साहित्यका त्रिरत्नसँग नरबहादुरको साइनो

सर्जक समाज

साहित्यका त्रिरत्नसँग नरबहादुरको साइनो
नेपाली साहित्यका त्रिरत्न (त्रिमूर्ति) कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण सम ।

‘बालकृष्ण समसँग मेरो अनेकौंपल्ट भेट भयो। तिनमा पाँचपल्टको भेट चिरस्मरणीय छ। तीनपल्ट समजीलाई उहाँकै निवासस्थान काठमाडौं ज्ञानेश्वरमा भेटेको थिएँ। प्रथम भेटमा समजीको ज्ञानेश्वरस्थित निवासस्थानमा म एक्लै भेट गर्न गएँ। समजीले नै भेट्ने समय दिनुभएको थियो। ढोकामा पुगें।’, नाट्यसम्राट् बालकृष्ण समसँगको निकटताको सम्झना गर्दै नरबहादुर दाहाल संस्मरण सुनाउँछन् :

ढोकामा कलात्मक गरुडको प्रतिकृति अनि एउटा कविता यसरी लेखिएको रहेछ–
यो कुनै वास हो नाथ ! मेरो जीवनमार्गको
तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि...।

ढोकामा उभिएर कविता पढ्दै थिएँ। भित्रबाट समजी बाहिर निस्कनु भयो। उहाँलाई अचानक कुनै जरुरी कार्यवश आधा घण्टाका लागि बाहिर जानुपर्ने भएछ। यसैले मलाई भित्र बसाई धर्मपत्नी मन्दाकिनी र छोरी ज्वालासँग परिचय गराइराखेर उहाँ बाहिर निस्कनुभयो। बाहिर जानुअघि उहाँले उनको स्टुडियोमा भएका चित्रहरू देखाउँदै गर्नू भनेर छोरीलाई अह्राउनुभयो। ज्वाला सिद्धहस्त चित्रकार थिइन् भन्ने कुरा त जगदम्बाले प्रकाशित गरेको कवि भानुभक्तको चित्रकारीबाटै बुझिन्छ। पहिले चिया पिएर स्टुडियो हेर्ने सल्लाह भयो। चिया आइपुग्यो अनि म मन्दाकिनी सम र ज्वाला समसित साहित्य र कला विषयमा वार्तालापमा लागें।

पहिले मन्दाकिनी समले सिगरेट निकालेर मतिर बढाउनु भयो। मैले दुवै हात जोडेर क्षमा मागें। उहाँले केही लज्जित जस्तै भएर एउटा सिगरेट निकालेर सल्काउनु भयो अनि धुवाँ उडाउँदै भन्नुभयो– तपाईंहरूको दार्जिलिङबाट हामीले धेरै कुरा सिक्नुपर्छ। तपाईंहरू लोग्नेमान्छे भएर पनि सिगरेट पिउनु हुन्न, हामी स्वास्नीमान्छे भएर पनि पिउँछौं। केही क्षणपछि समजी आइपुग्नु भयो अनि उहाँले बनाएका चित्रहरू देखाउनु भयो।

त्यसपछि सम र म बैठक कोठामा आयौं। त्यहाँ उनका नाटकहरूका पात्र–पात्राहरू विषयमा चर्चा गर्‍यौं। बालकृष्ण समले त्यस दिन ‘प्रह्लाद’ र ‘प्रेमपिण्ड’का पात्र–पात्राहरूमाथि आफ्नो विचार पोख्नु भयो। नाटककारले आफ्नै कुरा बताउन पात्र–पात्राहरूको सिर्जना गर्छ भन्दै आफ्ना बाजे डम्बरशमसेर जंगबहादुर राणाका क्रूरताका कथाहरू सुनाउँदै ‘प्रह्लाद’मा हिरण्यकशिपु र ‘प्रेमपिण्ड’मा एडविलका रूपमा चित्रण गरेको कुरा बताउनु भयो। ...त्यसपछि पनि बालकृष्ण समसँग मेरो धेरैचोटि भेट भयो।’

भारतेली नेपाली साहित्य जगत्को एउटा वटवृक्ष नै ढल्यो। गत ८ सेप्टेम्बरका दिन पुराना–नयाँ अनि नेपाल–भारतका साहित्यकारमाझ सेतु बाँध्ने त्यो वृक्षको नाम नरबहादुर दाहाल हो। ८६ वर्षका उमेरमा पनि नेपाली साहित्यलाई मलजल हाल्ने काम गरे उनले। रोमान्टिक शैलीका कविका रूपमा चिनिने उनले कवितामात्र होइन, कथा, उपन्यास, जीवनी, लेखादिमा पनि सक्दो कलम चलाए। उनको अन्तिम कृति ‘लभ यु जिन्दगी’ कथा संग्रह हो। बाँकी केही कृति प्रकाशोन्मुख छन्। नेपालका प्रायः सबै साहित्यकारसँग दाहालको न्यानो सम्बन्ध थियो।

‘साहित्य प्रत्येक व्यक्तिको जीवनको बौद्धिक प्रकाश हो, साहित्यले नै मानिसलाई सत्कर्म र सत्मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्छ’ भन्ने विचार राख्थे नरबहादुर। वरिष्ठ समालोचक एवं कलकत्ता उच्च न्यायालयका न्यायाधीश स्वर्गीय रामकृष्ण शर्मालाई दाहाल ‘साहित्यिक गुरु’ मान्थे। जितबहादुर दाहाल र मनमाया दाहालका सुपुत्रका रूपमा उनको ५ सेप्टेम्बर सन् १९३७ का दिन जन्म भएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट् बालकृष्ण सम, भीमनिधि तिवारी, केदारमान व्यथित, राममणि आचार्य दीक्षित, महानन्द सापकोटा, धरणीधर कोइराला, ईश्वर बराल, माधवप्रसाद घिमिरे, पारसमणि प्रधान, रामकृष्ण शर्माजस्ता अनेकौं पुराना साहित्यकारसँग उनले साक्षात्कार गरेका थिए। आजका वरिष्ठ नेपाली साहित्यकारहरूसँग पनि उनको न्यानो सम्बन्ध रह्यो। नयाँ प्रतिभाहरूलाई उनले प्रेरणा दिने र मार्गदर्शन गराउने कार्यशैलीमा रमाउँथे उनी।

नौ वर्षको कलिलो उमेरमै माता–पिताको बात्सल्य र संरक्षणबाट वञ्चित भए दाहाल। माता–पिताको अभावलाई उनकी हजुरआमा वेदमाया दाहालले पूरा गरिदिनु भयो। उनै हजुरआमाको पालनपोषणले बालक नरबहादुरलाई संस्कारी, सरल र उदार चित्तका बनायो। बाल्यावस्थामै कालेबुङको एसयूएमआई स्कुलमा अध्ययनरत हुँदा उनले ‘उद्गम’ पत्रिकाको सम्पादन गरेका थिए। भनिन्छ, यहीँबाट उनको साहित्यिक यात्रा सुरु भएको हो। 
साहित्यका त्रिरत्नसँगको भेटघाटबारे चर्चा गर्दै ३ अक्टोबर २००४ मा ‘सुनचरी’मा प्रकाशित आफ्नो लेखमा नरबहादुर दाहाल लेख्छन्– ‘...नेपालका लेखकहरूको कुरा गर्दा धेरैजना त्रिरत्न साहित्यकार कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण 
समसँग भेट गर्न पाएकोमा गर्व गर्छन्। यो सौभाग्य त मैले ४० वर्षअघि नै पाएको थिएँ।’

अर्को एउटा लेखमा महाकवि देवकोटाबारे नरबहादुर यसरी लेख्छन्– ‘अति बौद्धिकताले देवकोटामा पागलपनको लक्षणको अनुमान पनि धेरैले काटेका थिए। जनकलाल शर्माका अनुसार महापण्डित राहुल सांकृत्यायनको एउटा लेखले देवकोटा खुब जंगिएका थिए। यसैले उनले एउटा व्यंग्यात्मक कविता ‘पागल’ लेखे। यो कविता आज नेपाली साहित्यमा कालजयी बनेको छ। यस कवितामा ‘तिम्रो महापण्डित मेरा मूर्ख’ भनेर देवकोटाले महापण्डित राहुल सांकृत्यायनलाई भनेको हो भन्ने जनकलाल शर्माको भनाइलाई महापण्डितकी पत्नी डा. कमला सांकृत्यायनले खण्डन गरेकी थिइन्।’

‘डा. कमला सांकृत्यायनको सोचलाई टेवा दिने एउटा अर्को तथ्य पनि मैले भेटेको छु। मैले निकै वर्ष हिन्दी समाचार पत्रमा कार्य गरें अनि त्यस अवधि मैले हिन्दीका धेरै साहित्यिक लेख र रचनादि पढ्ने र टंकन गर्ने सौभाग्य पाएँ। त्यसै क्रममा राहुल सांकृत्यायनबारे एउटा लेख ‘घुमक्कड महापण्डित राहुल सांकृत्यायन’ कम्प्युटरमा टाइप गर्नका निम्ति मेरा हातमा पर्‍यो। उक्त लेखमा राहुल सांकृत्यायनलाई उद्धृत गर्दै यस्तो लेखिएको थियो– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित भएर महापण्डित राहुल सांकृत्यायनले भनेका थिए– हिन्दी साहित्यका तीन महारथी पन्त, प्रसाद र ‘निराला’ एक्लै लक्ष्मीप्रसाद देवकोटा हुन्।’

लोककवि धर्मराज थापासँगको आफ्नो घनिष्ठताबारे उल्लेख गर्दै लेखमा नरबहादुर लेख्छन्, ‘धर्मराज थापा दार्जिलिङ आउनुअघि मैले उनलाई काठमाडौंको कवि गोष्ठीमा भेटेको थिएँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न त्यस विराट कवि गोष्ठीमा सबै कविले कविता पढिसकेपछि अध्यक्षले अब धर्मराज थापाजीले एउटा मीठो गीत गाइदिनु पर्‍योभन्दा ‘म कवि हुँ, गाइने होइन’ भनेर सभा भवन छोडेर निस्केर गएका थिए। त्यो गोष्ठीमा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, केदारमान व्यथित, विजय मल्ल, गोविन्द गोठाले, भूपि शेरचन, प्रेम शाह, पोषण पाण्डे, वासु शशि, भैरव अर्याललगायतका ५७ जना कविले कविता पाठ गरे तर धर्मराज थापालाई गीत सुनाउनु भनिएको थियो। उनी ‘यहाँ सबै कवि म चाहिँ गाइने ?’ भनेर मुर्मुरिँदै बाहिर निस्किएका थिए।’

nullभारतीय नेपाली कवि नरबहादुर दाहाल

दाहालले लेखका छन्, ‘त्यस बेलासम्म उनलाई गायकभन्दा कवि ठूलो भन्ने मनमा परेको रहेछ। ...मैले त्यस दिनको घटना बिर्सन सकिनँ अनि भोलिपल्ट बालकृष्ण समज्यूलाई यसबारे घर गएर सोधें। समज्यूले केही हाँसेर भन्नुभयो– ‘गाइने भनेको धर्मराजजीले मन पराउनु हुन्न।’ पछि धर्मराज थापा दार्जिलिङमा दुई महिना जति बसे। उनलाई गायकका रूपमा जताततै मानसम्मान प्राप्त भयो। उनी जता जान्थे त्यतै उनका गीत सुन्न मानिसको भीड लाग्थ्यो। ...कालेबुङको टाउन हलमा टीकाराम शर्माको अध्यक्षतामा २८ अप्रिल सन् १९५३ का दिन धर्मराज थापाको विराट अभिनन्दन समारोह सम्पन्न भयो। टाउन हल खचाखच भरिएको थियो। समालोचक रामकृष्ण शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। स्वागत भाषण र अभिनन्दनको कार्यक्रम सकिएपछि मुख्य अतिथि धर्मराज थापाको बोल्ने पालो आयो।’

दाहालले लेखेको सन्दर्भ अझै रोमाञ्चक रहेछ, ‘उद्घोषकले भने– अब धर्मराज थापाले आफ्नो विचार राख्नु हुनेछ। साथसाथै हामी उहाँबाट केही कविता पनि सुन्नेछौं।’ एक्कासि चारैतिरबाट श्रोताहरू चिच्याए– कविता होइन हामी धर्मराज थापाबाट गीत सुन्न चाहन्छौं। धर्मराज थापा छक्क परे। कवि बन्ने आशामा घर छाडेर हिँडेका उनलाई यहाँ पनि फेरि गायकीले नै छाडेन। उनले त्यस दिन गीत गाउँदा पूरा हल नै तालीको गडगडाहटले गुञ्जिएको थियो। ...सायद त्यस दिन उनलाई लाग्यो होला 
यहाँ त कविभन्दा पनि गायक पो ठूलो रहेछ।’

दार्जिलिङसँग कवि महानन्द सापकोटाको सम्बन्धबारे प्रकाश पार्दै नरबहादुर दाहाल अर्को लेखमा यो सन्दर्भ लेखेका रहेछन्, ‘...दार्जीलिङ त्यसबेला शिक्षाका क्षेत्रमा केही गर्न छट्पटाइरहेको थियो। नेपाली समाजमा सुधारका भावनाहरू ल्याउन पण्डित धरणीधर शर्मा, हरिप्रसाद प्रधानजस्ता समाजसेवकहरू कर्मक्षेत्रमा सक्रिय थिए। यिनीहरूकै प्रियपात्र भई दार्जिलिङमा आठौं श्रेणीमा भर्ना लिई महानन्द सापकोटाले शिक्षा आर्जन गर्न लागे।’

भाषाशास्त्री बालकृष्ण पोखरेल कथा, निबन्ध र कविता लेख्दालेख्दै कसरी भाषाशास्त्रमा अग्रसर भए भन्ने कुरा बताउँदै नरबहादुर संस्मरण सुनाउँछन्, ‘यसको एउटा कारण उनको पारसमणि प्रधानसितको एउटा विवादास्पद घटना पनि हुन सक्छ। युवा अवस्थामा बालकृष्ण पोखरेल दार्जिलिङ आएका बेला केही साथीसित पारसमणिलाई भेट्न जानु भएछ। त्यहाँ उहाँको पारसमणिसित कुनै कुरामा विवाद भएछ। बालकृष्ण पोखरेललाई कुनै कुरामा पारसमणि प्रधानले केही होच्याएर केही दुर्वाच्यसहित दुव्र्यवहार गर्नु भएको कुरा धेरैले उल्लेख गरेका छन्। उनलाई त्यस दिनको पारसमणि प्रधानको यो व्यवहार मन परेनछ। त्यसैले उहाँले इखिएर ‘पारसमणि प्रधानलाई भाषा महारथी हुँ भन्ने अहंकार होला तर म पनि साहित्यमा यस्तै अरूभन्दा भिन्न काम गरेर देखाउँछु’ भन्ने संकल्प गरेर उहाँ अनुसन्धान र अन्वेषणतिर लाग्नुभएको हो।’

कवि भूपि शेरचनको सम्झना गर्दै नरबहादुर दाहाल भन्छन्– ‘नेपालीमा लेखिएका कविताहरू अर्थहीन दुर्बोध्य हुन्छन् भन्ने भनाइका अपवादमा भूपिका कविताहरू अर्थपूर्ण, सरल र प्रभावशाली हुन्छन्। नेपालीमा कविताका पुस्तकहरू बिक्री हुँदैनन् भन्ने कुरालाई समेत उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ काव्यकृतिले खण्डन गरिदिएको छ। नेपाली साहित्यमा देवकोटाको ‘मुनामदन’ पछि सबैभन्दा धेरै बिक्री हुने काव्यकृति सम्भवतः यही हुनुपर्छ। यो काव्यकृति नीत नवीन छ अनि पाठकहरूले सन् १९६८ मा छापिएको यस कृतिलाई आज पनि उत्तिकै सान्दर्भिक मानेर रुचिसँग पढेको देखिन्छ। 
...भूपि असमयमै अस्त भएर गए।’

कवि नरबहादुरले सुनाएको संस्मरणअनुसार– ‘आजभन्दा ५० वर्षअघि साहित्यिक साथीहरू नेपालबाट दार्जिलिङ आएर शिक्षा आर्जन गर्थे। यसरी दार्जिलिङ आएर कलेजमा भर्ना हुने नेपालका साहित्यिक साथीहरूमा तारानाथ शर्मा, गणेशबहादुर प्रसाईं, अग्निराज श्रेष्ठ, गौरीराज श्रेष्ठ, लक्ष्मण प्रसाईं इत्यादि मेरा सम्झनामा छन्। अझ तिलविक्रम नेम्बाङ (बैरागी काइँला) त दार्जिलिङे भइसकेका थिए।’नरबहादुरसँग मेरो पनि न्यानो सम्बन्ध धेरै अघिदेखिकै हो। म गुवाहाटीमा हिन्दी समाचारपत्रमा कार्यरत रहँदा उहाँ पूर्वोत्तरमा नेपाली चलचित्र वितरकको अभिभारा लिएर गुवाहाटीमै बस्नुहुन्थ्यो। त्यसबेला पनि उहाँ मेरा लागि अभिभावक नै बन्नुभएको थियो। उहाँसँग घण्टौं साहित्यका कुराहरू हुन्थे अनि उहाँबाट मैले धेरै कुरा सिक्न पाएको छु। संयोगवश भनौं या मेरो सौभाग्य भनौं, पछि उहाँले सुकनास्थित मेरै घरका छेउमा आफ्नो घर बनाउनुभयो अनि त्यो न्यानो सम्बन्ध अझ बढेर गयो। नरबहादुर दाहालको निधनले आज म अभिभावकविहीन भएको अनुभव गरिरहेछु। उनको आत्मा शान्तिको निम्ति प्रार्थना गर्दै श्रद्धाञ्जलिस्वरूप यो लेख अर्पण गरेको हुँ।

नेपाली सर्जकसँगको भेट सन्दर्भमा नरबहादुर दाहाल लेख्छन्– ‘...साहित्यका त्रिरत्न कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समसँग ४० वर्षअघि नै भेटेंथें।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.