक्षिणा नदिन सर्वसाधारणका नाउँमा सूचना जारी गर्छन् ।
तर त्यसको पालना स्वयं नगरप्रमुख तथा गाविसप्रमुखले गरेको पाइँदैन । वरिष्ट प्रहरी अधिकृतका घरहरूमा नै पटकाहरू पड्किएको देखिन्छ । आम नागरिकको कुरा परै छोडौँ, नेताका कुराहरू त झन् परै छोडौँ, आफुलाई समाजका सचेत नागरिक हौ' भन्नेहरूले (केही अपवादलाई छोडेर) समेत यसको पालना गरेको देखिँदैन ।
देउसीभैलोमा जबरजस्ती पैसा ऐठने कार्य जति निन्दनीय छ, त्यत्ति नै खतरनाक पनि छ । जुन उद्देश्यका लागि यो उत्सवको सुरुवात गरिएको हो, हिजोआज त्यसैको गला रेट्ने कार्य हुँदै छ । ठूलाको सिको सानाले गर्दैछन् ।
सिंघान पुछ्न नजान्ने फुच्चेहरूका लागि त तिहार भनेको पैसा माग्ने दिन जस्तो भएको छ । ठूलाको सिको गर्दै यस्ता फुच्चेहरू घरघरमा जान्छन् र सिधै यसरी पैसा माग्छन्, झिलिमिली झिल्का, सय रुपैयाँ मिल्ला । देउसीभैलोलाई धन्दा बनाउनेहरूको देखासिखीले गर्दा नै यसरी कलिला मस्तिष्कहरूमा भिखारी मनोविज्ञान विकास हुन पुगेको हो ।
हो, अहिलेको युगमा रूपैयाँ-पैसा अत्यावश्क कुरा हो । रूपैयाँपैसा बिना मानिसको जीवन चल्न सक्दैन । आममानिसको कुरा त परै छोडौं, घरपरिवार सबकुछ त्यागेका सन्यासीलाई समेत पैसा आवश्यक पर्छ । रूपैयापैसाको यही महत्वलाई ध्यान दिएर नै लक्ष्मीपूजाको सुरुवात भएको हो । लक्ष्मीपूजाको आफ्नै किसिमको विशिष्ट महत्व छ । यो व्यवहारिक र वैज्ञानिक कुरा पनि हो । पौराणीक कथा अनुसार लक्ष्मी विष्णुकी पत्नी, धनकी अधिष्ठात्री देवी हुन् ।
अर्को शब्दमा भन्ने हो भने लक्ष्मीदेवि त्यत्ति बेलाकी अर्थमन्त्री जस्तै हुन् । त्यसैले ढुकुटीको साँचो लिएर बसेकी लक्ष्मीको पूजा गरेपछि धनसम्पत्ति पाइन्छ भन्ने मान्यता बसेको हो । जस्तो कि अहिले जसले अर्थमन्त्रीको जति पूजा गर्न सक्दछ, त्यत्ति नै बजेट निकासा पाउँछ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो ।
मनोवैज्ञानिक दृष्टिले लक्ष्मी तथा सरस्वती आदि जस्ता देविदेउताहरू मानव मनमस्तिष्कमा गहिरो ज्ञान राख्ने ऋषिमुनीहरू(प्राचिन वैज्ञानिकहरू) को एक महान् मनोवैज्ञानिक आविस्कार हो । यस्ता मनोवैज्ञानिक टेक्नोलोजीलाई नै चलाखीपूर्ण ढंगले धर्मसंस्कृति मार्फत् जनमानसको जीवनशैलीमा ल्याइएको हो ।
लक्ष्मीपूजाको वैज्ञानिक तथा मनोवैज्ञानिक आधार भनेको नै न्यूरो-कण्डिसनिड्ड सिद्धान्त हो । यो सिद्धान्तलाई प्रसिद्ध मनोवैज्ञानिक पैवलवले कुकुरमा प्रयोग गरेर देखाएपछि यो सिद्धान्त ‘पैवलवको क्लासिकल कण्डिसनिड्ड सिद्धान्त’ का नाउँमा चर्चित भएको हो ।
त्यसैले शान्त मनले एकाग्र भएर धनकी देवि लक्ष्मीको पूजाप्रर्थना गर्नुको एक मात्र उद्देश्य धनमनस्थितिको मस्तिष्क पुनर्संरचना (बे्रन रिवाइरिंग) गर्नु हो । ‘लक्ष्मी बे्रन’ पैदा गर्नु हो । यो एकदम सम्भव र वैज्ञानिक कुरा हो ।
मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ ।
मानिसले चाहेको खण्डमा जुनसुकै उमेरमा पनि मस्तिष्कको रिवाइरिंग गर्न सक्दछ । मस्तिष्कको सवालमा बुढो कुकुरलाई नयाँ टेक्निक सिकाउन सकिँदैन भन्ने उखान पुर्णरुपमा लागु हुँदैन । हो, कुनै कुनै बुढो कुकुरलाई नयाँ टेक्निक सिकाउन केही बढी समय लाग्न सक्दछ ।
मस्तिष्कको पुनर्संरचनामा मनको सबै भन्दा ठूलो हात हुन्छ । अर्को शब्दमा भन्ने हो भने मन नै मस्तिष्क पुनर्संरचनाको मुख्य औजार हो । मनले मस्तिष्क पुनर्संरचना गर्न सक्ने कुरा एकदम सत्य हो ।
एक खुंखार डाँका रत्नाकर कसरी महर्षि ‘वाल्मिकी’ भए ? अगुंलीमाल जस्तो हत्यारा कसरी बुद्धको चेला बन्न पुग्यो ? के मस्तिष्क पुनर्संरचना बीना यो सम्भव थियो ? कदापि थिएन ।
सिद्धार्थ गौतम पनि जन्मिदै बुद्ध भएका होइनन्, ध्यानद्वारा मस्तिष्क पुनर्संरचना गरेर ‘महात्माबुद्ध’ भएका हुन् । अतः ध्यान मन प्रशिक्षणको एक सर्वोत्तम मनोवैज्ञानिक विधि हो ।
ध्यानको यही महत्वलाई बुझेर नै प्राचिन ऋषिमुनीहरुले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन् । पुजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकिर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि ध्यान नै हो । मनको प्रशिक्षण हो । निधारमा टीका लगाएपछि ध्यान कहाँ जान्छ, निधारमा । होइन र ?
- (अन्नपूर्ण पोस्ट् यस अगाडि प्रकाशित ओम बानियाँको लेख पुन आज तिहार विशेषमा प्रकाशित गरिएको छ।)