तीन दिन तीन रातको रेल यात्रापछि १२ सेप्टेम्बर १९८५ को बिहान साढे नौ बजे एरेभानको रेल–वे स्टेसनमा पुग्यांै। लामो समयको कुराईपछि युनिभर्सिटीका मान्छे मोटर लिएर आए। हामीलार्र्ई केक खुवाए अनि ‘बेस्ट वाटर अफ द वल्र्ड’ भन्दै फोन्टानको पानी पिलाए। गाडीले हामीलार्र्ई लिएर अघि बढ्यो। एरेभान विश्वविद्यालयको प्रांगणमा पुगेर रोकियो। गर्मी भएकाले ती बुखगाल्टेर हामीलार्ई बसमै छोडेर युनिभर्सिटी पसे । यात्राले थकित र गलित थियौं। बसमै झुप–झुप निँद लाग्यो। केहीबेरमै झस्ल्याङ्ग ब्युझिएँ। आँखा खोलेर बाहिर हेर्छु त सलङ–बलङ, सलङ–बलङ ककेसियन सुन्दरीहरू सल्बलाइरहेका। त्यो दृश्य देख्दा हामी किशोर छँंदा खगराज गौतमले गाँजा सुर्काउँदै भन्ने एकादेशका दन्त्यकथाका परीहरू सम्झें।...
इन्जिनियर साहित्यकार रामबिन्दु श्रेष्ठ ‘सोभियत रुस’ पढ्न जानुभएका बेलाको यौटा प्रसङ्ग हो यो। यो संस्मरणमा लेखकसँगै बाग्लुङबाट दिल्ली हुँदै सोभियत संघका फाँट, समुद्र, विश्वविद्यालयहरू, छात्रावास, आरामगृह र युरोपियन देशहरूलाई एकफेरो मार्न सकिन्छ।
लेखकको शब्दमा त्यहाँ भाषा सिकाउने काइदा शानदार थियो। महिनादिनमै रुसी भाषा बोल्न जानिन्थ्यो। शिक्षिकाहरूले विद्यार्थीलाई आमाबुबाले जस्तै हेरविचार गर्ने चलन थियो। सोभियत संघमा विदेशी विद्यार्थीहरूको अध्ययन घतलाग्दो हुन्थ्यो। लेक्चर हल र छात्रावास तेस्रो विश्वका विद्यार्थीहरूको जमघटको थलो हुन्थ्यो। उनीहरू हरेक आफ्नो देशको कला, भाषा र संस्कृतिका धनी थिए र त्यहाँ उनीहरूले एकअर्काको संस्कृतिलाई आदर गर्न सिके।
आफ्नो जवानीको छ वर्ष उच्च शिक्षामा गुजारेका श्रेष्ठले पुस्तकमा त्यहाँको शिक्षा पद्धति, सोभियत समाज, संस्कृति र सोचको बारेमा प्रकाश पारेका छन्। त्यहाँ विद्यार्थीलाई विषयगत ज्ञानको अतिरिक्त विश्वदृष्टिकोण निर्माणमा जोड दिइन्थ्यो। सुरुमा इन्जिनियरिङको विद्यार्थीलाई केको दर्शन पढाएको होला भनेर लेखकलाई झर्को लागेको थियो। पछि उनले दर्शनको महत्त्व बुझ्दै गए। हामीकहाँ विज्ञान र प्रविधिमा दर्शनको कुरा कहीँकतै पढाइन्न। यसले सोच्ने र विश्लेषण गर्ने मान्छे होइन, कारिन्दा मात्र निर्माण गर्छ।
लेखक त्यहाँको समाज र पद्धतिको चर्चामात्र नभै विश्व इतिहासको सिंहावलोकन गर्नसमेत चुक्दैनन्। सोभियत संघले दोस्रो विश्वयुद्धमा धेरै रगत बगाएको थियो। यसलाई लेखकले ‘सोभियत जनताले आफ्नो अढाइ करोड वीरहरूको निःस्वार्थ बलिदानबाट युरोपको सभ्यतालाई फासीवादी विध्वंसबाट बचाएका थिए र यो मानव इतिहासमा सोभियत जनताको ठूलो देन हो’ भन्छन्। यही उत्सर्गको स्मरणमा त्यहाँ मे ९ का दिनलाई सबैभन्दा ठूलो चाडको रूपमा मान्ने गर्दछन्।
पुस्तकमा लेखक त्यो समाजको प्रशंसनीय पक्षको वकालत मात्र गर्दैनन्, बरु द्रस्टा भएर त्यहाँ झाँगिएका विकृति, विसंगति, अन्तरविरोध र प्रणालीका बेथितीहरूको पनि चिरफार गर्छन्। पुस्तकको नाम ‘सोभियत सम्झनाहरू’ रहे पनि जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड, डेनमार्क, फिनल्यान्ड, स्विडेन, बुल्गेरिया, टर्की, पोल्यान्ड र स्पेन भ्रमण गरिँदाका अनुभूतिको रोचक एवं जानकारीमूलक प्रस्तुतिले कृति थप स्वादिलो बनेको छ। बर्लिन पर्खालले छुट्याएको दुई विश्व प्रणाली, पश्चिमको विकास, झिलिमिली र वैभवतालाई सोभियत सरलता र शालिनतासँग ठाउँ–ठाउँमा दाँजिएको छ।
सोभियतको विभिन्न भूमिमा पुग्दाका बेलीविस्तार होस् वा मस्कोको मेट्रो, अर्मेनियाको संग्रहालय, नेभा नदीको किनारमा रहेको ‘एरमिताझ म्युजियम’, अजरबैजानको बाकु, तुलाको समोभार, टाल्सटायको जन्मस्थल, कृष्णसागर तट, ओडेसाको ‘विजय स्मारक’, लेनिनग्राडको वास्तुकला आदिका वर्णन तथा प्रसङ्गवश ऐतिहासिक चिनारीले कृतिको वैशिष्ट्य अभिवृद्धि गरेको छ।
लेखक रामविन्दु श्रेष्ठले ‘...त्यो कम्सामोलहरूले साइबेरियाको बैकालदेखि आमुरसम्मका रेलमार्ग निर्माणमा भाग लिएको, ती निकोलाई आस्त्रोभ्स्कीहरूले मानव जीवनको मूल्य, मान्यताका लागि संघर्षको भट्टीमा होमिएर अग्निदीक्षा प्राप्त गरेको, गोर्की, शोलोखोभ, मायाकोभ्स्कीहरूले सामाजिक यथार्थवादको नयाँ साहित्य रचेको, मातृभूमिको रक्षार्थ साढे दुई करोड वीर–वीराङ्गनाले त्याग र बलिदानको अनुपम नमुना प्रस्तुत गरेर महान् देशभक्ति युद्धमा जीवन अर्पेको, युद्धबाट क्षत्विक्षत् मुलुकलाई फेरि शून्यबाट उठाएर अन्तरिक्षको उचाइमा पुर्याएको... त्यो देश अब वर्तमानबाट धेरै टाढा पुगिसक्यो...।’ यस्तै सन्दर्भ खुलेर लेखेका छन्। पुस्तक पढ्दा त्यो विश्व इतिहास रचेको सोभियतहरूको देश विघटन हुँदा भावविह्वल भएको लेखकको मनसँगै पाठकको मन पनि खिन्न हुन्छ। यही विलुप्त भइसकेको देशको ‘नोस्टाल्जिया’लाई लेखक पुस्तक लेखनको प्रेरणा मान्छन्।
समग्रमा भन्नुपर्दा, ‘मेरा सोभियत सम्झनाहरू’ करिब आधा दर्जन वर्ष त्यहीको शासन व्यवस्थाको प्रत्यक्षदर्शी रहेका नेपालीको आँखाबाट तत्कालिन सोभियत साम्राज्यका प्रशंसनीय तथा कमजोर पक्षहरूको तटस्थ बर्णन गरिएको पुस्तक हो। जसमा त्यो समाज, धर्म, विचारधारा र दर्शनको प्रसंग नियात्रा संस्मराणात्मक शैलीमा वर्णित छ। अझ भन्नुपर्दा यो लेखकको भोगाइ मात्रै होइन, नियात्रा मात्र हैन, विश्वजगत्मा महत्त्वपूर्ण इतिहास रचेको त्यो बेलाको सोभियत प्रणालीको ऐतिहासिक दस्तावेज पनि हो। संस्मरणले पूर्व सोभियत युगको, विघटनतर्फ उन्मुख अवस्थाको र विघटन पछिको तीनकालका अनुभवलाई बटुलेको छ। विश्व राजनीतिक प्रणालीप्रति चासो राख्नेका लागि यो महत्त्वपूर्ण खुराक हुनसक्छ।
तमाम घटना, मिति, व्यक्ति अथवा स्थानविशेषका नाम अक्षरशः रहनु र लेखकको अनुसार ६ वर्षको अवधिको दैनिकीमा आधारित भएकाले कृति ओजिलो बन्न पुगेको छ। तथापि केही भाषागत त्रुटि छन्। सम्पादनको क्रममा पर्याप्त ध्यान नपुग भएको हो कि भन्ने भान पाठकलाई पर्छ। अन्यथा लेखनी सलल बगेको पाइन्छ।