चिनी उद्योगको विकल्पमा सख्खर बनाउन कोल्हुको उपयोग
जनकपुरधाम : चिनी उद्योगको मनोमानीले आजित बनेका किसानहरू छठ अगावै उखु पेलेर सख्खर (मिठा) बनाउन थालेका छन्। नगदे बालीका रूपमा किसानले रोजेको उखु चिनी उद्योगलाई दिदा अनेकन समस्या भएपछि छठ अगावै उखु पेलेर मिठा बनाएर राम्रो बजार भाउका लागि कोल्हु उद्योगमा मिठा पेल्न थालेका हुन्। उखुबाट गुलियो सख्खर ‘मिठा’ बनाउने उद्योग जसलाई स्थानीय भाषामा ‘कोल्हु’ भनिन्छ।
‘थोरैले अब उखु खेती गरिरहेका छन्, गाउँतिरको ‘कोल्हु’ उद्योगले उखु किन्ने तथा किसान स्वयम् पनि उखु पेल्न थालेपछि किसान र मिठा उद्योग दुवै बाँचेका छन्।’ महोत्तरी गौशाला नगरपालिका-१ रामनगरका किसान हरिश्चन्द्र महतो भने, ‘चिनी उद्योगले बेलैमा उखु किनिदिँदैन, किने पनि पैसा लिन धौ–धौ हुन्छ, बेंचिएको उखुको भुक्तानी किसानले समयमा पाउदैन, तर छठको महिनादिन अगावै मिठा पेलेर नगद आम्दानीसँगै तेलहन र दलहन बाली लगाउने भएकाले उखुलाई मिठा बनाउन प्रयोग गरेका हौं।’
उखु कटानी, ढुवानीमा खट्ने मानिस भएका किसानले मात्र रामनगर स्थित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिजमा उखु लैजाने गरेको सोनमा गाउँपालिकाका उखु किसान बर्खु यादवले बताए। ‘उखु खेती ५० प्रतिशतले घटेको छ, एउटा किसानले विघामा उखु खेती गर्थे तर अहिले कठ्ठामा झरेको छ’ यादवले भने, ‘पहिले विघामा हुन्थ्यो अहिले कठ्ठामा सीमित भएको छ।’
झण्डै ६ विघामा खेतमा खेती गर्दै आएका रामनगरका किसान दिपेन्द्र महतोले अघिल्लो वर्ष उखु खेती घटाएर तीन विघामा झारेको बताए। ‘मैले छ बिघामा उखु रोपेको थिए, पोहोर–परार चिनी कारखानाले उखुको मूल्य तोकेर पनि पैसा लिन वर्षौ झुलायो, उखु गरेर फाइदा जस्तो पनि लागेन, त्यही भएर धान र तेलहन–दलहन खेती गरिरहेको छु।’
ठुला किसानलाई उखु पेलेर सख्खर बनाउन सम्भव नभए पनि साना किसानलाई ‘कोल्हु’ उद्योगले उखु किनिदिएर उखु खेतीमा उनीहरू टिकिरहेका छन्। रामनगरका सुर्तिविकासका एउटा सख्खर उद्योगले त्यस्ताका किसानको उखु किनिदिने गरेको छ।
महोत्तरीमा करिब दुई दर्जन कोल्हु छन, जहाँ बर्सेनि हजारौं क्विन्टल मिठा उत्पादन हुन्छ। ‘प्रतिदिन ७५ देखि १०० क्विन्टल उखु मैले यहाँ पेल्ने गरेको छुँ,’ महोत्तरी गौशाला-४ सुर्तिविकास चोकका मिठा उत्पादक किशोरी साहले भने, ‘१० जना काम गर्ने मानिसले यो धानिएको छ।’ किसानबाट झण्डै ५ देखि साढे ५ सय प्रतिक्विन्टल भाउमा उखु किन्ने गरेका छन्। उखु किसानका लागि ‘कोल्हु’ उद्योगले एउटा साहारा छ भने उद्यमीलाई रोजगारी।
सख्खर उद्यमी (कारिगर) मो. जुमराति अन्सारीका अनुसार चिनी मिलसम्म उखु ढुवानी गरेर लैजानु भन्दा गाउँघरमै भएका क्रसरमा उखु बेच्नु फाइदाजनक हुन्छ। ‘क्रसरले धेरै उखु किन्न सक्दैन तर थोरै उखु लगाउने किसानका लागि भने यो फाइदाजनक छ,’ उनले भने, ‘मिलसम्म ढुवानीमा लाग्ने खर्च हेर्ने हो भने गाउँघरमै खुलेका क्रसरमा उखु दिनु फाइदाजनक हुन्छ। क्रसरले पैसा पनि रोक्दैन।’
क्रसरबाट उत्पादित सख्खर स्थानीय बजारको साथै भारतमा निर्यात हुन्छ। अलग–अलग गुणस्तरका सख्खर उत्पादन गरी तिनलाई एक नम्बर सख्खर चिनीकै विकल्पमा चिया, सेल रोटी, खिर लगायत मिठाइमा समेत प्रयोग गर्न सकिने क्रसर उद्योगका सञ्चालक किशोरी साहको भनाइ छ।
उनका अनुसार १ क्विन्टल सख्खर बनाउने झण्डै १० देखि १२ क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको उनको भनाइ छ। उनले भने, ९ क्विन्टल छिप्पीएको उखुमा एक क्विन्टल मिठा (सख्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झण्डै ११ क्विन्टल उखुमा १ क्विन्टल मिठा तयार हुन्छ।’
उखुको आकर्षण घट्दो
पाँच वर्षअघि झण्डै पाँच बिघा जमिनमा उखु खेती गर्ने राजकिशोर महतोले हाल तीन बिघामा मात्र उखु लगाउछन्। ‘भुक्तानी समयमै पाउने हो भने त सबै खेतमा उखु लगाउन सजिलो पनि हुन्छ र फाइदा पनि हुन्छ, तर भएभरको जमिनमा उखु लगाएर धान, गहुँ, मकै लगायतका अन्न किन्नु, मिलले समयमा भुक्तानी नदिनु, अनि हामीलाई चाहिने अन्नपात किन्न पनि ऋण खोज्नुपर्ने हुन्छ, त्यसैले उखु खेती घटाएर अरू अन्नबाली लगाउन थालेका हौं’ महतोले भने।
उखु खेती घटाएका किसानलाई स्थानीय स्तरमा खुलेका क्रसिङ राम्रो विकल्प बन्न थालेको छ। क्रसिङमा उखु लैजान ढुवानी खर्च कम लाग्ने, नगद भुक्तान पाइने भएकाले पनि किसानहरू थोरै खेती गरेर भए पनि चिनी मिलको फन्दामा पर्नबाट जोगिने उपायका रूपमा क्रसिङ्ग रोज्न थालेका हुन्। ‘हामीलाई धान, गहुँ, मकै पनि चाहिन्छ, सबै जमिनमा उखु लगाउँदा त्यही उखु बेचेको पैसाले आफूलाई आवश्यक अन्न किन्नु पर्छ। चिनी मिलले वर्षौंसम्म पैसा नदिएपछि हामीले दुई छाक टार्नका लागि पनि ऋण लिनुपर्छ।’
उखु कृषक देवकुमार महतोले लगाएको उखुको भुक्तानी नपाउने तर वर्षसम्म घर खर्च चलाउन ऋण लिनुपर्ने बाध्यता आएसँगै उखु खेती घटाएर अन्य बाली लगाउन थालिएको बताए।