भूकम्पबाट जोगिए, तर चिसोले लियो ११ को ज्यान

भूकम्पबाट जोगिए, तर चिसोले लियो ११ को ज्यान
त्रिपालमुनि बसिरहेका जाजरकोटका भूकम्पपीडितहरू । तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

 जाजरकोट : जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन्। 

ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्यान गुमाएका छन्। चार जना दम रोगी हुन्। भने ४८ वर्षीया फोक्सोको दीर्घरोगी हुन्।

यस्तै बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४, लुहादहकी  ८९ वर्षीया सुगिली नेपालीको पनि निधन भएको छ। सुगली दमरोगी हुन् भने ६० वर्षीय र ५५ वर्षीय विकको ज्यान पखाला लागेर गएको हो।

चिसोका कारण छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्रीको पनि ज्यान गएको छ।

दमरोगी कामी र कलेजोको सिरोसिस बिरामी भडेल चिसोले मृत्यु भएको बताइएको छ। भूकम्पबाट घाइते खत्रीको आइतबार निधन भएको हो। उनको स्थानीय मेडिकलमा औषधि गराइएको थियो। खत्रीलाई आइतबार उपचारमा लिने तयारी गर्दैगर्दा मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए।

गत कात्तिक २४ देखि हालसम्म उनीहरूको मृत्यु भएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन्। भूकम्पपछि त्रिपालमुनिको बसाइँले गर्दा दीर्घरोगी र वृद्धवृद्धाको निधन भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। धेरै वृद्धवृद्धालाई खोकी र दम बढेको छ भने बालबालिकालाई कोल्ड डाइरिया, निमोनियालगायतका समस्या देखिन थालेको बारेकोटको लिम्सास्थित आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. रोहित मिश्रले बताए।

मिश्र भन्छन्, ‘त्रिपालमुनिको बसाइँ थेग्न नसक्दा शारीरिक रूपमा कमजोर र दीर्घरोगीको ज्यान जान थालेको छ। बालबालिका, सुत्केरी र गर्भवतीलाई रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका समस्या देखिएको छ। दैनिक ५०÷६० जना बिरामी अस्पताल आउने गरेका छन्।’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जोखिममा रहेकालाई चिसोबाट बचाउन न्यानो कपडाको व्यवस्था गर्न सम्बन्धित पालिकालाई आग्रह गरिएको छ।

‘त्रिपालको बसाइँ र चिसोले गर्दा दम, श्वासप्रश्वास लगायतका दीर्घरोगीलाई थप समस्या भएको छ’, उनले स्वीकार गरे। त्रिपालमा बसेकालाई चिसोले सताएको छ भने पोषिलो खानेकुराको अभावमा रोगप्रतिरक्षा शक्ति पनि कमजोर हुने र यस्तो बेलामा सामान्य रोगले समेत सताउने गरेको जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डा. समीक्षा मल्लले बताइन्। मल्लले झोलिलो खानेकुरा खान, पानी उमालेर खान र न्यानो भएर सल्लाह दिएकी छन्।

भूकम्पले जाजरकोट र रुकुमका ६० हजार बढी परिवारलाई त्रिपालमा पु¥याइए पनि आर्थिक रूपमा कमजोर वर्ग झन् प्रभावित भएका छन्। स्थानीय चिकित्सकले तत्काल त्रिपालबाट अस्थायी आवास टिनको घर वा खरको गोठमा सार्नुपर्ने सुझाव दिएका छन्। शनिबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मंसिर ७ गतेभित्र भत्किएका घरको विस्तृत विवरण संकलन गरेर तत्काल अस्थायी आवासको व्यवस्थाका लागि पहल गर्ने निर्णय गरेको थियो। 

विगत स्थानको विवरण संकलनमा ढिलाइले अस्थायी आवास निर्माण कार्यसमेत पछि सरेको छ। हालसम्म पुरिएका भग्नावशेषसमेत उत्खनन हुन सकेका छैनन्। जसकारण पुरिएका मालसामान लत्ताकपडा धनसम्पत्ति निकाल्न नसक्दा पीडितलाई झन् सास्ती भएको छ। यता जाजरकोटमा मृतकका परिवारले सरकारले घोषणा गरेको राहत पाउन सकेका छैनन्। प्रतिमृतक २ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेर रकम निकासा गरे पनि जाजरकोटमा अझै वितरण गरिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.