हाइटेक प्रविधिले काँक्रो लटरम्म
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका—८ किमडाँडामा हाइटेक प्रविधिबाट काँक्रो खेती गर्दा लटरम्म फलेको छ। किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले हाइटेक प्रविधिमा काँक्रो खेती गरेका छन्। कृषक बञ्जाडेले घोचेखोलामा १८ सय बोट लगाएका छन्। सबै बोटमा लटरम्मै काँक्रो फलेको छ।
हाइटेक प्रविधिबाट काँक्रो खेती सुरु गरेका बञ्जाडेले काँक्रो खेतीबाट यो याममा ७ लाख रुपैयाँबराबरको काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन्। दैनिक ३/४ क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ। प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म थोक मूल्यमा काँक्रा बिक्री भइरहेको छ। उनले काक्रोसहित दैनिक १० हजारबराबरको अन्य तरकारी पनि बिक्री गरिरहेका छन्।
मौसमी रूपमा पाइने काँक्रो सकिन लाग्दा उनले बेमौसमी उत्पादन पनि गरेका छन्। उनले २५ रोपनी बारी र ७ रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन्। अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० लाख रुपैयाँ आम्दानी हुँदै आएको बञ्जाडेले बताए। बञ्जाडेले गरेको देखासिकीबाट सिंगो गाउँवासी नै अहिले तरकारी खेतीमा लागेका छन्।
उनले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर ईष्र्या गर्थे। तर तरकारीबाट राम्रो आम्दानी भएपछि गाउँलेहरू पनि तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन्।’ बञ्जाडे जिल्लाकै नमुना कृषक हुन्। सामान्य परिवारमा जन्मेका उनले २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि त्यतातिर लागेनन्। महिना पुगेपछि पाइने तलबको जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएर बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन्।
उनले भने, ‘गरेपछि जुन काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ।’ अहिले उनको बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन्। सुरुमा सानो लगानीबाट तरकारी खेतीे सुरु गरेका बञ्जाडेलाई पाँच करोड रुपैयाँभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ। किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ। पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ। बारीमा आकाशेपानी संकलन गर्न ५० हजार लिटरको पोखरी ४० हजार लिटरको ट्यांकी बञ्जाडेले बनाएका छन्। त्यहीँबाट सिँचाइ हुन्छ।
बर्सात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो। ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला सबैभन्दा बढी गर्व भयो,’ पुष्करनाथले भने, ‘पहाडको तरकारी पोसिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए।’