एकताको प्रतीक छठ
सूर्य पूजाको परम्परा प्राचीन कालदेखिको हो जुन विश्वव्यापी छ। नेपाल, भारत, बेबिलोन, युनान, मिश्र तथा जापानलगायत थुप्रै देशमा सूर्य उपासनाको परम्परा पाइन्छ।
कात्तिक महिनामा मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ। तिहार सकिएसँगै भाइटीकाको भोलिपल्टदेखि पवित्रता, निष्ठा र आस्थाको छठ पर्व आरम्भ भइसकेको छ। राजधानीसहित देशको अधिकांश भागमा चार दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ। कार्तिक शुक्ल चतुर्थी तिथिबाट छठ पर्वको विधिपूर्वक पूजा कार्य शुभारम्भ हुन्छ। कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ। चार दिनसम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरी तथा व्रत बसेमा मनोकामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ।
छठ व्रतमा शारीरिक र मानसिक दुवै रूपबाट शुद्ध हुनुपर्छ। छठको व्रतका नियम निकै कडा हुने गर्छन्। परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिनुपर्ने प्रचलन छ। त्यसपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएपछि पूजा विसर्जन गरिन्छ। षष्ठीको साँझ र सप्तमीको बिहान अर्घ दिने बेलामा घाटको दृश्य अति मनमोहक र संगीतमय हुन्छ।
छठ सूर्य उपासनाको महान् पर्व हो। सूर्य पूजाको परम्परा प्राचीन कालदेखिको हो जुन विश्वव्यापी छ। नेपाल, भारत, बेबिलोन, युनान, मिश्र तथा जापानलगायत थुप्रै देशमा सूर्य उपासनाको परम्परा पाइन्छ। सूर्यको उपासना आरोग्य र आयुष्मानका लागि पनि गरिन्छ। साथै, यस पर्वमा व्रत बसेमा चर्मरोग र कुष्ठरोग निदान हुन्छ भन्ने मान्यतासमेत पाइन्छ। छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
हिन्दू धार्मिक र पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख छ। छठको पूर्वरूप (सूर्य उपासना) वेदमै पाइन्छ। छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ। भविष्य पुराण र पद्म पुराणमा समेत यसका वर्णन पाइन्छ। भनिन्छ, अत्रि मुनिकी पत्नी अनुसुयाले यो षष्ठीव्रतको थालनी गरेकी थिइन्। महर्षि अत्रिकी पत्नी अनसुयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य प्रेम र अटल सौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन्।
अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। सूर्य र जलको शक्ति तथा महत्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खानेकुरा खानुपर्ने मान्यता छ। छठ पर्व आउनुभन्दा केही दिन पहिलेदेखि नै घरमा माछा–मासु बर्जित हुने गरेको छ।
कार्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाए खाएके’ दिन पनि भन्ने गरिन्छ। शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्वको मुख्य षष्ठीको दिनलाई ‘सजिया घाट’ भनेर मनाइन्छ। पहिलो दिन नहाए खाएको दिन व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर लसुन र प्याज नहालेको चोखो शाकाहारी खाना खाने गर्छन्। यस दिन छठ व्रत गर्ने व्रतालुहरूले दतिउनले मुख धुने, हातखुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन्।
छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। शनिबार परेको खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन्। बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा चन्द्रोदयपछि षष्ठीदेवीलाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसादका रूपमा लिने चलन छ।
छठको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ। जसलाई ‘सँझीया घाटे’ पनि भनिन्छ। छठ पूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिन गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। सँझीया घाटका दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ।
चौथो दिन अर्थात् सप्तमी तिथिका दिन झिसमिसेमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठघाटमा पुग्छन्। सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् वा श्रीमती तथा छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि छठी मातासँग अनुनय गर्छन्। सूर्यलाई अर्घ दिएपछि छठघाटमै व्रतालु महिलाहरूले एकअर्काको नाकको टुप्पादेखि सिउँदोसम्म सिन्दूर लगाइदिन्छन्। त्यसपछि उनीहरू आआफ्नो घर फर्किन्छन्।
उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाई ‘परना’ भन्ने चलन छ। छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीसहित पूजा गरिन्छ। ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई अर्पण गरिन्छ। उखु, केरा, मुला, गाँजर, बेसार, नरिवल, सुन्तला जस्ता फल आदि भगवान्लाई भोग लगाइन्छ। त्यस्तै, प्रसादको रूपमा कृषि उत्पादनको महत्व दिन्छ।
पुरानो समाजको जातीय अन्तरसम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ। यो समस्त जातजातिले मनाउने पर्व पनि हो। समान रूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको ज्वलन्त उदाहरण हो। पण्डित र पुरोहितबिना यो महिलाप्रधान व्रत छ। दलितले बनाएको बाँसका सामान, कुमालले बनाएको भाँडो, माटीको हात्ती, दियो, कृषकले उत्पादन गरेका कृषिसामग्री यो पूजामा पवित्र मान्नेर प्रयोग गरिएको छ।
भाकल पूरा भएका पहाडी र मुस्लिम धर्मावलम्बी पनि छठ मनाउने गरेको पाइन्छ। आजको जातीय विद्धेष र भेदभाव छुवाछूतले भरिएको समाजमा यस पर्व सबैमा समान सहभागिताले सामाजिक सद्भाव र सामाञ्जस्य र एकताको सन्देश दिन्छ।