निर्वाचनमा उम्मेवार बन्नेगरी क्रिकेटर शकिब अल हसन राजनीतिमा प्रवेश
ढाका : बंगलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन्। आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बंगलादेश अवामी लिगबाट उम्मेदवारी दिने तयारीसमेत गरेका छन्।
अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामांकन फाराम लिएका हुन्। प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन्।
क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, 'उनी सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ।' शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ। नसिमका अनुसार शकिबले आफ्नो दक्षिण-पश्चिम गृह जिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गरेका छन्।
पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बंगलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ। यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेभने उनी चौथो पटक सत्तामा फर्कने करिब निश्चित छ।