महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालले दियो ११४ रनको लक्ष्य
काठमाडौं : नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ११४ रनको लक्ष्य दिएको छ। हङकङमा जारी महिला टि-२० आई सिरिजमा नेपालले ४ विकेटको क्षतिमा जापानविरुद्ध ११३ रन बनाएको हो।
टस जितेर जापानले पहिले फिल्डिङ रोजेको थियो। निर्धारित ओभरमा काजल श्रेष्ठ र अस्मिना कर्मचार्य अविजित रहे।
नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। त्यसैगरी कप्तान इन्दु बर्माले २७ रन, काजल श्रेष्ठले १५ रन, पूजा महतोले १३ रन, सीता रानामगरले ९ रन र अस्मिना कर्मचार्यले १ रनको योगदान गरिन्।
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपाल र जापान दुबै देश दुई खेलमा पराजित भइसकेका छन्। उनीहरु जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो।
महिला टि–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आइसिसी बरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन्।