कसरी सुरू भयो भाइटीका ? थाहा पाउनुहोस् पूजाविधि

कसरी सुरू भयो भाइटीका ? थाहा पाउनुहोस् पूजाविधि
फाइल तस्बिर।

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । 

यो दिन दिदीबहिनीले दाजुभाइलार्इ मेवा-मिष्ठान मनपर्ने कुरा दिने दिने गरिन्छ । त्यसैगरि दाजुभाइले दिदीबहिनीलार्इ दान-दक्षिणा तथा वस्त्र दिने परम्परा छ।  यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ । 

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। तिहारका यी पाँच दिन इन्द्रादी दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेको कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गरिन्छ।

सुरूवात 

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वी लोकमा बस्थिन्। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन्। त्यो बेलामा यमपञ्चक परेको थियो।

यमपञ्चकभर यमराज यमुनाको घरमा बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरेर उपहार दिइन् अनि दाजुसँग आशिर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको विश्वास गरिन्छ ।

यस्तो छ पूजा विधि

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट भइ सम्बन्धमा आएको चिसोपन हटाएर मिलन गराउने पर्वका रूपमा लिइन्छ । अर्कातिर दाजुभाइ दिदीबहिनीबीचको सम्बन्धलाई अझ दीगो बनाउने माध्यमका रूपमा लिइन्छ। 

यमपञ्चकको पाँचौं दिन पर्छ भाइटीका । दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको पान-सुपारी आदि दिएर भाइटीकाको निम्ता दिन्छन् । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान, विभीषण, पर्शुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्। 

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो र सयपत्रीको माला चाहिन्छ । त्यसैगरि रोटी र मीठा-मीठा परिकार पनि तयार गरिन्छ ।  सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। 

पानी र तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ। 

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। 

दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन्। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।

टीकाको साइत ? 
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ।

रंगको अर्थ 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.