तनावरहित मन, रोगरहित शरीर
खानपानमा सुधार गर्ने र नियमित योग गर्ने हो भने मानिसलाई ७० वर्षसम्म हत्तापत्ता रोगले छुँदैन। तर, कामको दौडधुपले स्वास्थ्यको ख्याल गर्दैनौं। शारीरिक परिश्रम गर्न भ्याउँदैनौं। त्यसले धेरै समस्या देखा पर्ने गर्छ।
‘शवासनमा सुत्नुहोस्।’ यो भनाइसँगै उनीहरूले पसिनाले लुछुप्पै भिजेको आफ्नो शरीरलाई योगम्याटमा लमतन्न ढलाइदिए। केहीबेर सल्बलाए। ६०–७० जना साधकसाधिका शवासनमा ढलिरहेका छन्। केहीबेरको शवासनपछि ढलिरहेको शरीर केही ओभाउँछ। उनीहरू शवासनमा रहेर गहिरो आनन्दको मजा लिइरहेका छन्। जसले करिब एक घण्टाको कठिन शारीरिक श्रम र पच्चीसपटक सूर्य नमस्कार गरेर निथ्रुक्क पसिना काढेका थिए।
योगपछि गरिने ध्यान गर्ने एउटा विधि हो, शवासन। शवासन भन्नु नै हलचलबिना शरीर प्राणविहीन जस्तै बनाएर भुइँमा निदाएको अभिनय गरिन्छ। जतिबेला योग गर्ने व्यक्ति सजग रहन्छ। बाहिरी आवाजलाई यसबेला उसले जस्ताको तस्तै स्वीकार्छ। यो आसनमा पालना गर्नुपर्ने केही नियम योगगुरु कान्छाभाइ महर्जन बताउँदै थिए। भन्दैथिए, शवासनमा पुगेपछि सबै कुरा बिर्सनुस्, आफूलाई सुन्दर धर्तीमा जन्मदिने बाबुआमा र यो धरतीप्रति कृतज्ञ हुनुहोस्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गान्धी भवन परिसर सदा झैं बिहान बिहान यसरी नै सल्बलाउँछ। ५ नबज्दै योगम्याट बोकेर कुदिरहेका साधकसाधिकाहरू गान्धी भवन परिसरमै भेटिन्छन्। गान्धी भवनको विपरीत दिशा छ, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय। पुस्तकालयमा बसेर अध्ययन गर्न बिहानै त्रिवि पुग्ने विद्यार्थीको चहलपहल त्यहाँ देखिने अर्को सुन्दरता हो।
अझ पुस्तकालयको गेटमा ५ नबज्दै लाइन लागेका झोलाहरू निकै सुन्दर देखिन्छन्। पालो पर्खन गेटमा राखिएका प्रत्येक झोलाले एक विद्यार्थीको प्रतिनिधित्व गर्छन्। झोलासँगै लाइनमा छ, सयौं विद्यार्थीको सपना पनि। सुन्दर भविष्यको आशामा शान्त वातावरणमा अध्ययन गर्न उनीहरू सखारै त्रिवि पुस्तकालय पुग्ने गर्छन्। पुस्तकालयमा पठन कक्ष छ। जहाँ शान्त बसेर पढ्न सकिन्छ। ‘पिनड्रप साइलेन्स’मा पढिरहेका विद्यार्थीको दृश्य देख्दा निकै अलौकिक महसुस हुने गर्छ। कोही परीक्षा तयारी गर्न आएका हुन्छन्, त कोही लोकसेवा आयोगको तयारी गर्न। ७७ जिल्लाका ७७ थरी भाषा, भेष र चालचलनको मिश्रण पुस्तकालय परिसरमा देखिन्छ।
गान्धी भवन पुग्ने हरेक व्यक्ति योग, ध्यान अनि साधनाको स्वादले भरिएका हुन्छन्। शारीरिक स्फुर्तिको स्वाद अनि चाहनाले बेतोडमा छट्पटिन्छन्। दिनभर क्रियाशील बन्न योगध्यान जरुरी छ। विश्वविद्यालय परिसरमा निकै सुन्दर माहोल छ। कलात्मक भवनहरू, अनेकथरी बोटबिरुवा र प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जोकोही मन्त्रमुग्ध बन्छ। बिहानको स्वच्छ हावा स्पर्श गर्न पुग्नेहरू प्रायः त्रिवि परिसरमा टहलिन रुचाउँछन्। यसका लागि नजिकै छ, रोज गार्डेन। जहाँ वर्षभरि रंगीविरंगी फूल फुलिरहन्छन्।
कीर्तिपुर योग विज्ञान समूहले २०६५ सालदेखि उक्त भवनमा निःशुल्क योग सिकाइरहेको छ। शारीरिक रूपमा बिरामी भएका व्यक्ति हुन् या काम र जिम्मेवारीले थाकेर लोत भएका अथवा मानसिक रूपमा विक्षिप्त व्यक्तिहरू, कोही ध्यानमा लीन हुन्छन् त कोही भजन कीर्तनमा अनि कोही कठिन योगआसनमा लालायित हुन्छन्। कोही त योगका नृत्यमा असाध्यै रमाउँछन्। बिहान ५ देखि ७ बजेसम्मको २ घण्टाको योगप्याकेजमा शारीरिक एवं मानसिक दुवै फाइदा हुन्छ। जसमा ध्यान, साधना, भजन कीर्तन र अन्य क्रिया समावेश छ। यसैले पनि यहाँको योग बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा पर्ने गर्छ। यसरी स्वास्थ्य बन्न चाहने व्यक्तिका लागि दैनिकी बनिरहेको छ।
योग शिक्षक राजमान महर्जनले कोरोनाको समयमा समेत अनलाइनबाटै योग सिकाए। सामाजिक सञ्जालमा लाइभ योग गरेर नै एकैपटक सयौं व्यक्तिलाई एकै समय योग सिकाइरहेका हुन्थे। घरको छतमा बसेर योग गरेको लाइभ देखाउने उनी भन्छन्, ‘हामीले खानपान र दैनिकीलाई ख्याल गर्यौं भने योगले धेरै रोग नियन्त्रण हुन्छ।’ उनी थप्छन्, ‘मानसिक रूपमा विक्षिप्त भएको व्यक्ति होस् या एन्जाइटी भएको व्यक्ति होस्, हरेक दिन नियमबद्ध रूपमा योगमा जोडिन आवश्यक छ। योगले शारीरिक र मानसिक रूपमा मात्रै हैन, जीवनदेखि हार खाएको, असफलतादेखि थाकेको व्यक्तिलाई समेत मार्गदर्शन गर्छ। यसले जीवन जिउने कला सिकाउँछ। आफूजस्तै समस्या भोगेर बाचेकाहरूसँग भेटाउँछ। अनुभव सेयर गराउँछ।’ नियमित योग गर्ने व्यक्तिलाई एन्जाइटी, डिप्रेसन, फ्रस्टेसनजस्ता समस्या नहुने उनको तर्क छ।
हरेक दिन मोबाइलमा भजन बजाउँदै गान्धी भवन पुग्ने व्यक्ति हुन् गौतम महर्जन। केही वर्षअगाडि पेटको क्यान्सर भएर निको भएका गौतमले मृत्युलाई नजिकबाट भोगे। क्रोनिक रोग जितेर झन्डै ६ दशक पुग्दा पनि उनी नियमित योग गर्छन्। ‘योगको सुरुआतमा बजाइने ॐ कार उच्चारणले मलाई शान्ति प्रदान गर्छ। विभिन्न भगवान्का मन्त्र उच्चारण गर्दै गर्दा श्वासको अभ्याससमेत गर्छु’, उनी भन्छन्।
गौतम भन्छन्, ‘योगले मेरो जिन्दगी नै फेरिदियो। योगको सुरुवातमा बजाइने भजन सुन्दा मनदेखि नै आनन्द प्राप्त हुन्छ। आफूजस्तै समस्या भोग्नेहरूको कथा सुन्दा केही राहत हुन्छ। त्यसैले नियमित धाउँछु।’ उच्च रक्तचापको समस्याले पसलमै ढलेका न्युरोडका व्यापारी रामानन्द पण्डित अहिले पूर्ण रूपमा योगमै लागेका छन्। उनले निकै कठिन आसनका योगअभ्यास पनि सजिलै गर्ने गर्छन्। रोगले उनलाई योग शिक्षक बनायो। प्रशिक्षणमा उनले शारीरिक कठिन अभ्यासलाई जोड दिन्छन्। उनको नारा नै छ, ‘तनावरहित मस्तिष्क अनि रोगरहित शरीर।’
पण्डित भन्छन्, ‘खानपानमा सुधार गर्ने हो र नियमित योग गर्ने हो भने मानिसलाई ७० वर्षसम्म कुनै रोगले छँुदैन। कामको दौडाइमा स्वास्थ्यलाई ध्यान दिन पाएका हुन्नौं। कामको सिलसिलामा लामो समय एकै ठाउँ बस्ने र शारीरिक परिश्रम गर्न भ्याएका हुन्नौं। यसले गर्दा धेरै समस्या देखा पर्ने गर्छ।’ यस्तै अनुभव छ, लक्ष्मी हमालको पनि। ढाड दुख्ने रोगले निकै आजित भएकी उनी नियमित योगकै कारण स्वस्थ जीवन बाँच्न पाएकी छन्। भन्छिन्, ‘हातखुट्टा दुख्ने, घुँडा दुख्ने, ढाड दुख्नेलगायतका अनेक समस्या औषधि नै नगरी ठीक हुन्छ।’
पाल्पाका माधव खनाल पनि योग साधनामा निकै खुलेर नाच्ने गर्छन्। योगका कठिन आसन पनि सजिलै पूरा गर्छन्। टाउकोमा समस्या भएर अप्रेसन गराएका खनालले योगमा जोडिएपछि धेरै राहत मिलेको जानकारी दिए। उनी भन्छन्, ‘विभिन्न गुरुहरूले धेरै कुरा सिकाउनु हुन्छ। यसले हामीलाई जिउन सजिलो हुन्छ।’
यतिमात्रै हैन, ७० वर्षीय मणिकाजी विष्ट पनि हरेक दिन योगकक्षामै भेटिन्छन्। प्रशिक्षकसमेत रहेका विष्ट अनुशासन र ध्यानलाई विशेष महत्त्व दिन्छन्। अर्का प्रशिक्षक जयराम केसी पनि ध्यान र सासको चालमा जीवनको सुन्दरता देख्छन्। घण्टौं ध्यानमा बसाल्ने गुरु विष्णु विष्ट हुन् या विजय गुरु वा गार्डेनमा मजाले उफारेर योगअभ्यास गराउने ऋषि लोहनी गुरु हुन्, हरेक प्रशिक्षक अब्बल छन्।
सुरिलो स्वरमा योग सिकाउने गुरु प्रतीक्षा बुढाको क्रेज बेग्लै छ। सुमधुर संगीतको लयमा छमछमी नाचिरहने बुढा हुन् या निकै कठिन आसन पनि सजिलै गर्ने शान्ति अधिकारी हुन्, उनीहरू योगमै सुखानुभूति गरिरहेका छन्। सबै मानसिक शान्ति र शारीरिक स्वस्थको खोजीमा गान्धी भवन पुगिरहेका छन्। यस्तै कम्मर दुखाइको पीडा कम गर्न हरेक दिन योगा म्याट बोकेरै उकालो चढ्छन् विष्णुभक्त डंगोल। योगबाटै धेरै रोग निको हुन्छ भन्ने विश्वास लिएका डंगोल साधनाले मानसिक र शारीरिक शान्ति प्रदान गर्ने बताउँछन्।
टुँडिखेलमा रहेको मुक्ति योग ध्यान प्रतिष्ठानको सहकार्यमा सुरु भएको कीर्तिपुर योगविज्ञान समाजले सयौं व्यक्तिलाई प्रशिक्षक बनाइसकेको छ। हजारौं साधकसाधिका जन्माइसकेको छ। योग प्रशिक्षक कान्छाभाइ महर्जन भन्छन्, ‘योगमा निरन्तर आउने व्यक्तिहरूले लाभ लिइरहेका छन्। डाक्टरको औषधि खाएर त सबैलाई निको हुँदैन, यस्तै हो योग पनि कसैलाई पूर्णतया ठीक हुन्छ।’ व्यक्तिको शारीरिक र मानसिक अवस्थाअनुसार यसको फाइदा पनि घटीबढी हुन्छ। भन्छन्, ‘जटिल रोग पनि योगले ठीक हुन्छ भनेर दाबी गर्दिनँ, तर अन्य चिजले दिएको मानसिक तनाव चाहिँ योगध्यानले ठीक हुन्छ।’
महर्जन भन्छन्, ‘पहिलेको मानिसले शारीरिक श्रम बढी गर्थे। अहिले मानसिक कामहरू बढी छन्। मानसिक कामले गर्दा व्यक्तिको शारीरिक अभ्यास कम हुन्छ। यसले गर्दा कम उमेरमै ढाड दुख्ने, सुगर र प्रेसरको समस्या हुने, घुँडा दुख्ने, कोलस्टोलजस्ता समस्या देखा पर्छन्। यी रोगको निदान भने योगले गर्छ।’ दिनभरको दौडधूपलाई सन्तुलनमा राख्न ध्यान, व्यायाम र प्राणायाम जरुरी रहेको उनको बुझाइ छ।